जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकमा ६ सञ्चालक नियुक्त, अर्थमन्त्री वाग्लेको नियुक्तिमा ‘स्वार्थको द्वन्द्व’ को प्रश्न

राष्ट्रिय वाणिज्य बैंकमा ६ सञ्चालक नियुक्त, अर्थमन्त्री वाग्लेको नियुक्तिमा ‘स्वार्थको द्वन्द्व’ को प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू मानार्थ अध्यक्ष (चेयरम्यान एमिरिट्स) रहेको संस्थाकी कर्मचारीलाई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका छन् । दुई महिनासम्म सञ्चालक समितिविहीन रहेको उक्त बैंकमा अर्थमन्त्री वाग्लेले हालै ६ जना नयाँ सञ्चालक नियुक्त गरेका हुन्, जसमा डा. आस्था भट्टसमेत परेकी छन् ।

डा. भट्ट सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) मा कार्यक्रम विशेषज्ञ (अर्थशास्त्र) का रुपमा कार्यरत कर्मचारी हुन् । दिल्ली स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी भट्ट सन् २०२२ देखि आईआईडीएसमा कार्यरत छिन् । अर्थमन्त्री बन्नुअघि डा. वाग्ले सोही संस्थाको अध्यक्ष थिए भने मन्त्री बन्न राजीनामा दिएपछि उनलाई संस्थाले चेयरम्यान एमिरिट्स बनाएको थियो । सार्वजनिक रूपमा मेरिटोक्रेसी (योग्यताका आधारमा नियुक्ति) र स्वार्थको द्वन्द्व रोक्न कानुन नै ल्याउने घोषणा गर्दै आएका मन्त्री वाग्लेले आफ्नै संस्थाकी कर्मचारीलाई बैंकको सञ्चालक बनाएपछि उच्च सरकारी अधिकारीहरूले यसलाई ‘स्वार्थको द्वन्द्व’ का रूपमा औंल्याएका छन् । अर्थ मन्त्रालयमातहत रहने पूर्ण सरकारी स्वामित्वको बैंकमा तालुक मन्त्रीकै संस्थाको कर्मचारी जाँदा संस्थाको हितभन्दा पनि मन्त्रीको स्वार्थअनुरुप काम हुन सक्ने जोखिम रहेको अधिकारीहरूको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले डा. भट्टका साथै बैंकको सञ्चालकमा डा. सुमन दाहाल, हुमबहादुर आले, घुरन ठाकुर, गंगाप्रसाद ज्ञवाली र लक्ष्मण ज्ञवालीलाई नियुक्त गरेका छन् । नवनियुक्त सञ्चालकमध्ये डा. दाहाल अर्थ मन्त्रालयका सहसचिव हुन् भने गंगाप्रसाद ज्ञवाली नेपाल बैंकका पूर्वअध्यक्ष हुन् । त्यसैगरी, ठाकुर कृषि विकास बैंकमा लामो समय काम गरेका र हाल कन्सल्टेन्सीमा सक्रिय पूर्वकर्मचारी हुन् । लक्ष्मण ज्ञवाली भने अघिल्लो सरकारले नै नियुक्त गरेका स्वतन्त्र सञ्चालक हुन्, जसलाई अहिले पनि निरन्तरता दिइएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका