
मुस्ताङमा सशस्त्र प्रहरीद्वारा दुई सातादेखि नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीका ७७५ वटा चिनियाँ विद्युतीय सवारी साधन फुकुवा गरिएको छ । पैठारी प्रक्रियामा कैफियत भएको आशङ्कामा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि रोकिएका ती गाडीहरूमा कुनै खोट नभेटिएपछि आइतबार साँझदेखि छाडिएको हो ।
गत जेठको दोस्रो र तेस्रो साता कोरला नाका हुँदै नेपाल भित्रिएका ती गाडीहरू साइमन ईंकले खरिद गरेको थियो । जसमध्ये ६४९ गाडीको मुस्ताङ भन्सारले जाँचपास गरिसकेको थियो । आयातमा कैफियत रहेको आशङ्कापछि अर्थ मन्त्रालयले भन्सार विभागका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिको स्थलगत अनुगमन र प्रारम्भिक अनुसन्धानबाट गाडी आयातमा कुनै कैफियत नभेटिएको निष्कर्ष निकालिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका डीएसपी भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनपछि जोमसोम र कोरला नाकामा रोकिएका सबै गाडी सम्बन्धित पक्षको जिम्मा लगाइएको छ । यसअघि कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोममा २६६ र कोरला नाकामा ३९४ वटा विद्युतीय गाडी नियन्त्रणमा राखिएको थियो ।
फुकुवा भएसँगै भन्सार जाँचपास पूरा भएका गाडीहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् । जोमसोम बसपार्कमा रहेका २६६ मध्ये २२३ वटा गाडी गन्तव्यतर्फ गइसकेका छन् । कोरला नाकामा रहेका र भन्सार प्रक्रिया पूरा हुन बाँकी रहेका गाडीहरू पनि आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ लैजान कुनै समस्या नरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































