जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले लाभांश बाँड्यो

राष्ट्रिय वाणिज्य बैंकले लाभांश बाँड्यो

राष्ट्रिय वाणिज्य बैंकले पहिलोपटक लाभांश दिएको छ। बैंकले चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिएको हो।

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेको सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ।

बैंकले मंगलबार सरकारलाई लाभांश वापतको एक अर्ब ८ करोड रूपैयाँ उपलब्ध गराइसकेको छ। सर्वसाधारणले करिब ३० लाख रुपैयाँ लाभांश पाएका छन्।

‘खराब अवस्थामा पुगेको बैंकमा सुधार गरेर आजको दिनमा लाभांश बाँड्ने हैसियतमा पुगेकोमा मलाई एकदमै खुसी लागेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, ‘यसले बैंक स्थिरतातिर गइरहेको देखाउँछ।’

बैंकको कुनै समय नेटवर्थ ऋणात्मक थियो। सरकारले विश्व बैंकसँग ऋण लिएर नेपाल बैंकसहित राष्ट्रिय वाणिज्य बैंकमा सुधार थालेको थियो। सुधारपछि बैंकको वित्तीय अवस्था सकारात्मक बन्दै गएको हो।

बैंकको कुनै बेला १२ अर्ब रूपैयाँ ऋणात्मक नेटवर्थ थियो। अहिले २० अर्ब धनात्मक भएको छ। बैंकको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। बैंकले सञ्चालक समितिको बैठक डाकेर माघ तेस्रो साता साधारणसभा गर्ने मिति तय गर्ने भएको छ।

बैंकको ऋण लगानी १ खर्ब ५० अर्ब रुपैयाँ पुगिसकेको छ। बैंकसँग सर्वसाधारणको १ खर्ब ९४ अर्ब रूपैयाँ निक्षेप छ। बैंकले गत वर्ष ५ अर्ब ६ करोड रूपैयाँ नाफा गरेको थियो। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ५८ बाट ८० प्रतिशत पुगिसकेको छ। बैंकको शाखा संख्या १ सय ६५ बाट २ सय ३८ पुगिसकेको छ।

17340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका