जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

अटाे

अहिले बैंकहरुसँग तरलता छ

करण चौधरी, उपाध्यक्ष, नाडाअटोमोवाइल्स एसोशिएसन अफ नेपाल 

अहिले बैंकहरुसँग तरलता छ

लामो लकडाउनपछि बजार खुल्ने तयारी भइरहेको छ । करिब ८० दिन लामो लकडाउनपछि खुल्ने बजारमा सवारीसाधन बिक्रेता कम्पनीहरुले कसरी आफ्नो व्यवसाय सुरु गर्ने छन् भन्ने विषय अहिले पेचिलो बनेको छ । मानिसको आम्दानी घटेको छ । काममा फर्कनु पर्ने अवस्था छ । यस्तोमा भोलिका दिनलाई अटोमोवाइल व्यवसायीले कसरी लिएका छन् भन्ने विषयमा केन्द्रित रहेर नाडा अटोमोवाइल्स एसोशिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरीसँग गरिएको कुराकानीको संम्पादित अंशः

यति लामो लकडाउन पछि बजार खुल्दैछ । अटोमोवाइल व्यवसायीले काम कसरी अघि बढाउने योजना गर्दैछन् ?
अटोमोवाइल व्यवसायीले आफ्ना शोरुमदेखि ग्यारेजसम्म खोल्नको लागि निश्चित सावधानी अपनाउनु पर्ने विषय हामीले नाडा अटोमोवाइल्स एसोशिएसन अफ नेपालको तर्फबाट सबै सदस्य साथीहरुलाई ‘गाइड लाइन’ नै बनाएर सर्कुलर गरिसकेका छौं ।
अहिलेको हाम्रो चुनौती भनेकै अटोमोवाइल क्षेत्रबाट सेवा लिने कुनैपनि ग्राहक र यो क्षेत्रमा काम गर्ने मानिसको स्वाथ्यमा असर नआउनेगरि आफ्नो व्यवसाय कसरी संचालन गर्न सकिन्छ भन्ने विषयले नै मुख्य प्राथमिकता पाउने देखिन्छ । यसमा हामी सबै व्यवसायी कटिवद्ध रहेका छौं ।

अबको अटोमोवाइल क्षेत्रमा देखिने मुख्य चुनौती के के देख्नुभएको छ ?
अहिलेको मुख्य चुनौती नै हाम्रा कारण कुनैपनि मानव शरिरमा कोरोनाले प्रवेश पाउनु हुँदैन भन्ने हो । यस पटकको बजेटले पनि केही आर्थिक भार ग्राहक र कम्पनीहरुमा थपिदिएको छ । यसलाई कसरी कम गर्न सकिन्छ भनेर नाडाले आफ्नो कृयाकलाप अगाडि बढाउँदै लगेको छ ।
बजेटपछि आउने मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रमा बैंकहरुले लगानी गर्ने कर्जाको अनुपात बढाउनु पर्ने हुन्छ । अहिले गाडीको मूल्यको ५० प्रतिशतसम्म मात्रै रहेको छ । यसलाई अवस्था हेरिकन ८० प्रतिशतसम्म फाइनान्स सुविधा पुर्याउनु पर्छ भन्ने हाम्रो धारणा हो । अहिले बैंकहरुसँग तरलता छ । लगानीको लागि अटोमोवाइल क्षेत्रले कर्जा खोजिरहेको अवस्था हो । यसमा मौद्रिक नीतिले केही निर्णय गरेको खण्डमा गाडीको बिक्रीमा केही हदसम्म सहज हुन्थ्यो ।

करिब ३ महिना लकडाउनमा वित्यो । यस अवधिमा थन्किएका सवारीसाधनको सर्भिसिङ र वारेन्टी लगायत कुराहरु पनि छन् । यसमा कम्पनीहरुले कसरी काम गर्दै छन् ?
सबै कम्पनीहरुले यो सुविधा थप गर्दै लान्छन् भन्ने लाग्छ । मैले सुजुकीले के गर्छ भन्ने विषयमा मात्रै भन्न सक्ने भएँ । हामीले गरेको वाचा अनुसार हामी यस अवधिमा पर्ने गाडीको वारेन्टीदेखि सर्भिसमा कटिबद्ध छौं । यसवीचमा आएको समस्यालाई हामी खटेर मुकाबिला गरिरहेका छौं । ग्राहकलाई फोन गरेर गाडीको अवस्थाको विषयमा जानकारी लिएका छौं । लकडाउन अवधि बराबरको वारेन्टीको समय पनि हामी थप गर्ने छौं ।

बजेटले इलेक्ट्रीक सवारीसाधनमा लाग्दै आएको करमा हेरफेर गरेर लगभग किन्नै नसक्ने अवस्था आयो । नाडाले यसमा आपत्ति पनि जनायो । यद्यपी इलेक्ट्रीक सवारी साधनको प्रयोग बढाउने मुद्दा राज्य छाडेको छैन । यस्तो महंगो करकोे निरन्तरता कसरी संभव छ ?
पहिलो कुरा राज्यले इलेक्ट्रीक सवारीसाधनको लागि आवश्यक पूर्वाधारमा लगानी गर्नु पर्छ । त्यसको लागि चार्जिङ स्टेशन लगायतका विषय आउँछन् । अर्को, अहिले लगाएको कर घटाउनु पर्छ । यहि करमा इलेक्ट्रीक गाडी किन्न मानिसलाई आकर्षित गर्न सकिदैंन । अर्थमन्त्री ज्यूले यो विषयलाई सम्बोधन पनि गर्छु भन्नु भएको छ ।
सार्वजनिक यातायातमा इलेक्ट्रीक गाडीलाई प्रोत्साहन गर्ने विषयमा सरकार अडिग नै छ । त्यसैले करको समस्या समाधन गर्दै इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढाउनु पर्छ ।

सरकारले पछिल्ला दिनमा नाडाको कुरा सुन्न छाडेको हो कि नाडाले ‘लविङ’ गर्न छाडेको हो ?
विगतदेखि नै हाम्रा केही कुरा सरकारले माने जस्तो र केही नमानेको जस्तो देखिन्छ । अहिले पनि हाम्रो केही कुरा सरकारले सुनेको छ । एसेम्बल प्लान्ट लगाएर एसेम्बल किट ल्याउदा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको छ । स्पेयर पार्टसको अन्तःशुल्क हटेको छ, भलै भन्सार बढ्दा धेरै फाइदा हुने अवस्था छैन । अहिले देशको परिस्थिति त्यस्तै भएर होला ।

भविष्यका सवारीसाधन कस्तो हुने देख्नु भएको छ ?
भविष्य जहिल्यै पनि नयाँ आविष्कारको हुन्छ । पेट्रोलियम पदार्थको प्रयोगबाट चल्ने सवारीसाधनको विकल्पको खोजी सुरु भएको लामो समय भइसकेको छ । केहीअघि हाइब्रिड गाडी चर्चामा थिए । अहिले इलेक्ट्रीकको साथमा सोलार इनर्जी र हाइड्रोजन फ्यूल सेल कारको पनि संम्भावना देखिएको छ । विश्वका ठूला कार निर्माता कम्पनीहरुले नयाँ आविष्कारमा ठूलो रकम खर्च गरिरहेका छन् । त्यसले नयाँ टेक्नोलोजीमा आधारित सवारीसाधन अबको रोजाई हुन् ।
यस्ता सवारीसाधन पूर्वाधार निर्माण बिना आउन सक्दैनन् ।

मारुती सुजुकीले कहिलेसम्म इलेक्ट्रीक कार बजारमा उर्ताछ ?
सुजुकीले इलेक्ट्रीक कारको परिक्षण सुरु गरेको धेरै भइसक्यो । अहिल्यै कुन मितिमा इभी आउछ भन्ने कुराको आधिकारीक जानकारी कम्पनीले दिएको छैन । यद्यपी २०२० मा इभी ल्याउने भन्ने कुरा पहिल्यै भनेको थियो । तर, कोभिड १९ को कारण केही पछि धकेलिने अवस्था भने विद्यमान छ । ढिलामा २०२१ मा हाम्रो इभी आउने छ ।

नेपालमै गाडी एसेम्बल गर्ने विषयमा तपाईहरुको धारणा के हो ?
यो विषयमा मैले धेरै पटक अर्थमन्त्री ज्यूदेखि सचिव ज्युहरुलाई भनेको छु । नीतिगत स्थिरता हुने हो भने नेपालमा सवारीसाधन एसेम्बल गर्न सकिन्छ । उहाँहरुले यदि यसमा प्रस्ट पार्नु भयो भने तपाईंहरुकै कार्यकालमा गाडी एसेम्बल गर्छु भनेको हुँ । हामी सुजुकीका कार यही एसेम्बल गर्न सक्छाैं ।

अहिले बजेटले दिएका सुविधा कम्तीमा यति वर्ष भनेर प्रष्ट पार्नु पर्छ । नत्र अहिलेको अवस्थालाई हेरर लगानी गर्यो पछि उत्पादन हुने समयमा यी दर बढेर व्यवसाय चलाउनु कि बन्द गर्नु भन्ने अवस्था आउन सक्छ ।
स्थिर नीति नियम नहुँदा व्यवसायी मर्कामा पर्छ । नीतिगत स्थिरता भए हरेक क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार छ । म र मेरो कम्पनी पनि नेपालमा गाडी एसेम्बल गर्न तयार रहेको छ ।

कोभिड १९ पछिको अटो बजार कस्तो होला ?
देशमा आउने हरेक विपतपछि बजारमा सकारात्मक प्रभाव पर्छ जस्तो लाग्छ । हाम्रा अघिल्ला अनुभवले त्यस्तै देखाउँछन् । महंगा र ठूला गाडीमा समस्या होला तर, महामारी पछि साना गाडीको बजार बढ्ने हामीले अपेक्षा गरेका छौं । MeroAuto

12270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?