अटाे
बिहीबार सार्वजनिक हुन्डाईको भेन्यु फेसलिफ्टको मूल्य साढे सात लाख भारु मात्र, नेपालमा कति पर्ला?

हुन्डाईको नेपाली बजारमा लोकप्रिय मिड साइजको एसयूभी भेन्युको अपग्रेडेड भर्सन भारतमा सार्वजनिक भएको छ। हुन्डाई मोटर्सले बिहीबार नयाँ हुन्डाई भेन्यु फेसलिफ्ट सार्वजनिक गरेको हो।
यो नयाँ भेन्युको फ्रन्ट लुक हुन्डाई टुसानसँग मिल्दोजुल्दो रहेको छ। गाडीको फ्रन्टमा नयाँ ग्रिल र नयाँ डिजाइन गरिएका हेडल्याम्पसँगै फग ल्याम्प र टर्न सिग्नल इन्डिकेटर पनि रहेको छ।
कम्पनीका अनुसार नयाँ भेन्यु फेसलिफ्ट धेरै परिवर्तनका साथ पेश गरिएको छ। तर यसको एक्सटेरियर र इन्टेरियर डिजाइन भने पहिलेकै हुनेछ। यसबाहेक भने यो गाडीमा अन्य धेरै नयाँ फिचरहरु थपिएको पनि बताएको छ।
यो गाडी तीनवटा भेरियन्टमा छन्। जसमा १.२ लिटर पेट्रोल इन्जिनमा ८३ हर्स पावर, १.० लिटर टर्बो पेट्रोल इन्जिनमा १२० हर्स पावर र १.२ लिटर पेट्रोल इन्जिनमा १०० हर्स पावरकासाथ उपलब्ध रहेका छन्। तर पावरट्रेन संयोजनहरू फरक छन् किनभने यसको डिजेल भर्सनमा अझै पनि डिजेल-अटोमेटिक अप्सनमा आएको छैन।
यसको ई र एस भेरियन्टहरू १.२-लिटर पेट्रोल पावरट्रेनका साथ ५-स्पीड म्यानुअल ट्रान्समिसनमा छन्। फेसलिफ्ट गरिएको भेन्यूको एसएक्स भने १.२-लिटर पेट्रोल वा १.५-लिटर डिजेलमा मात्र म्यानुअल गियरबक्स विकल्पहरूमा उपलब्ध रहेका छन्।
यस्तै टप-स्पेक भेन्यू एसएक्स (ओ) भेरियन्टले आईएमटी ७-स्पीड डीसीटी गियरबक्स दुवैको साथ १.० टर्बो-पेट्रोल इन्जिनमा छ। यो १.५ डिजेल इन्जिन ६-स्पीड म्यानुअल ट्रान्समिसनसँग मिल्छ। यो अपग्रेड गरिएका भेन्यूको उच्च भेरियन्टहरूमा अब ड्राइभ मोडहरू इको, नर्मल र स्पोर्टी तीनवटै उपलब्ध रहेका छन्।
यस्तै, कारमा ३६० डिग्री भ्यु क्यामेरा, इलेक्ट्रिक सनरुफ, एन्ड्रोइड अटो र एप्पल कारप्लेको कनेक्टिभिटीसहित १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वान टच डाउन ड्राइभर साइड पावर वीन्डोजस्ता फिचर छन्।
नयाँ भेन्युमा डुअल टोन एलोय ह्विल पनि छ। यसमा नयाँ स्प्लिट एलईडी टेलल्याम्पको साथ पछाडिको भागमा लक्जरियस एलिमेन्ट रहेको छ।
नयाँ हुन्डाई भेन्यु फेसलिफ्टमा सेफ्टीको लागि ६ एयरब्याग, एबीएससहित ईबीडी, रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध छन्। यस्तै, ८ स्पिकर भएको बोस साउन्ड सिस्टम रहेको छ। यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र कुल्ड ग्लोभबक्स फिचर पनि रहेको छ।
भेन्यु फेसलिफ्टमा केही उल्लेखनीय फिचर अपडेटहरूमा रिक्लाइनिङ रियर सिट, एयर प्युरिफायर, पछाडिका यात्रुहरूका लागि रियर एसी भेन्टको मुनि राखिएको डुअल यूएसबी सी पोर्ट, वायरलेस फोन चार्जर समावेश छन्। यसमा क्रेटाको जस्तै नयाँ फोर-स्पोक स्टेयरिङ ह्विल पनि रहेकाे छ।
भेन्यु फेस लिफ्टको मूल्य भारतीय बजारमा ७ लाख ५३ हजार भारु (१२ लाख ५ हजार रुपैयाँ) मात्र तोकिएको छ। नेपाल आइपुग्दा यो गाडीको मूल्य कति पर्छ भन्ने अहिलेसम्म अधिकृत बिक्रेता लक्ष्मी ह्युन्डाइले सार्वजनिक गरेको छैन।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































