जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • देश विदेशबाट शेयरको कारोबार गर्न, अनलाईन सेवा शुरु गर्न तयारीमा छौं ।

अन्तरवार्ता

देश विदेशबाट शेयरको कारोबार गर्न, अनलाईन सेवा शुरु गर्न तयारीमा छौं ।

भीष्मराज ढुंगाना, अध्यक्ष नेपाल धितोपत्र बोर्ड

देश विदेशबाट शेयरको कारोबार गर्न, अनलाईन सेवा शुरु गर्न तयारीमा छौं ।

भीष्मराज ढुंगाना चिनाई राख्नु पर्ने नाम होइन । नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेका भीष्मराज ढुंगानाले कार्यकारी निर्देशक पदबाट अवकाश पाएका व्यक्ति हुन् । नियामक निकायमा बसेर काम गरेको लामो अनुभव प्राप्त ढुंगाना केही समय अघि मात्रै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । ढुंगाना बोर्डको अध्यक्षमा नियुक्त भएदेखि नै पुँजी बजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । ढुंगानाका अघि चुनौति कम छैनन् । बजारमा उपकरणको अभाव छ । बोर्ड आफै प्रभावकारी नियामकको रुपमा प्रस्तुत हुन सकेको महसुस सरोकारवालाले गरिरहेको अवस्था छैन । पुँजी बजारमा कर लगायतका विवाद ज्यूँका त्यूँ छन् । लकडाउन वैशाख २५ गतेसम्मको लागि थपिएको छ । कोरोनाको संक्रमित बढ्दै गएपछि लकडाउनलाई पनि केही दिनको लागि थप गरेको देखिन्छ ।
लकडाउन शुरु भएसँगै सेयर बजार पनि पुरै ठप्प छ । बजार गत चैत १० गतेदेखि हालसम्म निरन्तर बन्दै छ ।

बैशाख १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले आगामी थप १० दिनको लागि लकडाउन जारी गर्ने निर्णय गरेको छ । यससँगै, सेयर बजार चाहिँ के हुन्छ भन्ने लगानीकर्तामा कौतुहलता भएको छ । यससम्बन्धि केही लगानीकर्ता लकडाउन अवधिभर बजार बन्द हुनुपर्छ भनेर बसीरहेका थिए, भने केही लगानीकर्ता भने बजार खुलाउनु पर्छ भन्ने तिर लागेका थिए ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ठुंगानाले भने लकडाउन भरी बन्द हुने बताएका छन् । ‘लकडाउन खुकुलो हुने भयो भने चाँहि बजार खुलाउने कि भन्ने कुरा भइरहेको थियो । लकडाउन खुकुलो भएन त्यसैले सेयर बजार पनि आगामी बैशाख २५ गतेसम्मको लागि बन्द देखिन्छ ।
सानो अर्थतन्त्र रहेको नेपालको पुँजी बजार त्यति परिपक्व भइसकेको छैन । पुँजी बजारको सिद्धान्त र नियमभन्दा पनि लहडबाजीका असर यसमा देखिने गरेको छ । यस्तो अवस्थामा अध्यक्ष बन्नुभएका ढुङ्गाना यी सबै कुराका जानकार पक्कै हुनुहुन्छ । ढुंगाना यसअघि पनि बोर्डमा विज्ञ सदस्यका रूपमा कार्य गरिसकेका व्यक्ति हुन् । यी र यस्तै विषयमा प्रस्तुत छ, अध्यक्ष भीष्मराज ढुङ्गानासँग आर्थिक न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० लकडाउनले पूजी बजारलाई कस्तो असर गरेको छ ?
पूँजी बजार चलायमान गर्ने शेयर बजार नै हो । यो अहिले लकडाउनका कारण पूर्ण रुपमा बन्द छ । यो अवधीमा नाफा वा घाटा केही पनि छैन । मान्छेहरुले सम्पत्ती किन बेच गर्न पाएका छैनन् । घटेको पनि छैन बढेको पनि छैन ।

० अब लकडाउन पछि कसरी खोल्ने छ र कसरी कारोबार हुने देख्नु भएकोछ अध्यक्षज्यू ?
अब लकडाउन कुन तरिकारले खुल्ने भन्ने नै हो । साधारण हो वा नरर्मल तरिकारले खुल्यो भने कारोबार पहिलाकै तरिकारले हुन्छ । खुकुलो भएन भने बजार घट्न पनि सक्दछ । यस अगाडी नै २३ प्रतिशतले बजार घटेको छ । सबै देशमा घटेको छ । कारोना भाईरसका कारण भन्दा फरक नपर्ला ।

० अनलाईनबाट शेयर कारोबार गर्ने उपाय छैन त नेपालमा अध्यक्षज्यू ?
अनलाईनबाट सबै कारोबार गर्न पाउने, घरमै बसेर छैन भन्दा फरक पदैन । अनलाईन होइन । अर्धलाईन चाहि छ । किन्न पाइन्छ तर शेयरको हिसाब किताब गर्न झोलामा कागज पत्र बोकेर ब्रोकरको अफिस जानु पर्ने बाध्यता चाहि अझै छ ।

० यो २१ औं सप्ताब्दीमा पनि अनलाईनको कारोबार पूर्ण रुपमा किन गरिएन यसमा धितोपत्र बोर्डले पहल गर्ने वा नेतृत्व दिने बेला त भयो होला नि कि कसो अध्यक्षज्यू ?
सही प्रश्न गर्नु भयो तपाईले यो व्यवस्था हुँदैछ । हामी गर्दै थियो । कोरोनाका कारण लकडाउन भयो । यो खुलेपछि ३÷४ महिना भित्रै पूर्ण अनलाईन सेवा हामी दिने पक्षमा नै छौं ।
यो सेवा दिन वा यसको व्यवस्थापन गर्न धितोपत्र कोर्डको नेतृत्वमा ब्रोकर, मर्चेन्ट, बैंकर र नेप्से सीडिएस, बैंक र नेपाल क्लियरिङ्ग हाउस लगायत मिलेर यी सबै मिले यो अनलाईन सेवा गराउने पहल भईरहेको छ नि अर्को कुरा

नेपालको पुँजी बजार बढ्दो छ तर यस अवस्थाबाट यसलाई माथि उकास्न धेरै काम गर्नु आवश्यक छ । अहिलेको पुँजी बजारमा स्थायित्व छैन । अहिले भएको वृद्धि सामान्य वृद्धि मात्र हो । यसलाई स्थायी प्रकृतिको बनाउन जरुरी छ । त्यसका लागि बजारको उपकरण पनि पर्याप्त र भरपर्दो हुनुपर्छ र प्रणाली एवं प्रविधि सुदृढ गर्दै जानुुपर्छ ।

० तपाईंको भावी योजना के के छन् ?
हो, मैले अध्यक्षको पदभार सम्हालेदेखि नै छवटा विषयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । पहिलो, पुँजी बजारमा स्थायित्व ल्याउनु जरुरी छ । यसमा व्यक्तिगतभन्दा संस्थागत लगानी बढाउने वातावरण बनाउन सकेमा स्थायित्व आउनसक्छ । दोस्रो, त्यसका लागि पुँजी बजारमा व्यावसायिकता अभिवृद्धि गरिनुपर्छ । अहिले पुँजी बजारमा आकाशे खेतीजस्तो मात्र भएको छ । पुँजी बजारमा प्रवेश गर्न चाहनेका लागि यो क्षेत्र पनि भविष्य राम्रो छ है भन्ने बनाउनुपर्छ ।

तेस्रो, यस बजारको दायरा बढाउनु अत्यन्तै जरुरी छ । त्यसका लागि अहिलेका डिबेन्चर वा म्युचुअल फन्डबाहेक अन्य उपकरणको पनि खोजी गर्नुपर्ने हुन्छ । डेरिभेटिभहरू थपिँदै जानुपर्छ । चौथो पक्ष भनेको यस क्षेत्रमा सूचना प्रविधि र आईएमएस प्रणालीलाई भरपर्दो र सबैको पहुँचमा पु¥याउन सकेमा गाउँका कुनाकाप्चादेखि विदेशमा बस्नेसमेत यसमा सजिलै सहभागी हुन सक्छन् । अझै पनि हाम्रो अनलाइन प्रणाली पूर्ण रूपमा प्रयोग हुन सकिरहेको छैन । मैले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छु । पाँचाँै, कर्पोरेट सुशासनको परिपालनामा कडाइका साथ गराउनुपर्छ । इन्साइडर ट्रेडिङ र डिस्क्लोजरहरूलाई थप व्यवस्थित गर्नु जरुरी छ ।

अन्तिम कुरा भनेको हाल प्रचलनमा रहेका कानुनलाई आवश्यकता अनुसार समयसापेक्ष सुधार गर्ने र केही बनाउन बाँकी ऐन नियम बनाउँदै जानु हो । यी विषयका साथै धितोपत्र सेक्युरिटी बोर्डको अहिलेसम्म आफ्नो भवन छैन । मेरो कार्यकालमा यसको आफ्नै भवन निर्माणका लागि पनि पहल गर्ने छु ।

