जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा कम्पनीहरु नवीनतम प्रविधिको प्रयोगका लागि सधै तयारी अवस्थामा रहनु पर्छ

बीमा कम्पनीहरु नवीनतम प्रविधिको प्रयोगका लागि सधै तयारी अवस्थामा रहनु पर्छ

मानव विकासको क्रममा पूर्वजले भनेका कुराको विश्वासको स्थानमा तर्क र प्रमाणको आवश्यकता महसुसको शुरुवात र जीविकाको लागी संघर्षवाट नै प्रविधिको क्रमिक उदय भएको हो । आजको युगमा प्रविधिले जीवन र जिविकाको सहज बनाउन उत्कृष्ट साधनको रुपमा भूमिका खेलेको छ । विगतका दशक भन्दा यस दशकमा भएको प्रविधिको गुणात्मक विकासले मानवको दैनिकी देखि राज्य र महाशक्ति देशहरुको आयतन समेतमा ठूलो उलटफेर र उपलब्धि हाँसिल भएको अवस्था छ । प्रविधिको प्रयोगले परम्परागत रुपमा गरिदै आएको काम र उत्पादनहरुको गुणस्तर, समय, मात्रा लगायत धेरै क्षेत्रमा उल्लेख्य रुपमा प्रगति भयो । प्रविधिको ज्ञान र क्षमतामा उल्लेख्य सुधार भएको कारणले आजको विश्व विकास र समृद्धिको हिसावले उन्नत र भव्य छ । प्रविधिमा मेकानिकल, इलेक्ट्रिकल, इन्डस्ट्रियल, मेडिकल, संचार सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा विश्वभरि भएको विकास र प्रयोगमा नेपालको अवस्था न्यून स्थानमा रहेको छ । प्रविधिको सहजता तथा सो को विश्वव्यापी  हिसावले कुनै पनि प्राविधिक विषय आजको संसारमा नयाँ र उपलव्ध हुन नसक्ने अवस्था छैन ।

प्रविधिको ज्ञान र क्षमताको हिसावले नेपाल पछि रहे संगै बीमा क्षेत्र झनै पछि रहेको छ । बीमा बजारले उपयोग गर्न सक्ने प्रविधिका विभिन्न क्षेत्रहरु रहेतापनि मुख्यतया संचार र सूचना प्रविधिको प्रयोगवाट यसलाई अझ व्यापक, स्तरीय, उत्कृष्ट र विश्वासनीय बनाउन सकिन्छ । नेपालको बीमा क्षेत्रमा प्रविधि र दक्ष जनशक्तिको अधिकतम प्रयोगद्धारा बीमाको विकास गर्नुपर्ने समयको आवश्यकता हो । यस सम्बन्धमा मुख्यतया संचार र सूचनाको डिजिटल प्रविधीको प्रयोगवाट बीमा क्षेत्रलाई गर्न सकिने योगदानको बारेमा चर्चा गर्ने छौं ।

बीमा योजना तयार गर्दा प्रविधिको प्रयोगः

कम्पनीले ग्राहकको लागि आवश्यक र उपयुक्त बीमा योजनाको पहिचान र छनौट गर्नको लागि धेरै पक्ष र ग्राहकहरुलाई समेटेर अनुसन्धान गर्नुपर्ने हुन्छ । तब मात्र ग्राहकहरुको क्षमता, आवश्यकता तथा उपयोगिता अनुसारको प्रोडक्ट कम्पनीले तयार गर्न सफल हुन्छ । यसरी अनुसन्धान गरेर बीमा योजना तयार गर्ने प्रचलन नेपालमा खासै पाईदैन । यसका लागि धेरै खर्च, समय र जनशक्ति लाग्ने हुन्छ । यही कारणले धेरै कम्पनीहरुले देश तथा विदेशमा प्रचलनमा रहेका बीमा योजनाहरु जस्तै समान योजनाहरु प्रचलनमा ल्याउने गरेको पाइन्छ । अनुसन्धानको लागि प्राप्त हुनुपर्ने बीमा क्षेत्रको विगतको अनुभवको बीमा योजना अनुसारको डाटा तथा सोको विस्तृत सूचनाको सहजता सगैं प्रविधिको प्रयोग गर्न सके मात्र खर्च, समय र जनशक्ति बचत हुने र ग्राहकको आवश्यकता अनुसार बीमा योजना वनाउन सकिन्छ । यसको साथै नविनतम प्रविधिको प्रयोग गरेर स्तरीय तथा विश्वसनीय व्यवसायीक अनुसन्धान गर्ने संस्थाहरुको समेत अभाव छ । बीमा योजना तयार गर्दा सूचनाको विशिष्टिकृत विवरणको अभावमा धेरै आधारहरुमा फरक पर्ने हुन्छ । जनसंख्याको उमेर समूह, लिंग, स्थान विषेश, जन्म र मृत्युदर, जीवनको व्यवहार, प्राकृतिक प्रकोप, अस्पताल, स्वास्थ्य र उपचारको अवस्था इत्यादिको समग्र देशको र बीमा क्षेत्र विषेशको तथ्याङ्क समेतको Experience Study गर्न प्रविधिको प्रयोगमा मात्र सम्भव हुन्छ । यस प्रकारको अध्ययन नहुदा बीमा योजनाको विशिष्टिकृत सुरक्षणको शर्त र बीमा शुल्क दर निर्धारणमा बैज्ञानिक र वास्तविक आधारको मान्यतामा फरक पर्दछ ।

मानव संसाधनको छनौट तथा विकासमा प्रविधिः

बीमा कम्पनीहरुको चुनौतीहरु मध्येको महत्वपुर्ण पक्षका रुपमा मानव संसाधनको छनौट, नियुक्ती, क्षमता अभिवृद्धि र तालिम तथा अवधारणा  रहेको छ । यो सबै प्र्रकृयामा धेरै जसो कम्पनीहरुले परम्परागत प्रकृयालाई अपनाएको पाईन्छ । प्रविधिको प्रयोग गर्न सके मात्र मानव पूँजीको विकास र अधिकतम उपयोग हुन सक्छ । सूचना प्रविधिको मद्धतले कर्मचारी छनौट, Suitability Analysis र नियुक्ति लागि मानव संसाधनको केन्द्रीकृत तथ्याङ्क आवश्यक छ । यसै गरी विकसित देशमा JOB Aggregator ले राम्रो भूमिका खेलेको पाईन्छ । कुन कर्मचारीलाई के विषय र क्षमता अभिवृद्धि र तालिमको आवश्यकता छ इत्यादिको लागि Human Resource information system को प्रयोग मार्फत Gap analysis गर्ने, व्यवस्थापन तथा परिचालनको लागी प्रविधिमा आधारित Mobility management System, कामको प्रगती, अनुगमान, र कार्य मूल्यांकनका लागि Performance and Monitoring Tools, मानव साधनको वृद्धि विकास र स्तरोन्नतीका लागि e-liabrary & Distance learning, समयमा पारिश्रमिक भुक्तानी र सो को कम्पनीमा पर्ने भारको भावी योजनाको लागि Pay Roll management system, कम्पनीको समग्र मानव संसाधनको मूल्यांकन, अवधारण र सुधारको लागि Exit interview & Feedback Tool इत्यादिको प्रयोग गर्नु उपयुक्त हन्छ ।

बीमाको सचेतनामा (Awareness) प्रविधिः

बीमाको सचेतनाको स्तर नेपालमा निकै कम रहेको र बीमाका ग्राहकले हाल खरिद गरेको बीमा योजनाको बारेमा समेत यथोचित मात्रामा जानकारीको कमी समेत रहेको अवस्थामा विभिन्न संचार प्रविधीको प्रयोग गरेर यसलाई विस्तार गर्नु पर्ने देखिन्छ । संचार प्रविधि तुलनात्मक रुपमा सस्तो र प्रभावकारी हुने हुँदा यी साधनहरु जस्तै इमेल, टेलिफोन, मोवाईल, विभिन्न सामाजिक संजालको प्रयोग, भिडियो तथा वेव कन्फेरेन्सिभ, र अधिक जनसम्पर्क (mass communication) को लागि टिभी, रेडियो, पत्रपत्रीका, अनलाइन मिडिया मार्फत बीमा सचेतनामा अभिवृद्धि गर्न सकिन्छ ।

बीमा बजारीकरण र वितरण प्रणालीमा प्रविधिः

बीमा बजारीकरण र वितरणमा प्रविधिको प्रयोग एकदमै कम भएको अवस्था छ । यसले गर्दा बीमाको अधिग्रहण (Acquisition) खर्च नेपालमा अधिक रहेको अवस्था छ । यस प्रकृयामा प्रविधिको प्रयोग गर्न सके बीमामा सम्वद्ध सवै पक्षलाई लाभ र बीमा लागत कम हुन्छ । बीमा बजारीकरण र बितरणको मेरुदण्डको रुपमा रहेका बीमा अभिकर्ताहरुलाई प्रविधी सम्वन्धि प्रशिक्षण, उपयुक्त साधन (Tool) प्रदान गर्न सके मात्र यो क्षेत्रको समग्र विकाश हुन सक्छ । यस क्षेत्रमा सुरुवाती चरणमा रहेको डिजिटल मार्केटिभ र नगन्य मात्रामा रहेको डिजिटल तथा अनलाइन विक्री तथा वितरण प्रणालीको विकास र प्रयोगमा हामी धेरै पछाडी छौं । बैंकाएस्युरेन्स अन्तरगत बैंकहरु मार्फत बीमा विक्री गर्दा समेत प्रविधिको भन्दा परम्परागत तरिकानै प्रयोग गरेको अवस्था छ । बीमा बजारीकरण र विक्रीमा प्रत्यक्ष डिजिटल मार्केटिभ, टेली मार्केटिभ प्रणाली, डिजिटल व्रोकरेज तथा वेव एग्रीगेटर (Web Aggregator) जस्ता प्रविधीहरुको प्रयोग छिमेकी देश भारतमा समेत व्यापक रहे तापनि यस प्रविधीको प्रयोगमा हामी निकै पछि रहेका छांै । हाल नेपालमा बजारीकरण गरिएको बीमाशुल्क Fix premium model हो जंहा, एकै प्रकृतिका समूहलाई समान दरमा बीमा शुल्क तोकिन्छ तर प्रविधिको विकास र अधिकतम प्रयोग भएका देशमा सो अन्तरगत पनि थप व्यक्तिगत विवरण र आवश्यकताको आधारमा Pay As you go model अपनाइएको पाइन्छ ।

बीमा जारी तथा ग्राहक सेवामा प्रविधिः

बीमाको बजारीकरण पश्चातको ग्राहक सेवामा प्रविधिको प्रयोगमा तुलनात्मक रुपमा अत्यन्तै कमजोर रहेको अवस्था छ । बीमा योजना छनौट, बीमा प्रस्ताव पेश, बीमा शुल्क भुक्तानी, बीमालेख प्राप्त गर्ने, नियमित ग्राहक सेवा सहित दाबी भुक्तानी प्रकृया सम्म डिजिटल प्रविधिको प्रयोग गरेर अधिकतम सेवा दिनु पर्ने समयको माग र आजको आबश्यकता हो । यी सेवाहरु प्रदान गर्न मोवाईल एपहरु तथा ग्राहक पोर्टलहरु लगायतका डिजिटल माध्यमहरु मार्फत उपलव्ध गराउन सकिन्छ । बीमा गर्ने सम्पत्तिको विवरण तथा भौतिक परीक्षण समेत गर्न र दाबीको भुक्तानी प्रकृयाको लागि क्षतिको आँकलन गर्न ड्रोन प्रविधीको प्रयोग विकसित देशमा व्यापक हुदैछ । समान किसिमका ग्रँहकका समस्या तथा जिज्ञासाहरुको लागि Chatbots जस्तो प्रविधिले हरसमय उत्तर दिन सकिन्छ । नवीनतम प्रविधिको प्रयोगले महिना लाग्ने दाबी भुक्तानी लगायतका ग्राहक सेवाहरु दिन र घण्टामा प्रदान गर्न सकिन्छ । कम्पनीहरु बीचको प्रतिस्पर्धा र ग्राहकको उत्कृष्ट सेवाको अपेक्षाले प्रविधिको विकास र प्रयोग एकमात्र विकल्प हो । ग्राहकले सवै सेवाहरु Real time आधारमा जहिले पनि जहाँ पनि पाउन चाहन्छन ।

सूचनाको अभिलेख र प्रशोधनमा प्रविधिः

ग्राहकको विवरण (Data) को अभिलेख, वितरण र व्यवस्थापनको लागि बीमा योजना र व्यवसायीक मोडलको अधिकतम उपयोग र परिचालन गर्न InsurTech प्रविधिको युगमा हामी छौं । बीमाको प्रोडक्ट तयार गर्दा देखी ग्राहकलाई प्रदान गरिने अन्तिम सेवा र सो कृयाकलापले कम्पनीमा परेको वित्तीय प्रभाव सम्मको विवरणको अभिलेख र प्रशोधनको लागि नविनतम डिजिटल प्रविधि आवश्यक पर्दछ । यसका लागि डाटा स्टोर गर्न सुरक्षित माध्यम, प्रोसेस गर्न उच्च क्षमताको सर्भर, डाटा सुरक्षाका उपकरणहरु र सोलाई प्रयोगकर्ताले सेवा लिन एप्लिकेशनहरुको माध्यमको प्रयोग गर्न सकिन्छ । संग्रहित डाटा र सो संग ग्राहकको भिन्न व्यवहारलाई व्यवसायीक प्रयोगको अधिकतम उपयोग गर्न Artificial Intelligence (AI) प्रविधिको आवश्यक हुन्छ ।

कम्पनीको वित्तिय विवरण र सुचकांकमा प्रविधिः

कम्पनीको वार्षिक वजेट तथा वित्तीय लक्ष्य अनुसार कम्पनीको प्रगतिको समयमै मापन गर्न सूचना प्रविधिको प्रयोग जरुरी हुन्छ । विभिन्न मान्यताहरु र वास्तविक उपलव्धीहरुको तुलनात्मक अध्ययन, बर्तमान र भविश्यको सम्पत्ती र दायित्वहरुको नियमित मूल्यांकन, बीमा जोखिमाड्ढन अवस्था, बीमा योजना तयारीको लागी विभिन्न मापनहरुको मोडलिभ, लगानीको उपलव्धी र भविश्यको  आंकलन,  कम्पनीको  आम्दानी  तथा  खर्चको  अवस्था  र  अनुमानका  साथै  समग्र  वित्तीय अवस्था र सूचकांकको मद्धतले समयमै निर्णय लिन सहयोग गर्दछ । प्रविधीको मद्धतले समयमा विभिन्न रिपोर्टको अध्यनले ढिलो निर्णयवाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न मद्धत पुग्छ ।

कम्पनीको रणनिती र भावी योजना तयारीमा प्रविधिः

कम्पनीले प्रविधीको मद्धतले कसरी विशिष्टिकृत (Business Scaling) व्यवसाय र सेवाको लक्ष्य हासिल गर्ने, पारदर्शी व्यवसाय संचालन गरि कम्पनीको मूल्य (Value) कसरी वृद्धि गर्ने, व्यवसायीक जोखिम र ग्राहकको व्यवहारको वारेमा भविष्यको सटिक अनुमान कसरी गर्ने र कम्पनीले प्रतिश्पर्धीहरु भन्दा राम्रो व्यवसायीक प्रगति कसरी गर्ने, जोखिमको अवस्थामा कम्पनीलाई कसरी सामान्य अवस्थामा सरह व्यवसाय (BCP Plan) संचालन गर्ने, जस्ता विभिन्न पक्ष र चुनौतीहरुको बारेमा भावी योजना र रणनीति बनाउन नसकेमा बजारमा स्थापित हुन मुस्किल पर्दछ । यसका लागि बजारमा उपलव्ध प्रविधि, कम्पनीले लगानी गर्न सक्ने क्षमता, प्रयोगकर्ताको दक्षता र धरातलीय अवस्था, बर्तमान कानुनी प्रावधानका साथै प्रतिश्पर्धी कम्पनीहरुको चाललाई समेत मध्यनगर गरि उपयुक्त प्रविधि प्रयोगको रणनीति वनाउनपर्दछ । विकसित देशमा प्रविधिको प्रयोगको अवस्थाको अध्ययन गरेर समेत रण्ँनीति र योजना बनाउन सकिन्छ ।

अन्तमा, अबको विश्व दिन प्रतिदिन नवीनतम प्रविधिको प्रयोग गरेर आवश्यक सबै सेवाहरु व्यक्तिले चाहेको समय र स्थानमा प्राप्त गर्न सक्ने गरि अगाडी वढेको छ भने प्रविधि कम्पनी र बीमा कम्पनीहरु पनि सो अनुसार तयारीमा रहनु पर्ने छ । एक्काइसौँ शताब्दीका उन्नत InsurTech प्रविधिहरु सहित Block Chain, Quantum Computing, 5G, Artificial Intelligence (AI), Machine Learning, Cyber Security इत्यादिको प्रयोगले समग्र विश्वको विकास र सेवा क्षेत्र अझै उत्कृष्ट हुने देखिन्छ । नेपालमा हामी अत्यन्तै शुरुवाती अवस्थामा रहेका छौँ । प्रविधिको प्रयोग गरेर बीमा क्षेत्रको एकिकृत तथ्यांकको संकलन गरी, कुन स्थान विशेषमा बीमाको पहँुचको अवस्था कस्तो छ, क्षेत्र र स्थान विशेष अनुसार जीवन र जिविकाको अवस्था, क्षतिको मात्रा, स्वास्थ्य र उपचार, जन्म र मृत्यु लगाएको डाटा संकलन र प्रशोधन तुरुन्त गर्न सके मात्रा बीमा क्षेत्रको आधार बलियो हुदै जान्छ । प्रविधिको अधिकतम प्रयोग, विस्तार र उपयोगले मात्र बीमाको पहुँच, सेवाको प्रत्याभुति र विश्वासमा वृद्धि गर्न सकिन्छ ।

(पौडेल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ।  यो लेख बीमा समितिको ५३ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित विशेषाङ्कबाट लिइएको हो ।)

6375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका