जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • एभरेष्टले स्ट्यान्डर्ड चार्टर्डलाई टप्यो, संघर्ष गर्दै एसबिआई

एभरेष्टले स्ट्यान्डर्ड चार्टर्डलाई टप्यो, संघर्ष गर्दै एसबिआई

स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा विदेशी स्वामित्व हावी छ । जसमध्ये स्ट्याण्डर्ड चार्टर्डमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाइ लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७०.२१ प्रतिशत, एभरेष्टमा भारतीय पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत र नेपाल एसबिआईमा स्टेट बैंक अफ इन्डियाको ५५ प्रतिशत सेयर लगानी रहेको छ ।

यी तीनै बैंकको व्यवस्थापकदेखि अध्यक्ष तथा सञ्चालक समेत विदेशी माउ बैंकले नै तोकेर पठाउने गरेको छ । तर, पछिल्लो समय एभरेष्ट बैंककाे नेतृत्व भने नेपालीले ने गरिरहेका छन् । सुदेश खालिङले प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी पाएपछि एभरेष्ट बैंकलाई अब्बल बनाएका छन् । यी तीन बैंक सेयर बजारमा लगानीकर्ताको रोजाइमा समेत पर्ने गरेका छन् । बैंकिङ समूहमा हेर्ने हो भने यी तीन बैंकको सेयर मूल्य पनि उच्च छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार स्ट्याण्डर्ड चार्टडको सेयर मूल्य प्रतिकित्ता ६८४ रुपैयाँ, एभरेष्टको ६७३ रुपैयाँ र नेपाल एसबिआईको ४१५ रुपैयाँ रहेको छ । विगतमा उच्च प्रतिफल वितरण गर्दै आएका यी तीन बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा कस्तो प्रगति गरेका छन् भनेर चासोका रूपमा हेरिएको छ ।

गत वर्ष सबैभन्दा धेरै वितरणयोग्य नाफा र लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ । यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ छ भने लाभांश क्षमता २९.८६ प्रतिशत छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड रुपैयाँ छ भने लाभांश क्षमता २६.५ प्रतिशत छ । नेपाल एसबिआईका भने वितरयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ र लाभांश क्षमता १०.७६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई एभरेष्टले २०.५३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत र नेपाल एसबिआईले १०.५५ प्रतिशत लाभांश वितरण गरेका थिए । त्यसैले यस पटक पनि यी तीनै बैंकले सेयरधनीलाई मख्ख बनाउने गरी लाभांश वितरण गर्न सक्छन् ।

विदेशी स्वामित्वका यी तीन बैंकमध्ये गत वर्ष सबैभन्दा धेरै एभरेष्ट बैंकले नाफा आर्जन गरेको छ । एभरेष्टले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब ३० करोड रुपैयाँ र नेपाल एसबिआईले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

एभरेष्टको नाफा अघिल्लो वर्षको तुलनामा १०.०७ प्रतिशत बढेको हो । अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै नेपाल एसबिआईको २.३५ प्रतिशत बढेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने ४.५१ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म खुद ब्याज आम्दानी सबैभन्दा धेरै एभरेष्ट बैंकले ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै एभरेष्टलाई पछ्याउँदै स्ट्याण्डर्ड चार्टर्डले ५ अर्ब १५ करोड रुपैयाँ र नेपाल एसबिआईले ५ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा एभरेष्टले ७ अर्ब ४१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्डले ५ अर्ब १५ करोड रुपैयाँ र नेपाल एसबिआईले ५ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

गत वर्ष बैंकिङ क्षेत्रमा सबैभन्दा कम खराब कर्जा एभरेष्टको छ । यस बैंकले खराब कर्जा ०.७१ प्रतिशतमा कायम राख्न सफल भएको छ । यस्तै नेपाल एसबिआईको २ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्डको २.१४ प्रतिशत खराब कर्जा पुगेको छ ।

लगानीकर्ताले बढी चासोका रूपमा हेर्ने सूचक प्रतिसेयर आम्दानी भने सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्डको ३५.०९ रुपैयाँ छ । एभरेष्टको ३१.४५ रुपैयाँ र नेपाल एसबिआईको १९.१८ रुपैयाँ रहेको तथ्याङ्कले देखाउँछ ।

वाणिज्य बैंकहरूमा सबैभन्दा कम चुक्ता पुँजी भएका बैंकका रूपमा यी तीनै बैंक पर्छन् । गत असारसम्मको तथ्याङ्क अनुसार स्ट्याण्डर्ड चार्टर्डको ९ अर्ब ४२ करोड रुपैयाँ, एभरेष्टको ११ अर्ब ७६ करोड रुपैयाँ र नेपाल एसबिआईको १० अर्ब ५० करोड रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको छ । तर, जगेडा कोषमा भने उल्लेख्य रकम सञ्चित गरेका छन् । स्ट्याण्डर्ड चार्टर्डको जगेडा कोषमा ८ अर्ब ६३ करोड रुपैयाँ, एभरेष्टको १२ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआईको ७ अर्ब ८५ करोड रुपैयाँ जगेडा कोषमा जम्मा गरेको छ ।

गत असारसम्म स्ट्याण्डर्ड चार्टर्डले १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै एभरेष्टले २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने नेपाल एसबिआईले १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका