जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको एक शाखा एक एटीएम, सञ्चालन गर्दै एकैपटक ५० वटा मेसिन

राष्ट्रिय वाणिज्य बैंकको एक शाखा एक एटीएम, सञ्चालन गर्दै एकैपटक ५० वटा मेसिन

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ५० वटा एटीएम मेसिन सञ्चालनमा ल्याउने भएको छ । बैंकले काठमाडौं उपत्यका र उपत्यकाबाहिरका शाखा कार्यालयमा ५० वटा एटीएम मेसिन सञ्चालनमा ल्याउने भएको हो ।

बैंकका अनुसार उक्त एटीएम मेसिन आपूर्ति तथा जडानका लागि २ वटा कम्पनी छनोट भएका छन् । बैंकका अनुसार ललितपुरको ज्वागलस्थित एलाइट सोलुसन प्रालि र काठमाडौंको गैरीधारास्थित एनसीएटी सिस्टम एण्ड सोलुसन प्रालिले एटीएम मेसिन आपूर्ति तथा जडानको जिम्मेवारी पाएका हुन् ।

एलाइट सोलुसनले ४० वटा (फ्रन्ट लोडिङ) मेसिन र एनसीएटी सिस्टम एण्ड सोलुसनले १० वटा एटीएम मेसिन (रियर लोडिङ) आपूर्तिको कार्य गर्नेछ । इलाइटले ७ करोड ३१ लाख २४ हजार ९६७ रुपैयाँमा ४० वटा मेसिन आपूर्ति तथा जडान गर्नेछ भने एनसीएटी सिस्टमले १ करोड ९२ लाख ४१ हजार ४८२ रुपैयाँमा १० वटा एटीएम जडान गर्नेछ ।

बैंकका अनुसार दुइटा कम्पनीले ३ वर्षसम्म सीएएमसीको कार्य समेत गर्नेछन् । बैंकका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार बैंकले ५० वटा मेसिन जडान गर्न लागेको जानकारी दिए । बैंकको एक शाखा एक एटीएम मेसिन रणनीति अनुरूप ५० वटा मेसिनका लागि २ वटा कम्पनी छनोट भएको उनले बताए ।

‘बैंकको एक शाखा एक एटीएम मेसिन रणनीति छ । बैंकको शाखा विस्तार अन्तर्गत ठाउँठाउँमा एटीएम मेसिन जडान गर्न लागिएको हो । यसबाहेक अन्य ठाउँमा पनि एटीएम मेसिन चाहिन्छन्,’ उनले भने, ‘एटीएम मेसिन दुर्गम देखि सुगम सम्म पुर्याउने रणनीति छ । त्यसबाहेक व्यवसाय हेरेर कुनै शाखामा २/४ वटा एटीएम मेसिन पनि दिनुपर्ने हुन सक्छ । जस्तो विशाल बजार शाखा मातहत ४/५ वटा छन् । केन्द्रीय कार्यालय अगाडि पनि ४ वटा छन् ।’

पछिल्लो समय विभिन्न सरकारी निकाय तथा कार्यालयबाट एटीएम मेसिनको माग बढिरहेको उनले बताए । सोही अनुसार बैंकले एटीएम मेसिनको संख्या पनि थपिरहेको उनको भनाइ छ ।

‘आवश्यकता अनुसार शाखा कार्यालयमा मेसिन सञ्चालन हुन्छ । यो बजेटमा नै छुट्याएको हो । माग अनुसार उपत्यका भित्र र बाहिर दुर्गमदेखि सुगम, पहाडदेखि तराईसम्म मेसिन जडान गरिनेछ,’ उनले भने ।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका