जोडिनुहोस
मङ्लबार, असार २३, २०८३
मङ्लबार, असार २३, २०८३
  • होमपेज
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।

सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार यस एक्स्पोमा ५१ वटा स्टल रहनेछन् भने ५५ भन्दा बढी ब्रान्डका उत्पादन प्रदर्शनीमा राखिनेछन्। यसैगरी, ४० भन्दा बढी नयाँ सवारीसाधन र उत्पादनहरू सार्वजनिक गरिने कार्यक्रम रहेको छ। प्रदर्शनीमा विशेषगरी दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड सवारीका साथै मोबिलिटी प्रविधि र सेवासम्बन्धी विभिन्न उत्पादनहरू अवलोकन गर्न सकिनेछ।

कार्यक्रममा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको यस संस्था हाल ३६ सदस्य कम्पनीसम्म विस्तार भई नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा स्थापित भएको बताइन्। उनले संस्थाको ‘इम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी’ र ‘मोबिलिटी फर अल’ भन्ने दृष्टि र उद्देश्य एक्स्पोमा मात्र सीमित नभई रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा तथा समग्र आर्थिक विकाससँग जोडिएको उल्लेख गरिन्।

एक्स्पोमा आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै पार्किङ, राइड साझेदारी, क्यासब्याकसहितको टिकट सुविधा र अपाङ्गतामैत्री पूर्वाधारको व्यवस्था गरिनेछ। यसका साथै, सडक सुरक्षा, मोबिलिटी, प्रविधि, उपभोक्ता सचेतना, सीप विकास र भविष्यको यातायात प्रणालीका विषयमा विज्ञहरूबाट निःशुल्क सिकाइ सत्र (लर्निङ सेसन) समेत सञ्चालन गरिनेछ। नाइमाले एक्स्पोको टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप तथा तालिम कार्यक्रमका लागि छुट्याउने सकारात्मक घोषणा पनि गरेको छ।

यस वर्षको एक्स्पोमा ग्लोबल आईएमई बैंक सह-प्रायोजकको रूपमा रहेको छ भने रेड बुल नेपाल ‘पावर्ड बाई’ तथा बेभरेज पार्टनरका रूपमा आबद्ध छ। यसबाहेक विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि, चार्जिङ, राइड, टिकटिङ, स्वास्थ्य, सुरक्षा तथा कनेक्टिभिटी क्षेत्रका संस्थाहरूको पनि साझेदारी रहनेछ।

नाइमाले परिवार, विद्यार्थी, व्यवसायी, नीति निर्माता, सञ्चारकर्मी लगायत सम्पूर्ण सर्वसाधारणलाई सहभागी भई नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीको अनुभव लिन आह्वान गरेको छ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्