
आजबाट काठमाडौं महानगरभित्रका विभिन्न चौपाया बजारमा आजबाट महानगरपालिकाले अनुगमन सुरु गरेको छ। दसैं लक्षित चौपाया बजारमा बिक्रीका लागि राखिने खसी, बोका, भेडा, च्याङ्ग्रा लगायतको अनुगमनका साथै परीक्षण पनि सुरु भएको महानगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।
काठमाडौं महानगरपालिकाले संघीय सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो।
अनुगमन टोलीमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटा लगायत रहेका छन्। उनीहरुले बिक्रीमा राखिएका चौपाया रोगी वा निरोगी के छन् भन्ने परीक्षण गरेर स्वस्थ चौपायाको सिंगमा हरियो रंग लगाइने बताएका छन्। सोही अनुसार अनुगमन टोलीले पहिलो दिन कलंकी खसी बजारमा अनुगमन गरेको छ।
कलंकी चौपाया बजार उपत्यकाकै सबैभन्दा ठूलो पशु बजार भएकाले यहाँ व्यवस्थित गरेपछि अन्य ठाउँमा जाने चौपाया निरोगी हुने महानगरको वडा नम्बर १४ की वडाध्यक्ष शोभा सापकोटाले बताइन्। ‘संघको सहयोगमा हामीले यहाँका धेरैजसो व्यापारीहरुको व्यवसाय दर्ता गराएका छौं, यसैले दर्तावाला व्यापारीबाट ठगी हुने सम्भावना कम हुन्छ,’ उनले भनिन्।
पशु सेवा विभागकी महानिर्देशक डा. श्रेष्ठ भन्छिन्, ‘हामी पशुजन्य उत्पादन स्वस्थ र यसको बजार सहज होस् भन्ने चाहन्छौं। यसका लागि कामहरु नियमित गरिरहेका छौं। दशैंमा धेरै मासु खपत हुने भएकाले अहिले विशेष समूह बनाएर बजार अनुगमनमा निस्कन थालेका हौं।’
अनुगमनमा पहिले खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरिने महानगरको पशु सेवा महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. अवदेश झाले बताए । यदि मासु खानयोग्य देखियो भने सिङमा हरियो रंग र बिरामी वा खान अयोग्य भेटियो भने सिङमा रातो रंग लगाइने उनले जानकारी दिए। आवश्यकताका आधारमा यसरी बिरामी भेटिएका चौपाया बिक्री गर्न नदिइनुका साथै त्यस्ता चौपायाको नमूना संकलन गरेर परीक्षण समेत हुने पनि उनले बताए।
महानगरभित्रका दशैं लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र लगायतमा रहेका छन्। यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर दुईवटा टोली नियमित परिचालन हुने महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमले बताए ।
काठमाडौं महानगरसँगै ललितपुरको लगनखेल मच्छिन्द्र मावि पछाडि, भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीको थानकोट दाउरा डिपो लगायतका चौपाया बजारमा पनि परीक्षण हुने बमको भनाइ छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































