जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको ८१% रकम मुद्दती निक्षेपमा

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको ८१% रकम मुद्दती निक्षेपमा

नेपालमा दुई पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म विभिन्न क्षेत्रमा साढे ३८अर्ब रुपैयाँ लगानी गरेका छन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले गत आवमा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, सरकारको बचतपत्र तथा ऋणपत्र, अग्राधिकार सेयर, बण्ड तथा डिबेञ्चर, इन्भेष्टमेन्ट कम्पनीको सेयर, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर र म्युचुअल फण्डहरुमा ३८ अर्ब ५६ करोड ४८लाख रुपैयाँ लगानी गरेका छन् ।  

पुनर्बीमा कम्पनीहरुले गरेको यो लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा २८.६५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा हिमालयन र नेपाल रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा २९ अर्ब ९७ करोड ६१ लाख रुपैयाँ लगानी गरेका थिए ।  

गत आवमा नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड ७० लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सले १७ अर्ब ७७ करोड ७८लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । अघिल्लो आवको तुलनामा नेपाल रि इन्स्योरेन्सले जम्मा २.७६ प्रतिशतले मात्रै लगानी बढाएको छ भने हिमालयन रि इन्स्योरेन्सले ८२.३८ प्रतिशतले लगानी बृद्धि गरेको छ ।  

दुई पुनर्बीमा कम्पनीले सर्वाधिक बैंकहरुको मुद्दती निक्षेपमा नै लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै हिमालयन र नेपाल रि इन्स्योरेन्सले कुल ३१ अर्ब २५ करोड ६० लाख रुपैयाँ लगानी गरेका छन् । जसमा नेपाल रि ले १७अर्ब ५१ करोड रुपैयाँ र हिमालयन रि ले १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेको छ ।  

यो लगानी कुल लगानी रकमको ८१.०४ प्रतिशत रकम हो । नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले कुल लगानीको ८० प्रतिशतभन्दा बढी रकम बैंकहरुको मुद्दती निक्षेपमा राखेका छन् । दुई पुनर्बीमा कम्पनीको आधाभन्दा बढी रकम बैंकहरुमा निक्षेपको रुपमा थुप्रिएको छ । नेपाल बीमा प्राधिकरणले बीमकहरुको लगानी विविधिकरणमा जोड दिएपनि बीमा कम्पनीहरुले अन्य क्षेत्रको लगानी खासै बढाउन सकेका छैनन् ।  

मुद्दती निक्षेपमा पैसा राख्दा बैंकबाट केही प्रतिशत भएपनि ब्याज आम्दानी हुने निश्चित भएकाले बीमा कम्पनीहरु मुद्दती निक्षेपमै लगानी गर्न सुरक्षित ठान्छन् । अन्य क्षेत्रमा लगानी गर्दा जोखिम हुन सक्ने र रिटर्न पाउने नपाउने कुनै निश्चित नहुने भएकाले बीमा कम्पनीहरु अन्य क्षेत्रमा लगानी बढाउन सकिरहेका छैनन् ।  

त्यस्तै, दुई पुनर्बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेञ्चर र ऋणपत्रमा ३ अर्ब ५ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् ।  

यसका साथै सरकारको बचतपत्र र ऋणपत्रमा ३० करोड, अन्यलगानी ३० करोड, सूचीकृत नभएको अन्य पब्लिक कम्पनीको सेयरमा ५० करोड ७२ लाख, अन्य संस्थापक सेयरमा ९७ करोड ६६ लाख, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा ९० करोड, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १ अर्ब १७ करोड ५४ लाख रुपैयाँ नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा ९ करोड ९ लाख रुपैयाँ लगानी गरेका छन् ।  

सेयर बजारमा ९१.३७ प्रतिशत बढ्यो लगानी

पुनर्बीमा कम्पनीहरुले सेयर बजारमा गरेको लगानी ९१.३७ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा दुई पुनर्बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा १ अर्ब १७ करोड ५४ लाख रुपैयाँ लगानी गरेका छन् । अघिल्लो आवमा पुनर्बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा ६१ करोड ४२ लाख रुपैयाँ लगानी गरेका थिए ।  

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा नेपाल रि को सेयरबजारमा लगानी घटेको देखिएको छ भने हिमालयन रि को भने उल्लेख्य बढेको देखिएको छ ।  

गत आर्थिक वर्षमा हिमालयन रि ले मात्रै सेयर बजारमा १ अर्ब ८ करोड ७लाख रुपैयाँ लगानी गरेको छ भने नेपाल रि ले जम्मा ९ करोड ४७ लाख रुपैयाँमात्रै लगानी गरेको छ ।  

अघिल्लो आर्थिक वर्षमा हिमालयन रि इन्स्योरेन्सले सेयरबजारमा जम्मा २ करोड ५३ लाख रुपैयाँ लगानी गरेको थियो भने नेपाल पुनर्बीमा कम्पनीले ५८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो । यस हिसाबमा हिमालयन रि इन्स्योरेन्सको सेयरबजारमा लगानी ४१७१.५४ प्रतिशलते बृद्धि भएको छ भने नेपाल रि इन्स्योरेन्सको ८३.९२ प्रतिशतले घटेको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । गत आर्थिक वर्षमा हिमालयन रि र नेपाल रि इन्स्योरेन्सले जम्मा ३.०४ प्रतिशत रकममात्रै सेयर बजारमा लगानी गरेको छ ।  

पुनर्बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्दा सम्बन्धित कम्पनीको कायम चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । प्राधिकरणले लगानीको सिमा बढाएपछि हिमालयन रि इन्स्योरेन्सले यस्तो क्षेत्रमा उल्लेख्य लगानीको दायरा बढाएको छ ।

210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका