जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • फागुनमा बढ्यो राजस्व संकलन, समग्रमा अझै पुगेन लक्ष्यको ८० प्रतिशत

फागुनमा बढ्यो राजस्व संकलन, समग्रमा अझै पुगेन लक्ष्यको ८० प्रतिशत

लामो समयदेखि राजस्व संकलनमा कमजोर देखिदै आएको सरकार फागुन महिनामा भने केही सफल देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्मको स्थिति हेर्दा लक्ष्यको ८० प्रतिशत पनि राजस्व उठाउन भने सरकार असफल नै भएको तथ्यांकमा देखिएको छ ।

तर, फागुन महिनामा भने लक्ष्यको ८७.५४ प्रतिशत अर्थात २८ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा ३३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य सरकारको रहेको थियो ।

त्यसो त चालु आवको आठ महिना पुरा हुँदा २ खर्ब ८१ खर्ब ९९ करोड ३० लाख रुपैयाँ मात्र आन्तरिक राजस्वका रुपमा संकलन भएको छ । सरकारले यो बेला सम्म ३ खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन हुने आशा गरेको थियो ।

गत वर्षको भन्दा राजस्व लक्ष्य पनि बढी थियो । तर, संकलन भने निकै नै कम भएको देखिएको छ । गत वर्ष यो बेलासम्ममा अहिलको भन्दा लगभग ४ अर्बले बढी राजस्व संकलन भइसकेको थियो ।

आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्म आयकर शीर्षकबाट लक्ष्यको ७३.९८ प्रतिशत राजस्व संकलन भएको छ । विभागले यस अवधिमा एक खर्ब ५८ अर्ब २५ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा एक खर्ब १७ अर्ब ७ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, विभागले घरबहाल शीर्षकबाट २ अर्ब १४ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७८.८१ प्रतिशत हो ।

त्यसैगरी चालु आवको आठ महिनामा विभागले ब्याज शीर्षकबाट लक्ष्यको ८४.३६ प्रतिशत राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले २८ अर्ब २९ २६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २३ अर्ब ८६ करोड ८५ लाख रुपैयाँ संकलन गरेको हो ।

विभागका अनुसार फागुन मसान्तसम्म अन्तशुल्क शीर्षकबाट ६८ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ८३.३२ प्रतिशत हो । यस अवधिमा विभागले ८२ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

त्यस्तै, यस अवधिमा विभागले स्वास्थ्य शीर्षकबाट लक्ष्यको ९७.११ प्रतिशत राजस्व संकलन गरेको छ । फागुन मसान्तसम्म उक्त शीर्षकबाट ४ अर्ब ८५ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ४ अर्ब ७१ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका अनुसार चालु आवको आठ महिनामा शिक्षा शीर्षकमा लक्ष्यभन्दाबढी राजस्व संकलन भएकाे छ । विभागले फागुन मसान्तसम्म १ अर्ब ४२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ६ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको १०५.९६ प्रतिशत हो ।

फागुनमा देखियो राजस्व संकलनमा सुधार 
आन्तरिक राजस्व विभागका अनुसार गत माघ महिनाको तुलनामा फागुनमा राजस्व संकलनमा सुधार देखिएको हो । गत माघ महिनामा विभागले लक्ष्यको ७८.७५ प्रतिशत राजस्व संकलन गरेको थियो । तर, फागुनमा भने राजस्व संकलनमा सुधार देखिएको छ ।

फागुनमा विभागले ब्याज र शिक्षा शीर्षकमा लक्ष्य भन्दाबढी राजस्व संकलन गरेको छ । यस अवधिमा ब्याज शीर्षकबाट विभागले लक्ष्यको १२६.१७ प्रतिशत राजस्व संकलन गरेको छ । जबकी यस अवधिमा विभागले १ अर्ब १६ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक अर्ब ४६ करोड ७६ लाख रुपौयँ राजस्व संकलन गरेको हाे ।

त्यस्तै, विभागले चालु आवको फागुनमा शिक्षा शीर्षकमा १३ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १८ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको १३७.९ प्रतिशत हो ।

भन्सार राजस्व पनि अति निराशाजनक 
चालु आवको फागुन मसान्तसम्म भन्सार विभागको राजस्व संकलनको स्थिति पनि निराशाजनक देखिएको छ । यस अवधिमा विभागले लक्ष्यको ५७.९ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

विभागले फागुन मसान्तसम्म ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा २ खर्ब ५० अर्ब ६४ करोड रुपैयाँ मात्रै संकलन भएको छ । गत वर्षको तुलनाम २५ प्रतिशत कम राजस्व संकलन भएको छ । विभागले गत वर्षको फागुन मसान्तसम्म ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागका अनुसार चालु आवको फागुन महिनामा मात्रै लक्ष्यको ६४ प्रतिशत राजस्व संकलन भएको छ । यस अवधिमा विभागले ५९ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ३१ अर्ब ८१ करोड रुपैयाँ मात्रै संकलन गर्न भएको ।

1145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?