जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ओरालोतिर टेलिकम व्यापार, ६ वर्षमा एनसेलको आम्दानी २२ अर्ब घट्दा एनटिसीको कति?   

ओरालोतिर टेलिकम व्यापार, ६ वर्षमा एनसेलको आम्दानी २२ अर्ब घट्दा एनटिसीको कति?   

निजी दूरसञ्चार कम्पनी एनसेल आजियाटाको आम्दानी ६ वर्षमा २२ अर्बले घटेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ देखि गत आर्थिक वर्ष २०७९/८० सम्म एनसेलको आम्दानीमा २२ अर्बको गिरावट आएको हो। त्यस्तै २०७४/७५ मा एनसेलको आम्दानी ५९ अर्ब ६९ करोड रुपैयाँ थियो।

त्यसपछि कम्पनीको आम्दानीमा निरन्तर गिरावट आएको छ। तथ्यांकअनुसार २०७५/७६ मा एनसेलको आम्दानी ५५ अर्ब २८ करोड, २०७६/७७ मा ४६ अर्ब ७७ करोड, २०७७/७८ मा ४० अर्ब २२ करोड, २०७८/७९ मा ३९ अर्ब ५१ करोड र २०७९/८० मा आउँदा ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको देखिन्छ।

नेपाल टेलिकमको आम्दानी पनि निरन्तर गिरावट

यस अवधिमा एनसेलको तुलनामा सरकारी स्वामित्वको नेपाल टेलिकम (एनटिसी) को आम्दानीमा भने निकै कम रकमको गिरावट देखिन्छ।

प्राधिकरणको तथ्यांकअनुसार २०७४/७५ मा टेलिकमको आम्दानी ३८ अर्ब ९९ करोड रुपैयाँ थियो। यसबाट घटेर २०७५/७६ मा ३६ अर्ब ८४ करोड र २०७६/७७ मा ३४ अर्ब ४४ करोड रुपैयाँ आम्दानी भएको देखिन्छ।

यसपछि बढेर टेलिकमको आम्दानी २०७७/७८ मा ३५ अर्ब ४९ करोड र २०७८/७९ मा ३७ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

टेलिकमले गत २०७९/८० को आम्दानी भने सार्वजनिक गरेको छैन जसको तथ्यांक आफूसँग पनि नभएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

दुवै कम्पनीको ग्राहक संख्या निरन्तर वृद्धि

यस अवधिमा ग्राहक संख्या भने एनसेल र टेलिकम दुवैको निरन्तर बढीरहेको छ। प्राधिकरणको तथ्यांकअनुसार २०७४/७५ मा एनसेल ग्राहक संख्या ६७ लाख १७ हजार थियो जुन २०७५/७६ मा भने घटेर ६६ लाख ६९ हजारमा सीमित भएको देखिन्छ। यसपछि भने एनसेलको ग्राहक संख्या निरन्तर उकालो लागेको छ।

त्यस्तै २०७६/७७ मा एनसेल ग्राहक ७४ लाख ४२ हजार, २०७७/७८ मा ८४ लाख ३२ हजार र २०७८/७९ मा ८८ लाख ८५ हजार पुगेको छ।

प्राधिकरणका अनुसार २०७४/७५ देखि २०७८/७९ सम्म आउँदा एनसेल ग्राहक संख्यामा ३२.२७ प्रतिशतको वृद्धि देखिन्छ।

यस्तै टेलिकम ग्राहक संख्या पनि निरन्तर वृद्धि भएको प्राधिकरण तथ्यांकमा छ। २०७४/७५ मा टेलिकम ग्राहक संख्या ९१ लाख ५७ हजार, २०७५/७६ मा १ करोड ६ लाख, २०७६/७७ मा १ करोड ३५ लाख, २०७७/७८ मा १ करोड ९२ लाख र २०७८/७९ मा १ करोड ९६ लाख रहेको तथ्यांकमा छ।

२०७४/७५ देखि २०७८/७९ सम्म आउँदा टेलिकम ग्राहक संख्यामा १ सय १४.०५ प्रतिशतले वृद्धि भएको छ।

९८ अर्बको दूरसञ्चार आम्दानी ७७ अर्बमा सीमित

समग्रमा २०७४/७५ मा दूरसञ्चार सेवा प्रदायकको आम्दानी ९८ अर्ब ६८ करोड थियो। जुन २०७८/७९ मा आउँदा ७७ अर्ब ५ करोडमा सीमित भएको छ।

हाल एनसेल र टेलिकम सञ्चालनमा छन् भने स्मार्ट टेलिकम र नेपाल स्याटलाइट टेलिकमको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ।

त्यस्तै सिजी कम्युनिकेसनले भ्वाइस सेवाको लाइसेन्स प्राप्त गर्न नसकेका कारण सेवा सञ्चालन नगरेको अवस्था छ।

केही महिना अघिसम्म सेवा सञ्चालन गरिरहेको स्मार्ट टेलिकमको भने लाइसेन्स नवीकरण नगरेको र बक्यौता नबुझाएका कारण अनुमतिपत्र खारेजीमा परिसकेको छ।

निरन्तर आम्दानी घटिरहेको विषयमा दूरसञ्चार कम्पनीहरूले इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) संख्या बढ्नु र इन्टरनेटमा उनीहरूको हिस्सा पनि वृद्धि हुँदै जानु, पिएसएल, ल्यान्डलाइन फोन सञ्चालनमा नआउनु र सेवा शुल्क घटाइरहनु तथा प्याकेज (अफर) ल्याइरहनु मुख्य कारण रहेको बताउने गरेका छन्।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका