जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आजदेखि सिद्धार्थ बैंकको ऋणपत्र र समृद्धि फाइनान्सको २००% हकप्रद सेयरमा आवेदन खुला

आजदेखि सिद्धार्थ बैंकको ऋणपत्र र समृद्धि फाइनान्सको २००% हकप्रद सेयरमा आवेदन खुला

सिद्धार्थ बैंकले ऋणपत्र र समृद्धि फाइनान्सले २ सय प्रतिशत हकप्रद सेयर आजदेखि बिक्रीमा राखेका छन्। सिद्धार्थ बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र असोज १६ देखि २० गतेसम्म बिक्री गर्ने भएको छ।

उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा बैंकले असोज ३० गतेसम्म बिक्री गर्ने जनाएको छ। बैंकले प्रतिसेयर एक हजार रुपैयाँमा ८.५० प्रतिशत ब्याजदरमा सात वर्षे ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले निष्कासन गर्ने कुल कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ।

सर्वसाधारणका लागि निष्कासन गर्ने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकले ऋणपत्रको ब्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ। ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आइआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ।

बैंकको अधिकृत पुँजी १० अर्ब ५० करोड रहेको छ भने जारी पुँजी ९ अर्ब ७८ करोड ७७ लाख छ। चुक्ता पुँजी ९ अर्ब ७८ करोड ७७ लाख रहेको छ। बैंकको सेयर संरचना संस्थापक ५१ र सर्वसाधारण ४९ प्रतिशत छ । बैंकले यस अघि पनि ५ अर्ब १६ करोड २५ लाख बराबरको ऋणपत्र जारी गरिसकेको छ। बैंकले यस अघि ७.५० प्रतिशत ब्याजदरमा २०७८, १०.५० प्रतिशतमा २०८२ र १०.२५ प्रतिशत ब्याजदरमा २०८३ नामको ऋणपत्र जारी गरिसकेको छ।

बैंकले अब, २०८४ नामको ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले यसरी बिक्री गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जामा लगानी गर्न पाउनेछ। बैंकको संचालक समितिको संस्थापकमा मनोजकुमार केडिया अध्यक्ष छन्। नरेन्द्रकुमार अग्रवाल र वीरेन्द्रकुमार शाह सस्थापकतर्फबाट संचालकमा रहेका छन् भने सर्वसाधारणबाट दीनेशशंकर पालिखे, राजेशकुमार केडिया संचालकमा रहेका छन्। स्वतन्त्र संचालकमा हसना शर्मा रहेकी छन् ।

समृद्धि फाइनान्सको ३६ लाख ३९ हजार कित्ता

आजदेखि समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई सय प्रतिशत ( १ः२) को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सयको आधारमा हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै निष्कासन गर्न लागेको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३६ करोड ३९ लाख ६० हजार ६ सय रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गर्नेछ। कम्पनीको उक्त हकप्रदका लागि इच्छुक खरिदकर्ताले कात्तिक ६ गतेसम्म आवेदन दिन सकिन्छ। हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ मा बुक क्लोजको मिति तय गरेको थियो।

यसअनुसार भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड छ। यसका साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदकले आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरलाई इक्रा नेपालले इक्राएनपि आइपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ। ग्रेड ५ रेटिङले फाइनान्सको वित्तीय आधारभूत अवस्था कमजोर रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३ सय रुपैयाँ छ।

हकप्रद निष्कासनपछि सो पुँजी ५४ करोड ५९ लाख ४० हजार ९ सय रुपैयाँ पुग्नेछ। कम्पनीमा ५९.३७ प्रतिशत हिस्सा संस्थापकको सेयर छ भने ४०.६३ प्रतिशत हिस्सा सर्वसाधारणको छ।

प्रबन्धपत्र र नियमावलीमा संस्थाको पुँजी संरचना संस्थापकतर्फ ६० र सर्वसाधारण ४० प्रतिशत छ । तर कम्पनीले विगतमा बाँडेको बोनस सेयरबाट पुँजी वृद्धि हुँदै गएकाले तोकेको सेयर संरचना बिग्रन गएको जनाएको छ। कम्पनीको गत साउन १८ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको सेयर संरचनालाई पारित गरी प्रबन्धपत्र र नियमावलीमा पनि तदअनुसार संशोधन गरी मिलान गर्ने निर्णय गरेको छ।

11555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका