आर्थिक विशेष
बैंकर्स संघले भन्यो- खराब कर्जा सीमाभित्रै छ, घाटा बेहोर्नुपर्ने अवस्था छैन, ब्याजदर घट्छ

नेपाल बैंकर्स संघले खराब कर्जाको अनुपात बढेपनि घाटा बेहोर्नुपर्ने अवस्था नरहेको बताएको छ। संघले सोमबार पत्रकार सम्मेलन गरी खराब कर्जा नियन्त्रण गर्न सकिने सीमाभित्रै रहेको बताएको छ।
संघका अध्यक्ष सुनील केसीले खराब कर्जाको अनुपात बढेपनि बैंकहरुले घाटा बेहोर्नुपर्ने अवस्था नरहेको बताए। उनका अनुसार खराब कर्जा ह्वात्तै बढेकाले अवस्था गम्भिर रहे पनि नियन्त्रण गर्न सकिने सीमाभित्रै छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६१ प्रतिशत पुगेको छ। खराब कर्जा असारसम्म २.९८ प्रतिशत थियो। अध्यक्ष केसीले बैंकरहरुलाई सजग भएर काम गर्न सुझाव दिए।
‘खराब कर्जा बढ्नु अर्थतन्त्र शिथिल हुँदाको नतिजा हो,’ उनले भने, ‘डराइ हाल्नुपर्ने स्थिति होइन। तर सजग भने हुनुपर्छ। म्यानेज गरेर लैजानुपर्ने चुनौती छ।’ उनका अनुसार दक्षिण एसियाली मुलुकका बैंकको तुलनामा नेपाली बैंकको खराब कर्जाको अनुपात धेरै होइन।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले खराब कर्जा अब नबढ्ने दाबी गरे। अर्थतन्त्रमा देखिएको दबाबले खराब कर्जा बढेको उनको भनाइ छ।
‘अर्थतन्त्रमा देखिएको स्ट्रेसले खराब कर्जा वृद्धि भयो। तर बैंकहरुले त्यसलाई व्यवस्थापन गर्न सक्छन्,’ राणाले भने, ‘जति बढ्नु पर्ने थियो, बढी सक्यो। अब बढ्दैन। व्यवस्थापन गरेर लैजान सकिन्छ।’ उनले तिहार पछि सरकारले गर्ने पुँजीगत खर्चले बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
कर्जा गुणस्तर खस्किएकाले उल्लेख्य रकम प्रोभिजनिङलाई छुट्याउँदा नाफामा असर परेको अध्यक्ष केसीको प्रष्टिकरण छ। पोहोरको तुलनामा प्रोभिजनिङ बापतको रकम बढेको छ। खराब कर्जा बढेकाले बैंकहरुले असोजसम्म १६ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङलाई छुट्याउनुपरेको छ।
यसबाहेक ब्याज आम्दानी र सेवा शुल्कको कमिसन घटेकाले पनि बैंकहरुको नाफा प्रभावित भएको हो।
वाणिज्य बैंकहरुको नाफा लामो अवधि पछि घटेको हो। गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नाफा यो वर्ष असोजसम्म १९ प्रतिशतले घटेको छ।
पोहोर तीन महिनामा १६ अर्ब ५५ करोड नाघेको खुद नाफा यसपालि साढे १३ अर्ब हाराहारीमा सीमित छ। वितरणयोग्य नाफामा ६३ प्रतिशतको गिरावट छ।
पछिल्लो समय बाह्य क्षेत्रमा निरन्तर सुधार हुँदा पनि आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा बैंकिङ क्षेत्रले वृद्धि हासिल गर्न नसकेको हो।
आर्थिक मन्दीका कारण लगानीकर्ताको मनोबल नै कमजोर भएकाले त्यसको असर बैंकको आम्दानीमा परेको केसीले बताए।अहिले कर्जाको माग ह्वात्तै घटेको छ। केसीका अनुसार कात्तिक १७ सम्म १२० अर्बले निक्षेप बढेपनि कर्जा त्यो अनुपातमा बढ्न सकेको छैन। पोहोर यो अवधिमा २२ अर्ब मात्रै निक्षेप थपिए पनि बैंकहरुले ४७ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेका थिए।
कर्जाको माग सुस्ताएकाले बैंकहरु ब्याजदर घटाउने तयारीमा छन्। हिमालयन बैंकका सीईओ राणाले ब्याजदर घट्ने स्थिति रहेको बताए।
असोजमा वाणिज्य बैंकहरुको आधार दर ९.९४ प्रतिशत छ। र पछिल्लो तीन महिनाको औसत आधार दर १०.०९ प्रतिशतमा झरेको छ। प्रिमियममा सीमा लागूका साथै स्प्रेड दर अझै घट्ने भएकाले ब्याजदर तल आउने बैंकरहरुको बुझाइ छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