० नेपालको पूजीबजार अस्थिर भएकै हो त ?
नेपालको अहिलेको पुँजी बजार अस्थिर भयो । यसले लगानी उठ्ला कि नउठ्ला भनेर लगानीकर्तालाई भयभित र चिन्तित बनाउँछ । सेयर किनेपछि धैर्य गर्नेभन्दा पनि बेच्न हतारिने अवस्था छ । कोही व्यक्ति कुनै पदमा रहनु वा नरहनुले पुँजी बजार प्रभावित हुनुहुँदैन । यसका केही आधारभूत सिद्धान्त हुन्छन् । त्यसका आधारमा चल्नुपर्छ तर त्यस्तो हुन सकिरहेको छैन । हाम्रोमा व्यक्तिगत लगानीकर्ता धेरै भएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो । संस्थागत लगानीकर्ता बढी भएमा यस्तो अवस्था आउँदैन । बजार अङ्ग्रेजी अक्षर डब्लुको स्वरूपमा हुनुपर्छ । त्यसका लागि संरचनामा नै परिवर्तन आवश्यक देखिन्छ ।

० तपाईको अफिस २५ वर्षदेखि भाडामानै छ । अर्को कुरा विदेशमा रहेका नेपालीलाई शेयर किन बेच गर्ने अनलाईन सेवा छैन । यसबारे चाहि के सोच छ त ?
भवनको निर्माण गर्ने काम भविष्यमा पक्कै हुनेछ । अर्को कुरा एनआरएनलाई शेयर खरिद बिक्री गर्न अनलाईनबाट गरिने छ । शुरु भईसहेको छ । पूर्ण चाहि नभएको अवस्था हो ।
हाम्रो अनलाइन सिस्टम भर्खर सुरु हुँदै छ । यसलाई फुलफ्लेजमा लैजान सकेमा जहाँसुकैबाट पनि कारोबार हुनसक्छ । बैङ्क एकाउन्ट, डिम्याट एकाउन्टसँग इन्टिग्रेट र रिअल टाइममा सेटलमेन्ट गराउन सके स्वदेश वा विदेश भनिरहनु नै पर्दैन जहाँसुकैबाट पनि पुँजी बजारमा लगानी गर्न सकिन्छ । लागत र प्रतिफलको मूल्याङ्कनका आधारमा त्यसलाई अगाडि बढाउनुपर्ने हुन्छ । त्यसका लागि नेप्से र ब्रोकरको सीडीएसलगायतका सरोकारवालाको क्षमता अभिवृद्धि गर्दै जानु जरुरी हुन्छ । यसका लागि केही समय लाग्ला ।

० १० किस्ता शेयर किनबेचले भीड मात्रै बढाएको देखिन्छ नि ?
१० कित्ता किन बेचले बजार बिग्रीएको पक्कै हो । यसले शेयर बजारको धारण नकारात्मक भएकै हो । यसले बढि खर्च आम्दानी कम पनि भएकै देखिन्छ । त्यसकारण पहिल्लो समयमा यस्तो देखिएको छ । जम्मा १० कित्ता सेयर लिएर कसैले लगानी नै त बढाउने अवस्था होइन तर बढीभन्दा बढी मानिसलाई सेयर लगानीमा साक्षर बनाउन यो अभियान पनि ठिक छ । यसले गर्दा गोजीमा एक हजार मात्र हुनेले पनि अनुत्पादक क्षेत्रमा खर्च गर्नुभन्दा केही उत्पादक क्षेत्रमा लगानी गरेको राम्रै मान्नुपर्छ । यसै कारण अहिले बजारमा १६ लाखभन्दा बढी लगानीकर्ता देखिएका छन् । आगामी दिनमा यसलाई फरक एङ्गलबाट पनि अगाडि बढाउन सकिन्छ नि ।

० धितोपत्र बोर्ड कानुनी रूपमा कतिको स्वनिर्णय गर्नसक्ने देख्नु भएको छ ?
यो बोर्ड स्वायत्त संस्था हो । यसले लिने निर्णय यसको सञ्चालक समितिले नै गर्छ । नयाँ ऐन, नियम, नियमावली बनाउँदा मन्त्रालयसँग गर्नुपर्ने काम र लिनुपर्ने राय सुझाव र सहयोग त लिई नै हाल्छ । बोर्ड र मन्त्रालयको सम्बन्ध निकै सौहाद्रपूर्ण छ । बलियो बन्दै जाने छ ।

० कमोडिटी मार्केट ज्यादै सीमित छ ? यसको दायरा बढाउने कुनै योजना चाही के छ त ?
अहिलेसम्म कुनै कमोडिटी मार्केटलाई इजाजतपत्र प्रदान गरिएको छैन । बोर्डमा छवटा कम्पनीले इजाजतका लागि आवेदन दिएका छन् । ती कम्पनीबारे सूक्ष्म अध्ययन र विश्लषण गरिँदै छ । इजाजत दिएपछि ब्रोकर एक्सचेन्ज, वायर हाउस, ग्रेडिङ क्लियरिङ सिस्टम आदि पनि बनाउनुपर्छ । त्यसैले अहिले प्रोसेसिङमा नै छ । अझै केही समय लाग्ला भूपेन्द्रजी ।

० धेरैजसो ब्रोकर आफैँमा लगानीकर्ता पनि भएको पाइन्छ । यस्तो अवस्थामा ब्रोकर र लगानीकर्ता कसरी छुट्याउने त अध्यक्षज्यू ?
ब्रोकर आफैँ लगानीकर्ता हुन पाउँछ । अन्य राष्ट्र पनि यस्तो प्राक्टिस पाइन्छ । ब्रोकर डिलर हुन पाउँछ । अन्डरराइटर पनि हुन पाउँछ तर कारोबार आफ्नै पैसाबाट गर्नुप¥यो । त्यसलाई पनि के कति अधिकार हुने भन्ने विषयमा स्पष्ट पार्नु जरुरी छ ।

० पुँजी बजारको स्वतन्त्र क्रेडिट रेटिङका लागि पनि कुनै योजना बनाउनुभएको देखिदैन नि ?
अहिले अधिकांश लगानीकर्तामा बजारको विश्लेषण गर्ने क्षमता र सीपको विकास भइसकेको छैन । त्यस्तो अवस्थाका कुन कम्पनीको वित्तीय अवस्था के छ ? त्यसमा लगानी गर्दा कति बढी वा कम जोखिम छ ? भन्ने रेटिङका लागि अहिले बजारमा दुईवटा कम्पनी छन् । ५० करोडभन्दा बढीको ऋणका लागि धितोपत्र बोर्ड आफैँले पनि गरिरहेको छ । अहिलेलाई यो पर्याप्त देखिएको छ । आवश्यक परे भोलिका दिनमा थप्न पनि सकिन्छ । लगानीकर्ताको साक्षरता अभिवृद्धिका लागि बोर्डले पनि महिनामा दुईवटा कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

० अहिले बजारमा आइरहेको म्युचुअल फन्ड अनुत्पादक क्षेत्रमा थन्किएको भन्ने विश्लेषण पनि पाइन्छ ? पछिल्ला समयमा जारी भएका म्युचुअल फन्डमा आकर्षण देखिँदैन, कारण चाहि के होला ?
जोखिम कम वहन गर्न चाहने लगानीकर्ता म्युचुअल फन्डमा लगानी गर्छन् । यो डाइभर्सिफाइड योजना पनि हो । बजारको गहिरो विश्लेषण गरेर लगानी गर्न नसक्नेका लागि ल्याइएको पुँजी बजारका यन्त्र हो यो । जोखिम कम वहन गर्न चाहने लगानीकर्ताका चाहना, अपेक्षाका आधारमा यस्ता फन्ड ल्याइएका हुन् । त्यसले केही लगानीकर्ताका चाहना पूरा गरिरहेका छन् । अझै यस्ता सेक्टरल इन्डेक्समा आधारित भएर पेन्सन स्किमजस्ता थप उपकरण पनि ल्याउँदै यसको विकास गर्न गरुरी देखिन्छ ।

० नेपाल धितोपत्र बोर्डले राज्यद्वारा कोरोना रोकथामका लागि गठन गरेको कोषमा चाहि कस्तो सहयोग गरेको छ ।
सायद सरकारी निकायहरुमा सबै भन्दा बढि कोषमा जम्मा गर्ने नेपाल धितोपत्र बोर्ड नै हो । हामीले ३ करोड पैसा राखी दिएका छौं ।

० अफिस खुल्ला गरि काम गरेको अवस्था छ त ?
किन नहुनु हामी अफिसबाटै काम गरिरहेका छौं । खुल्ला छ केही कर्मचारी साथीहरु आउनु भएको छ । चिठ्ठी पत्र बुझेका छन् । हामीले बजेटका योजना बनाएका छौं । मौद्रिक नीतिका कुरा पठाएका छौं । म आफै अफिस गएर काम गरेको छु ।

० अन्त्यमा केही छ त ?
अहिलेको सबै भन्दा ठूलो कुरा जनताको स्वास्थ्य सुरक्षा नै छ । जीवन रहे धनको व्यवस्थ हुन्छ । त्यसले गर्दा जनताको स्वास्थ्य ठूलो हो । यो लकडाउन पालना गरौं । वातावरण बन्दैछ । अब हामी सामान्य अवस्थामा आउने नै छौं । बजार सञ्चालन गर्ने हामी तयार हौं । सामान्य वातावरण भए खोल्न नेप्सेलाई भनेका पनि छौं । अर्को कुरा रोग लाग्नबाट बचौं । विश्व स्वास्थ्य संगठन र सरकारले दिएक निर्देशन पालना गरौं । यो अदृश्य शक्तिबाट आएको रोगसंग पार पाउँदै आर्थिक गतिविधि शुरु गरौं ।

12270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका