जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सहकारी मात्रै होइन बैंक पनि समस्यामा पर्न सक्ने देखिदैँछः गभर्नर

सहकारी मात्रै होइन बैंक पनि समस्यामा पर्न सक्ने देखिदैँछः गभर्नर

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी संस्थाहरुमात्रै नभएर बैंकहरु पनि समस्यामा पर्न सक्ने बताएका छन् । शुक्रबार उनले सहकारी मात्रै नभई यस्तै अवस्था रहने हो भने कुनै पनि बैंक समस्यामा पर्न सक्नेतर्फ ध्यानाकर्षण गराएका हुन् ।  

उनले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरूमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताए । संघीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा त्यस्ता व्यक्तिले कसुर गरेको ठहर्ने गरी व्यवस्था राख्न जरुरी रहेको औँल्याए । 

उनले भने, “एक जना व्यक्तिका पछाडि लाखौँ फलोअर्स छन् । त्यो व्यक्तिले यो बैंक डुब्दै छ, यो बैंक सुरक्षित छ, जस्ता कुरा गरेर बैंकको पैसा नतिरौँ मिनाहा गरिदिन्छु भनेर आह्वान गर्ने र उसका १० हजार फलोअर्सले मात्रै केही समय पैसा तिरिदिएनन् वा बैंकमा लाइन लागे भने बैंकिङ प्रणाली नै कोल्याप्स हुने अवस्था रहेको छ ।”

गभर्नर अधिकारीले उदाहरण दिँदै अहिले नेपालको बैकिङ प्रणालीमा त्यस्तै समस्या परिरहेको पनि बताए । उनले भने, “केही व्यक्तिले यस्तै काम गरिदिँदा गत एक/डेढ वर्षदेखि एक त रिकभरी समस्या भइरहेको छ, कसैले २० लाखसम्म नतिरे हुन्छ भनिरहेका छन्, कसैले पाँच लाख नतिरे हुन्छ भनेर नेतृत्व गरेर हिँडिरहेका छन् । उनीहरूलाई हामीले केही गर्न सक्दैनौँ किनकि हाम्रो वातावरण यस्तै छ । अर्कोतर्फ तिरेनौँ भने हामीले थप लोन किन दिने फेरि फस्ला भनेर बैंक डराइरहेका छन् । यसबारे गम्भीर रूपमा समितिमा छलफल हुन जरुरी छ ।”

उनले बैंकिङ प्रणाली फेल भयो भने एउटा बैंक मात्रै नभई समग्र प्रणालीमा असर गर्ने हुँदा त्यस्ता प्रचारप्रसार माथि कसुर तोकिनुपर्ने सुझाव दिए । चेक अनादरले पब्लिकको डिपोजिटलाई दुरुपयोग हुने वित्तीय दायित्वलाई खलल पार्ने र समग्र आर्थिक प्रणालीलाई नै असर पार्ने हुँदा यसलाई कसुर मानिनुपर्छ भनेर यो ऐन २०६४ सालमा सुरु भएको जानकारी दिँदै अब चेक अनादर आफैँमा लेनदेन र देवानीको विषय हो वा सरकारवादी फौजदारी विषय हो भनेर समितिमा गम्भीर छलफल गर्न जरुरी रहेको उनको सुझाव छ । 

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?