जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • १० बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी

१० बीमा कम्पनीलाई प्राधिकरणको चेतावनी

नेपाल बीमा प्राधिकरणले १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । प्राधिकरणले समयमा नै विवरण उपलब्ध नगराएका तीनवटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटा कम्पनीलाई चेतावनी दिएको हो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिकाअनुसार समयमा नै वित्तीय विवरण नबुझाएका १० वटा कम्पनीहरुलाई पहिलो पटक सचेत गराइएको बताए ।

समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका तीनवटा कम्पनीमा गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, ६ निर्जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् ।

यस्तै, पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पनि आफ्नो कारोबारको चौमासिक विवरण समयमा नै बुझाउने गरेको छैन । यी कम्पनीहरुलाई पत्रमार्फत पहिलो पटक सचेत गराइएको उनको भनाइ छ ।

‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिकाअनुसार बीमा कम्पनीहरुले आफ्नो वित्तीय कारोबारको बारेमा चौमासिक रुपमा विवरण प्राधिकरण पेश गर्नुपर्ने व्यवस्था छ,’ लालले क्लिकमाण्डूसँग भने, ‘विवरण पेस गर्न ढिलाई गरेका कम्पनीहरुलाई समयमा नै गराउनु भनेर पहिलो चोटी सचेत गराइएको हो ।’

उनकाअनुसार शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिकाअनुसार बीमा कम्पनीहरुले आफुले गरेको कारोबारको सम्पूर्ण विवरणसहितको वित्तीय विवरण पेश गर्नुपर्ने व्यवस्था छ । यदि समयमा नै वित्तीय विवरण पेश नगरेमा बीमा कम्पनीहरुलाई १० लाखदेखि नगद जरिवाना गर्न सक्ने व्यवस्था समेत निर्देशिकामा गरिएको छ ।

विवरण पेश गर्न पुनः ढिलाई गरेमा यी कम्पनीहरुलाई नगद जरिवाना गरिने उनले बताए । ‘यसरी सचेत गराईएका कम्पनीहरुले वित्तीय विवरण पेश गर्न ढिलाई गरेमा नगद जरिवाना तिराईनेछ,’लालले भने,‘नगद जरिवान १० लाखदेखि शुरु हुन्छ ।’

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका