जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एकै दिन सवा १३ अर्बको सेयर किनबेच

एकै दिन सवा १३ अर्बको सेयर किनबेच

सोमबार सेयर बजारमा कारोबार सूचक (नेप्से) विन्दु र कारोबार रकम दुवैमा नयाँ रेकर्ड बनेको छ।

बजार बन्दा हुँदा नेप्से सूचक सामान्य अंकले बढेपनि  यसले २८२३ को उच्च विन्दुको नयाँ रेकर्ड बनाएको छ। त्यस्तै, आज सवा १३ अर्ब रुपैयाँको सेयर किनबेच भएसँगै कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ।

यसअघिको ११ अर्ब ५५ करोड रुपैयाँको रेकर्ड एक हप्तामै तोडेर सोमबार सवा १३ अर्ब रुपैयाँको सेयर किनबेच भएको हो।

संसद विघटन र निर्वाचनको घोषणापछि सेयर बजारमा कारोबार रकममा भारी वृद्धि भएको छ। लगानीका अन्य क्षेत्र संकुचन भएको बेला खासगरी बैंक तथा वित्तीय संस्था लगायतका संस्थागत लगानीकर्ताको सक्रिय प्रवेश सेयर बजारमा भएका कारण पनि अहिले कारोबार रकम र सूचक दुवैमा नयाँ रेकर्ड बनेको हो।

सोमबार काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने निर्णय समेत भएको छ। यसले पनि सेयर बजारलाई थप प्रभावित बनाएको लगानीकर्ताको बुझाइ छ।

बैंक ब्याजदर निरन्तर घटिरहेको र नेप्सेमा सूचीकृत कम्पनीको लाभांस क्षमता बढिरहेको भन्दै लगानीकर्ताहरु सेयर बजारमा थप आकर्षित भएका हुन्।

सोमबार बरुण हाइड्रोपावर, युनाइटेड इदिमार्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सको सेयर मूल्य ४/४ प्रतिशतले घटेको छ।

जलविद्युत लगानी तथा विकास कम्पनीको आज सर्वाधिक एक अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, नेको इन्स्योरेन्सको ३७ करोड, पुनर्बिमा कम्पनीको २८ करोड, आइएमई जनरल इन्स्योरन्सको २५ करोड र सिभिल बैंक र सूर्या लाइफ इन्स्योरेन्सको समान २५/२५ करोड रुपैयाँ हाराहारीको सेयर किनबेच भएको छ।

सोमबार कुल २१६ कम्पनीको दुई करोड ७२ लाख कित्ता सेयर एक लाख ३७ हजार पटक किनबेच भए। यस क्रममा १० कम्पनीको मूल्य स्थिर रहँदा ६८ कम्पनीको मूल्य बढेको छ बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

9575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका