जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिफल दिने निर्णय गरेको हो।

बैंकका लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट बोनस सेयर र नगद लाभांश गरेर १३ प्रतिशत प्रतिफल पाउनेछन्। बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करसहित ९.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको साधारण सभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि लगानीकर्ताले प्रतिफल पाउनेछन्।

नबिल बैंकको नाफामा १४ प्रतिशतले गिरावट

नबिल बैंकको नाफा घटेको छ। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमाससम्म बैंकको खुद नाफा १४.५६ प्रतिशतले घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँमा सीमित भएको हो। पोहोर ३ महिनामा बैंकले २ अर्ब ५ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो। कर्जा नोक्सानी बढेर ब्याज आम्दानी घट्दा नाफामा गिरावट आएको छ।

बैंकले ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा करिब ८० करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ। गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १४ करोड खुद ब्याज आम्दानी र ७५ करोड रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको थियो।

बैंकले नोक्सानी व्यवस्थाका लागि ६४ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ। पोहोर यही अवधिमा बैंकले ४५ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो। ब्याजदर घट्दा बैंकको ब्याज आम्दानी घटेर ९ अर्ब ८० करोडमा सीमित भएको छ। गत आवको असोज मसान्तसम्म बैंकले १० अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेकामा १ अर्ब रुपैयाँले घटेको हो।

बढेको प्रोभिजनिङले बैंकको नाफा प्रभावित भएको हो। नाफा घट्दा बैंकको प्रति सेयर आम्दानी पनि घटेको छ। गत आवको असोज मसान्तमा ३९ रुपैयाँ ८३ पैसा रहेको ईपीएस २५ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। बैंकले ५ खर्ब ५६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। ३ महिनामा बैंकले निक्षेप ३२ अर्बले बढाउँदा ९ अर्ब रुपैयाँ बराबरको कर्जा थप गरेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात गत आवको सोही अवधिको तुलनामा सामान्य बढेर ४.३१ प्रतिशत कायम भएको छ। गत आवको असोज मसान्तसम्म यस्तो अनुपात ४.२४ प्रतिशत थियो। बैंकको प्राथमिक पुँजी कोष अनुपात घटेर ९.५५ प्रतिशत हुँदा र पुँजीकोष अनुपात सामान्य बढेर १२.६७ प्रतिशत कायम भएको छ।

असोजसम्म बैंकको औसत बेसरेट ५.५८ प्रतिशत छ। यसैगरी, नेटवर्थ प्रति सेयर २४० रुपैयाँ ७२ पैसा, रिटर्न अन इक्विटी १०.७० प्रतिशत र पीई रेसियो १९.९७ छ। बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई दियो

नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको छ । २०८२ कार्तिक १९ गतेदेखि लागू हुनेगरी पौडेललाई प्रबक्ताको जिम्मेवारी दिईएको नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

सूचनामा उल्लेख भएअनुसार पौडेल केन्द्रीय बैंकमा मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् । वि.सं २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका उनले हालसम्म बेंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण लगायतका विभागहरुमा सकुशल नेतृत्व संहालीसकेका छन् ।

एनआईसी एशिया बैंकका नवनियुक्त सिईओ शाक्यद्वारा पदभार ग्रहण

एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुजित कुमार शाक्यले आफ्नो पदभार ग्रहण गरेका छन् । बैंकको २०८२/०७/१७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय अनुसार सिईओ पदमा नियुक्त शाक्यले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

झन्डै तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमै विशिष्ट योगदान पुर्‍याउँदै आएका शाक्यले दिल्ली विश्वविद्यालय, भारतबाट ब्याचलर इन कमर्श र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

सन् १९९६ मा तत्कालिन नेपाल–श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका शाक्यले हिमालयन बैंक, लक्ष्मी बैंक र सन् २००७ देखि तत्कालिन बैंक अफ एशिया नेपालमा बिजनेस बैंकिङ प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरे।

बैंक अफ एशिया नेपाल लि. र एनआईसी बैंकको मर्जर प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउने क्रममा, मर्जरपछि बनेको एनआईसी एशिया बैंकमा सहायक महाप्रबन्धक र कर्पोरेट बैंकिङ प्रमुखको रूपमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरे।

यसअघि शाक्यले सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका थिए भने, नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनु अघि बैंकिङ क्षेत्रमा व्यापक अनुभव प्राप्त गरे।

उनको नेतृत्वमा एनआईसी एशिया बैंकले आगामी दिनमा सेवा विस्तार, नवप्रवर्तन र वित्तीय स्थायित्वमा थप मजबुती ल्याउने अपेक्षा गरिएको छ।

सुजित शाक्यले छोड्दा नबिल बैंकलाई धक्का

नेपाली बैंकिङ क्षेत्रका एक कुशल र अनुभवी व्यावसायिक बैंकर सुजित कुमार शाक्य एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन्। उनको नियुक्तिले बैंकिङ क्षेत्रमा नयाँ हलचल सिर्जना गरेको छ, साथै नबिल बैंकलाई पनि नेतृत्व रिक्त भएको कारण चुनौतीपूर्ण स्थिति सामना गर्नु परेको छ ।

सोमबार बिहान बसेको एनआईसी एशिया बैंकको ७३६औँ सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकले आगामी ३० दिनभित्र शाक्यले कार्यभार सम्हाल्ने व्यवस्था तय गरेको छ । उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले दोस्रो कार्यकालमा नियुक्त भएर कार्यकाल पुरा नहुँदै राजीनामा दिएका थिए ।

सुजित शाक्यको पेशागत यात्रा
सुजित कुमार शाक्य एनआईसी एशिया बैंककै पूर्वकर्मचारी हुन् । उनले आफ्नो करियरको सुरुवात नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट गरेका थिए भने त्यसपछि विभिन्न वाणिज्य बैंकहरूमा वरिष्ठ पदमा कार्यरत रहँदै बैंकिङ क्षेत्रमा आफ्नो अनुभवलाई सुदृढ बनाएका छन् । उनी सिभिल बैंक, जनता बैंक हुँदै ग्लोबल आईएमई बैंकमा उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका छन् ।

पछिल्लो समय शाक्य नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)को रूपमा कार्यरत थिए । तत्कालीन सीईओ अनिल कुमार शाह बाहिरिँदा उनलाई बैंकको कामु सीईओको जिम्मेवारी दिइएको थियो । पछि ज्ञानेन्द्र ढुंगानालाई सीईओ नियुक्त गरेपछि शाक्य डेपुटी सीईओमा फर्किएका थिए ।

ज्ञानेन्द्र ढुंगाना बैंकबाट बाहिरिएपछि डेपुटी रहेका मनोज कुमार ज्ञवाली सीईओ बनेका थिए भने शाक्य सिनियर डेपुटी सीईओको रूपमा बैंकको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलिरहेका थिए ।
शाक्यले नबिल बैंकमा पाँच वर्ष सेवा दिएका छन् र आफ्नो कार्यकालमा बैंकको व्यवस्थापन प्रणाली, वित्तीय विश्लेषण र कर्पोरेट तथा रिटेल बैंकिङ क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका छन् ।

शाक्यको शैक्षिक योग्यता र विशेषज्ञता
सुजित शाक्य भारतको डिल्ली युनिभर्सिटीबाट बिकम (अनर्स) गरेका छन्। त्यसपछि भारतको इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्ट, लखनउबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनी वित्तीय विश्लेषण, रणनीतिक योजना, जोखिम व्यवस्थापन र कर्पोरेट तथा रिटेल बैंकिङ सेवामा विशेषज्ञता राख्ने व्यावसायिक बैंकर हुन् ।

उनको नेतृत्वमा बैंकले वित्तीय नवप्रवर्तन, डिजिटल बैंकिङ सेवा विस्तार र ग्राहक केन्द्रित व्यवस्थापनमा नयाँ पहल गर्न सक्ने अपेक्षा गरिएको छ । बैंकिङ क्षेत्रमा २८ वर्षभन्दा बढीको अनुभव राख्ने शाक्य स्ट्राटेजिक व्यक्तित्वका रूपमा परिचित छन् र वित्तीय बजारका चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गर्न सक्ने क्षमता राख्छन् ।

नविल बैंकलाई धक्का
शाक्यको एनआईसी एशिया बैंकको सीईओ नियुक्तिले नबिल बैंकमा धक्का लागेको छ । उनले पाँच वर्षदेखि नबिल बैंकमा सेवा दिँदै आएका थिए र बैंकको वरिष्ठ व्यवस्थापनमा स्थिरता र रणनीतिक मार्गनिर्देशन प्रदान गरिरहेका थिए । उनको बाहिरिनु नबिल बैंकका लागि चुनौतीपूर्ण क्षण हो, किनभने बैंकलाई अब नयाँ नेतृत्वमार्फत आन्तरिक व्यवस्थापन र रणनीतिक योजना पुनस्र्थापना गर्नुपर्ने अवस्था आएको छ ।

बैंकिङ क्षेत्रमा प्रभाव र भविष्यका योजना
एनआईसी एशिया बैंकको सञ्चालक समितिका अनुसार, शाक्यको नेतृत्वमा बैंकले आगामी वर्षहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, डिजिटल बैंकिङमा नवप्रवर्तन ल्याउने र ग्राहक अनुभव सुधार गर्ने योजना अघि बढाउनेछ । उनी बैंकको रणनीतिक योजना कार्यान्वयनमा मुख्य भूमिका खेल्नेछन् र बैंकलाई बजारमा प्रतिस्पर्धात्मक लाभ दिलाउने अपेक्षा गरिएको छ ।

शाक्यको नियुक्ति बैंकिङ क्षेत्रमा दक्षता र अनुभवको महत्वलाई पुनः पुष्टि गर्ने घटनाको रूपमा हेरिएको छ । उनका नेतृत्वमा बैंकले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, ग्राहक सेवा सुधार र नयाँ बजार अवसरहरूको खोजीमा ध्यान केन्द्रित गर्नेछ ।

पोखरा सहकारी ठगी : प्रहरीले माग्यो जाहेरी, ऋणीलाई पनि प्रतिवादी बनाइने

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिनामा जिल्ला प्रहरी कार्यालय कास्कीले जाहेरी दरखास्त दिन आह्वान गरेको छ । सहकारीमा भएको बचत तथा कारोबारको प्रमाण, कागजातसहित २ मंसिरभित्र जाहेरी दिन बिहीबार आह्वान गरेको हो । सहकारीको रकम संस्थाका अध्यक्षसहित पूर्व तथा वर्तमान पदाधिकारी, व्यवस्थापकसमेतको मिलेमतोमा व्यक्तिगत स्वार्थ र सम्पत्ति आर्जनमा अपचलन गरेको पाइएको छ ।

सहकारी संकटमा परेपछि सहकारी डिभिजन कार्यालयले गराएको वित्तीय विश्लेषण अध्ययन प्रतिवेदनका आधारमा प्रहरीले कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले बुधबार अध्यक्ष महेन्द्र गोदार, उपाध्यक्ष, शम्भुराज बास्तोला, प्रवन्धक भीष्मप्रताप गुरुङ, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चलक समिति सदस्य दोर्जे तामाङ, बजार प्रमुख वेदीप्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।

उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले सहकारीका बचतकर्ता, शेयर सदस्य तथा ऋणका नाममा जाहेरी दिन आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । सञ्चालक समितिका व्यवस्थापक, विभिन्न कालखण्डका पदाधिकारीहरू समेत जिम्मेवार व्यक्तिहरूले निक्षेप कर्ताहरूको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएको छ । सहकारी रजिस्ट्रार कार्यालयले वित्तीय विश्लेषण प्रतिवेदनसहित कारबाही अगाडि बढाउन १८ कात्तिकमा पत्र पठाएको पत्रका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

‘सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयर धनी प्रमाण पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुन बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ,’ प्रहरीले सार्वजनिक गरेको सूचनामा छ ।

मुद्दाको हद म्यादलाई मध्यनजर गरेर पीडित बचतकर्ताहरूले २ मंसिरभित्रमा अनिवार्य रूपमा यही सूचनालाई आधार मानेर जाहेरी दरखास्त पेस गर्न अनुरोध गरिएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । सहकारीबाट ऋण लिई अपचलन गर्ने ऋणीहरूलाईसमेत मुद्दाको प्रतिवादी बनाइने हुँदा जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखामा पुगेर आफूले भुक्तान गर्नुपर्ने रकम सम्बन्धमा छानबिन प्रतिवेदनबाट जानकारी लिई आफ्नो व्यवहार यथाशक्य व्यवस्थापन गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

सहकारी संस्थालाई दुरुपयोग गरी बचत रकम अपचलन गरी कसुरबाट प्राप्त रकम हो भन्ने जानीजानी सोही रकमको व्यवस्थापन गर्ने मनसायले पूर्वयोजना बमोजिम अपचलन भएको निष्कर्ष अध्ययन प्रतिवेदनको छ ।

अध्यादेशले सहकारीकर्मीको दोहोरो, तेहरो पद खारेज गर्ने

सरकारले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ल्याउने अध्यादेशले दोहोरो/तेहरो पदको विषयमा पनि स्पष्ट पार्ने भएको छ । सहकारीको समस्या दोहोरिन नदिन सरकारले एक व्यक्ति, एक पदमा मात्रै बस्न पाउने व्यवस्था अध्यादेश मार्फत गर्न लागेको हो ।

पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको सुशासनको कमी, वित्तीय अपचलन तथा ठगीका समस्या बढ्दा सर्वसाधारणको बचत नै जोखिममा परेको छ । लामो समयदेखि सर्वसाधारणले आफ्नो बचत फिर्ता लिनका लागि आन्दोलन समेत गर्दै आएका छन् । साथै सहकारीको समस्याले समग्र अर्थतन्त्रलाई प्रभावित बनाएपछि सरकारले अध्यादेश ल्याएर भएपनि सम्बोधन गर्ने तयारीमा सरकार लागेको हो ।

सहकारी समस्याको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले समेत छिटो छरितो रुपमा समाधान गर्नका लागि निर्देशन दिएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल गरिरहेको छ । मन्त्रालयले ती निकायलाई सहकारी समस्या समाधान गर्नका लागि देखिएका कानुनी अप्ठ्यारा लिखित रुपमा माग्दै अध्यादेशको तयारी गरेको सहकारी विभागका एक अधिकारीले बताए ।

‘विभागबाट पनि समस्या समाधानका लागि गरिनुपर्ने कानुनी सुधारको सम्बन्धमा लिखित सुझाव माग भएको थियो,’ ती अधिकारीले भने,‘विभागले पछिल्लो समयमा समस्या समाधानका लागि देखिएका कानुनी कमजोरीलाई एकीकृत गरेर मन्त्रालयमा बुझाएको छ ।’ राजनीतिमा सक्रिय व्यक्ति एकै पटकमा बहुसंस्थाको सञ्चालकको जिम्मेवारीमा बस्नु नै समस्याको मुख्य जड रहेको ती अधिकारीको भनाइ छ ।

‘प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयमा भएका विभिन्न चरणका छलफलमा दोहोरो/तेहरो पदमा बसेको विषय पनि उठेको छ,’ ती अधिकारीले भने,‘अब आउने अध्यादेशले दोहोरो तेहरो पदमा बस्न नपाउने स्पष्ट व्यवस्था गर्नेछ । सोही अनुसार विभागले पनि आफ्नो तर्क राख्दै आएको छ, एक व्यक्ति, एक पदको व्यवस्था गर्न सुझाएका छौँ।’

पछिल्लो समयमा सहकारी विभागले राष्ट्रिय सहकारी बैंक, सहकारी महासंघ तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पदाधिकारी दोहोरो/तेहरो भूमिकामा भएपछि स्पष्टीकरण सोधेको थियो । सोही विषयलाई महासंघले सहकारी ऐनमा भएको व्यवस्था स्पष्ट पारिदिन भन्दै मन्त्रालयलाई पत्राचार समेत गरेको ती अधिकारीको भनाइ छ ।

‘मन्त्रालयमा पत्राचार भएको हुँदा तत्कालका लागि थप के गर्ने भन्ने निर्णय भएको छैन,’ ती अधिकारीले भने,‘मन्त्रालयसँग छलफलमै छौँ, यो विषय प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म पनि पुगेकाले धेरैको चासो बनेको छ ।’

एक व्यक्ति बहुपदमा बस्न मिल्दैन भन्नेमा विभाग स्पष्ट रहेको ती अधिकारीले बताए । ‘संघहरूमा बस्ने व्यक्तिले आफ्नो प्रारम्भिक संस्थाको हितको लागि नै काम गर्छ,’ उनले भने,‘बहु पदमा हुँदा स्वार्थको द्वन्द्व हुन्छ भन्ने नै विभागको धारणा हो।’

सहकारी अभियन्ताले ऐनको दफा ४१ (४) लाई आधार बनाई संघ र सहकारी संस्थाको परिभाषा फरक रहेको दाबी गर्दै दोहोरो पदमा बस्न पाउने तर्क अघि सार्दै आएका छन्। ऐनको त्यो दफा अनुसार पनि प्रष्ट रुपमा बस्न पाउने भन्ने नभएको विभागका अधिकारीको दाबी छ ।

‘अध्यादेशमा अब यस्ता कुनै विषय फरक–फरक मान्छेले पढ्दा फरक–फरक अर्थ लाग्ने छ भने त्यसलाई एकै किसिमको बुझाइ हुनेगरी व्यवस्था गरिन्छ,’ उनले भने, ‘विभागको ड्राफ्ट पनि मन्त्रालयमा छलफलकै लागि पठाइएको छ ।’

सहकारी महासंघलाई विभागले दोहोरो पदको सन्दर्भमा स्पष्टीकरण सोधपछि ठूलो लबिङ सुरु भएको थियो । विभागले स्पष्टीकरण सोधपछि महासंघ सहकारी ऐनको व्याख्या गराउन महान्यायधीवक्ताको कार्यलय पुगेको थियो ।

राजनीतिक पहुँचका आधारमा महासंघले महान्याधिवक्ताको कार्यालयबाट दोहोरो पदमा बस्न मिल्ने निष्कर्ष सहितको पत्र पनि तयार गरिसकेको विभाग स्रोतको भनाइ छ । तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले एमाले र कांग्रेसको सरकार ढलेपछि उक्त प्रक्रिया भने रोकिएको स्रोतको दाबी छ ।

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुयाँल नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फुयाँल नियुक्त भएका छन् । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरेको हो ।

फुयाँललाई आजकै मितिदेखि लागु हुनेगरी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौं कागेश्वरी निवासी फुयाँल यसअघि नेप्सेकै वरिष्ठ प्रबन्धक थिए । नेप्सेबाट उनलै हालै राजीनामा दिएका हुन् ।

ग्लोबल आईएमई बैंक र नास-आईटीबीच डिजिटल बैंकिङ सेवाबारे छलफल

ग्लोबल आईएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच नविन डिजिटल बैंकिङ सेवाबारे छलफल भएको छ ।

बैंकको कर्जा दायरा विस्तार, नविन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि कर्जा योजना, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायबारे छलफल भएको थियो।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विभिन्न पेशा तथा व्यवसायसँग आवद्ध समूहलक्षित व्यवसाय विस्तारका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको उनले बताए । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्स्लेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखा रहीत बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा छन् ।

स्टयाण्डर्ड चार्टर्ड बैंक एनपीएस-नेश्नल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएलबीच एनपीएस-नेश्नल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि थव औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल गोरख राणा तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

एनपीएस –एनसिएसको पूर्वाधारको तयारी पश्चात् व्यजसायीक सञ्चालन गर्ने तयारीमा रहेको एनसीएचएलले हालै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि स्विच इन्टिग्रेट गर्न आवश्यक समन्वय र सहयोग गर्दे आएको छ ।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि उक्त कार्ड अक्वायर र इस्यू गर्न सक्नेछन् ।

एनपीएस –एनसिएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस –एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी बैंकहरु मध्येको स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले देश भरी रहेका १४ वटा शाखा, ४ विस्तारित काउन्टरहरु तथा २५ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक डिजिटल बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसर, कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम

नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष, वेंकट वंसीधर कुंचाद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरियो ।

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी, संचालक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू समय समयमा गर्दै आएको छ । नेपाल एसबिआई बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

नेप्सेमा थपियो २ करोड ८ लाख सेयर, एसियन लाइफ र नेपाल इन्स्योरेन्सको हकप्रद सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा दुई वटा इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ। नेप्सेमा मंगलबार एसियन लाइफ र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो।

एसियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर थपिएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

हकप्रद सेयर निष्कासनसँगै कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी बढाएर ५ अर्ब कायम गरेकामा कम्पनीले हकप्रद सेयर निष्कासनबाट पुर्‍याएको हो।

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो।

हकप्रद सेयरपछि नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २.५ अर्ब रुपैयाँ तोकेको छ।