जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका गभर्नरसँग अर्थमन्त्रीको डेढ घण्टा छलफल

राष्ट्र बैंकका गभर्नरसँग अर्थमन्त्रीको डेढ घण्टा छलफल

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक अवस्था सुधारका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको साथ खोजेका छन्।

मंगलबार मन्त्रालय डाकेर उनले गभर्नरसँग करिब डेढ घण्टा छलफल गरेका छन्। अर्थतन्त्र खराब अवस्थामा रहेको, बजारको मनोविज्ञान कमजोर भएको सन्दर्भ उठान गर्दै अर्थमन्त्री महतले राष्ट्र बैंकसँग सहकार्य गरेर समस्याहरु समाधान गर्ने पक्षमा आफू रहेको बताएका छन्।

कांग्रेस सभापित शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदा गभर्नर अधिकारीसँग सम्बन्ध बिग्रिएको थियो।

अहिले पनि सरकारमा कांग्रेस र माओवादी नै छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा कांग्रेस प्रवक्तासमेत रहेका महत अर्थमन्त्री छन्।

सरकार र राष्ट्र बैंकको सम्बन्ध बिग्रिएका कारण पनि अर्थतन्त्रमा समस्या देखिएको विश्लेषण भइरहँदा डा. महतले एमालेको सरकारले नियुक्त गरेको गभर्नर अधिकारीसँग सम्बन्ध सुधार गर्न खोजेका हुन्।

अर्थमन्त्रीसँग छलफल गर्न गभर्नर अधिकारीसहित अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियम विभागका कार्यकारी निर्देशक रामु पौडेललगायत पुगेका थिए। अर्थ मन्त्रालयका तर्फबाट अर्थसचिव तोयम राय, राजस्व सचिव डा. रामप्रसाद घिमिरेलगायत थिए। छलफलका क्रममा अहिलेको आर्थिक अवस्थाका बारेमा लामो पावरपोइन्ट प्रेजेन्टेसन गरिएको थियो। राष्ट्र बैंकका तर्फबाट प्रकाशकुमार श्रेष्ठले वर्तमान आर्थिक अवस्थाका बारेमा प्रस्तुति दिएका थिए।

उनले अहिलेको तरलता, बाह्य क्षेत्र अवस्था, सार्वजनिक वित्त, ब्याजदर, अन्तर्राष्ट्रिय परिवेशलगायतका बारेमा छलफलमा जानकारी गराएका थिए।

अर्थमन्त्री महतले अर्थतन्त्र निकै खराब अवस्थामा रहेको, राजस्वले चालु खर्च पनि धान्न नसकेको अवस्थामा सुधारका लागि के गर्न सकिन्छ भनेर राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सोधेका थिए।

उनले अहिले उद्यमी व्यवसायीदेखि आमसर्वसाधारणसम्मको मनोबल उच्च पार्नुपर्ने अवस्था रहेको भन्दै गभर्नरसँग मिलेर काम गर्ने बताए। उनले राष्ट्र बैंकसँग नियमित छलफल र सहकार्य गरेर अगाडि बढ्ने बताए।

अर्थमन्त्रीले बैंक ऋणको ब्याजदर घटाउन के गर्न सकिन्छ भनेर पनि सोधेका थिए।

गभर्नर अधिकारीले बैंक ब्याजदर घट्दो क्रममा रहेको बताउँदै बाह्य क्षेत्रमा अब खासै समस्या आउँदैन भन्ने भएमा नीतिगत दरहरु पनि घटाउने बताए। गभर्नर अधिकारीले कुनै पनि विषयमा प्रतिबद्धता भने जनाएनन्।

अर्थमन्त्री महतले बढी चासो सहकारी क्षेत्र र लघुवित्तका बारेमा राखेका थिए। त्यहाँ ठूलो समस्या रहेको भन्दै त्यसको समाधान निकाल्न सँगै अगाडि बढ्नुपर्ने बताएका थिए।

कार्यभार सम्हालेलगत्तै निजी क्षेत्रका संगठन, बैंकर्स, सेयर लगानीकर्तासँग भेटेका अर्थमन्त्री महतले राजस्व चुहावट रोक्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए। सेयर बजार सुधारका लागि धितोपत्र बोर्डसँग पनि छलफल गरेका थिए।

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?