बैंकिङ्ग
नबिलको दिगो बैंकिङ अभियानको एक वर्ष पूरा, वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाउँदै

नबिल बैंकले थालेको दिगो बैंकिङ अभियानको एक वर्ष पूरा भएको छ। यस अवसरमा बैंकले असार १५ बाट एक हप्तासम्म नबिल ग्रीन विक मनाउने जनाएको छ।
बैंकले २०७८ मा धान दिवस (असार १५) बाट ‘नबिल दिगो बैंकिङ’ अभियान सुरु गरेको थियो।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्द्धन र सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका अभियान सुरु गरेको बैंकले जनाएको छ। यो अभियान नेपाली बैंकिङ जगतमै नवील पहल भएको बैंकको दाबी छ।
बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम व्यक्तिलाई लक्षित गर्दै ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ गरी दुई किसिमका विशेष कर्जा योजना ल्याएको छ। बैंकले आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जाअन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करीब ६ हजार महिलाहरू रहेका बैंकले जनाकारी दिएको छ।
वातावरण र सामाजिक सरोकार र सम्बद्र्धनलाई महत्त्वका साथ अगाडि बढाउनु ‘नबिल दिगो बैंकिङ’को उद्देश्य रहेको बैंकले जनाएको छ।
सोही कारण बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बेला वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राख्दै ‘ईएसआरएम’ गाइडलाइनहरू अन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था गरेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
नबिल बैंकले सन् २०१८ देखि नै एक करोड रुपैयाँभन्दा बढी ऋण सुविधा लिने र कमर्शियल लिजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्समध्ये कुनै पनि सुविधा प्राप्त गर्ने ग्राहकहरूमा ‘इनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ सञ्चालन गरिरहेको जनाएको छ।
यस्तै, जलवायु परिवर्तनका मुद्दाहरुप्रति ऐक्यवद्धता जनाउँदै बैंकले २०२१ मा पीसीएएफको सदस्यता लिएको थियो। त्यससँगै बैंकले आफ्नो कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जन मापन गरेर रिपोर्ट गर्ने बैंकले जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































