अवैधानिक रूपमा जबर्जस्ती कर्जा स्वीकृत गर्ने अध्यक्ष केबी उप्रेती र सञ्चालक समिति तथा त्यसलाई रोक्न नसक्ने व्यवस्थापनका कारण सहकारी क्षेत्रको एउटा मात्रै बैंक ‘राष्ट्रिय सहकारी बैंक’ समस्यामा परेको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन समेत रहेको यो संस्थाले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७५ करोड नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । सञ्चालक समितिले अधिकार दुरुपयोग गरी आफ्नै र आफ्ना नजिकका समस्याग्रस्त सहकारीमा कर्जा प्रवाह गर्दा संस्थाको उच्च व्यवस्थापनले त्यसलाई रोक्न नसकेको देखिन्छ ।
बैंकमा न्यूनतम ११ प्रतिशत पूँजी पर्याप्तता अनुपात हुनुपर्ने व्यवस्था छ । तर, गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको सहकारी बैंकको पूँजीकोष अनुपात ५ प्रतिशतमा झरेको छ । २ अर्ब ७८ करोड ९२ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको सञ्चित नोक्सानी नै २ अर्ब ८३ करोड ५३ लाख ९ हजार रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रहेको केन्द्रीय बैंकले जनाएको छ । सहकारी संस्थाबाट ६१ अर्ब ७ करोड ७९ लाख निक्षेप संकलन गरेको बैंकले गत आवमा सहकारी संस्थालाई २२ अर्ब ९ करोड ५७ लाख कर्जा लगानी गरेको जनाएको छ ।
असार २०८० मा त्यस्तो कर्जा ३१ अर्ब ६४ करोड ८० लाख थियो । एक वर्षकै बीचमा बैंकले ऋण असुली तथा गैरबैंकिङ सम्पत्ति बुक गरेर ठूलो मात्रामा ऋण घटाएको हो । एक वर्षमा बैंकले १ अर्ब गैरबैंकिङ सम्पत्ति बुक गरेको हो । असुल हुन बाँकी कर्जामध्ये पनि ठूलो हिस्सा अनियमित हुँदा बैंकमा समस्या बढ्दै गएको छ । बैंकको प्रतिसेयर आम्दानी नै गत आव मात्रै ६२ रुपैयाँ ८९ पैसाले ऋणात्मक रहेको बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । २०८० असार मसान्तमा ७.९५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात २०८१ असार मसान्तमा २१.९१ प्रतिशत पुगेको छ । गत आव मात्रै बैंकले ५ अर्ब ८८ करोड ७९ लाख सम्भावित कर्जा नोक्सानी व्यवस्था गर्दा ३ अर्ब २४ करोड १० लाख ‘राइटब्याक’ गरेको छ । यस आधारमा २ अर्ब ६४ करोड ६९ लाख गत आव सम्भावित कर्जा नोक्सानीका लागि थप प्रोभिजन गरेको छ ।
सञ्चालक समिति र व्यवस्थापनमै बिग्रिँदो वित्तीय अनुशासन
बैंक सञ्चालक समिति र व्यवस्थापन समितिले नै वित्तीय अनुशासन कायम नगरी पहुँचका आधारमा कर्जा लगानी गर्दा सहकारी बैंक वित्तीय रूपमा संकटग्रस्त बनेको सहकारी विभागले राष्ट्र बैंकबाट विज्ञ जनशक्ति समेत बोलाएर गरेको अनुगमनले देखाएको छ । बैंक सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती आफैं सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । उप्रेती अध्यक्ष रहेको तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारी मिलेर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यी सहकारी संस्थामा बचचकर्ताको करिब ७ अर्ब जोखिममा छ । यो सहकारीले दुई वर्षदेखि बचत फिर्ता गर्न सकेको छैन ।
सहकारी बैंक अध्यक्ष पदको दुरुपयोग गरी उप्रेतीले आफ्नै संस्थामा ऋण लगानी गरेका थिए । व्यवस्थापनले दिनै नमिल्ने भनेर सिफारिस गरे पनि उप्रेतीले पदीय दुरुपयोग गर्दै सञ्चालक समितिबाट पारित गराएर आफ्नै सहकारीलाई साढे ३० करोड ऋण दिलाएका थिए । त्यसमध्ये २८ करोड ३८ लाख ९५ हजार ऋणको साँवा र ब्याज दुवै पछिल्लो समय भुक्तानी नरहेको भन्दै सहकारी विभागको अनुगमन प्रतिवेदनमा उल्लेख छ । यति मात्रै नभए उप्रेतीकै नेतृत्वमा पाँच सहकारी मर्जर भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा उप्रेती नै अध्यक्ष छन् । जसको कुल ऋण बक्यौता ९३ करोड ८३ लाख छ । उक्त ऋण अनियमित रहेको सहकारी विभागको अनुगमन प्रतिवेदनमा छ ।
सहकारी बैंकले लगानी गरेका ठूला ३० ऋणमध्ये १३ को सावाँ र ब्याज लामो समयदेखि अनियमित रहेको पाइएको छ । १३ मध्ये उप्रेती नै अध्यक्ष रहेको तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको २८ करोड ३८ लाख ९५ हजार, सोही संस्थामा मर्जर भएको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाको २९ करोड २ लाख ४७ हजार रुपैयाँ ऋण अनियमित छ । यस्तै सोही संस्थामा मर्जर भएको नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २६ हरोड ४२ लाख ६० हजार ऋण अनियमित रहेको पाइएको हो । यस्तै बैंकबाट सबैभन्दा धेरै ऋण लिएर नतिर्ने सहकारी संस्थामा ठमेलको क्यापिटल बचत तथा ऋण सहकारी संस्था छ । उक्त संस्थाले ३७ करोड ५८ लाख ७४ हजार ऋण नतिरेको अनुगमन समिति उल्लेख छ ।
बैंकको ‘लोन म्यानेजमेन्ट सिस्टम’ मार्फत ऋण स्वीकृत गर्दा प्रयोग हुने प्रक्रियामा त्यो सहकारीलाई प्रदान गरिने ऋणलाई ‘सी’ ग्रेड प्रदान भएको थियो । एलएमएसको जोखिम खण्डमा तत्काल व्यवस्थापन गर्न सम्भव नभएको ऋण भनेर यसलाई वर्गीकरण गरिएको थियो । कर्मचारीहरूले दिएको प्रतिक्रियाका आधारमा यस्तो जोखिम तय गरिन्छ । यसरी व्यवस्थापनले जोखिम औंल्याउँदा औंल्याउँदै संस्थालाई ३५ करोड ऋण दिन भनेर १२ वैशाख २०७९ मा सञ्चालक समितिले स्वीकृति दिएको थियो । ऋण स्वीकृत भएपछि १९ पुस २०८० मा संस्थाको २ करोड ५८ लाख ७४ हजार ब्याज र हर्जानालाई पूँजीकृत गर्दै धितोसमेत नलिएको पाइएको छ । उक्त बैंकले निब्र्याजी सहुलियतपूर्ण ऋण भनेर देखाएको र थप धितोसमेत नलिएको पाइएको हो । तर, क्यापिटल सहकारीको उक्त ऋण असुल भइसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले बताए ।
यस्तै मिलन बहुउद्देश्यीय सहकारी संस्थाको ३५ करोड ऋण स्वीकृत गर्दा पनि बैंकले उक्त संस्थामा भएको कैफियत नदेखे झैं गरेको पाइएको हो । संस्थाको ८७.५८ प्रतिशत ऋण भाखा नाघेको जानकारी हुँदाहुँदै उक्त सहकारी संस्थालाई ३५ करोड ऋण लगानी गरेको हो । संस्थाले लगानी गरेको ऋणको १.५६ गुणा बढी ब्याज बक्यौता हुँदा समेत बैंकले उक्त सहकारीलाई ऋण लगानी गरेको थियो । संस्थामा कुल २ सय ५० ऋणीमध्ये १५ जनाले मात्रै ७७ प्रतिशत चलाएको र सबैजसो ऋण असुल हुन नसकेको अनुगमन क्रममा देखिएको थियो । ऋणको फाइलमा बैंकका डेपुटी सीईओले ‘नो च्वाइस’ उल्लेख गरेर ऋण लगानीका लागि थप छलफल गर्न सिफारिस गरेको देखिएको उल्लेख छ । संस्थामा नगद प्रवाह नकारात्मक भएको, संस्थागत पूँजीको अवस्था अत्यन्त कमजोर रहेकाले ऋण मात्रै नभएर समग्र संस्था नै उच्च जोखिममा रहेको ऋण फाइलमा नै उल्लेख हुँदा समेत त्यस्तो ऋण स्वीकृत भएको पाइएको हो ।
३४ करोड ८१ लाख ३३ हजार ऋण बक्यौता रहेको अर्को एक सहकारी संस्थाको समेत ऋण स्वीकृतिका विषयमा सहकारी विभागले अनुगमन क्रममा प्रश्न उठाएको छ । उक्त सहकारीले लिएको ऋण भने नियमित रहेको प्रतिवेदनमा उल्लेख छ । बैंकमा समस्या र चुनौती रहेको सीईओ गुरागाईंले स्वीकार गरेका छन् । ‘समस्यालाई सकेसम्म समाधान गर्नेतिर लागेका छौं । पूँजीकोषको समस्या समाधान गर्ने र ऋण असुलीलाई प्राथमिकता दिएका छौं,’ उनले भने ।
३० ठूला सहकारीलाई बैंकको साढे २५ प्रतिशत ऋण
सहकारी बैंकको देशभरि सञ्जाल छ । देशभरिका साना–ठूला सहकारी संस्था बैंकका सेयर सदस्य भएर संस्थामा अधिक तरलता रहेको रकम बैंकमा बचत गर्छन् । तर, बैंकले भने देशभरिका सहकारीबाट संकलन गरेको स्रोत केही ठूला सहकारीलाई ऋणका रूपमा प्रदान गरेको हो । बैंकले ठूलो ऋण प्रवाह गरेका अधिकांश सहकारी समस्याग्रस्त घोषित भएका छन् भने घोषणा नै नभएका पनि संकटमा छन् ।
सहकारी बैंकबाट ऋण लगानी भएका ३० ठूला ऋणीमध्ये १३ वटा अनियमित छन् । सहकारी बैंकमा कुल १ हजार ६ सय १४ ऋणी सदस्य भए पनि एक चौथाइ ऋण ३० ठूला ऋणीले उपयोग गरेको पाइएको हो । जुन अधिकांश अनियमित रहेको सहकारी विभागको अन्य रिपोर्टले नै बताउँछ ।
‘बैंकले लगानी गरेको ३० ठूला ऋणमध्ये १० मात्रै नियमित रहेको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘३० ठूला ऋणीमध्ये केहीलाई चालु पूँजी शीर्षकमा एकपटक दिएको ऋण चुक्ता नहुँदै पुनः सोही शीर्षकमा अर्को ऋण दिने गरेको देखिन्छ । यसरी ऋण लिने सहकारीमा अध्यक्ष उप्रेतीको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, मधुसुदन पाठकको जेस्ट बचत तथा ऋण सहकारी लगायत छन् ।’
अझै काठमाडौं माछापोखरीको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थालाई बैंकले एकै अवधिमा आठपटक ऋण लगानी गरेको पाइएको हो । जसका केही सञ्चालकमाथि सहकारी बचत रकम अपचलको मुद्दा चलेको छ भने अध्यक्ष लगायत फरार छन् ।समस्याग्रस्त घोषणा भएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको ६ करोड ४३ लाख र तुलसी बहुमुखी सहकारीको ९ करोड ५ लाख ऋण बक्यौता छ ।
एक चौथाइभन्दा धेरै ऋण बिनाधितो
बैंकले कुल ऋण लगानीमध्ये एक चौथाइ ऋण बिनाधितो लगानी गरेको पाइएको छ । बैंकले सहकारी विभागले जारी गरेको निर्देशन र राष्ट्र बैंकले प्रदान गरेको बैकिङ कारोबारको स्वीकृति विपरीत ३ सय ६६ ऋण बिनाधितो लगानी गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ । कुल ऋणको २६ प्रतिशतले हुने ७ अर्ब ५३ करोड ६३ लाख ६० हजार रुपैयाँ त्यसरी ऋण लगानी गरेको उल्लेख छ ।
त्यसमध्ये एउटै सहकारीलाई ४५ करोडसम्म ऋण लगानी गरेको उल्लेख छ । सहकारी संस्थाले घरजग्गा कारोबार गर्न पाउँदैन । तर, बैंकले भने संस्थागत घरजग्गा कारोबार शीर्षकमा ७५ करोड ५५ लाख ऋण बक्यौता रहेको उल्लेख गरेको देखिएको अनुगमन प्रतिवेदनमा छ ।
सहकारी बैंकको ऋण बक्यौता रहेका सहकारी संस्था
१. क्यापिटल साकोस, ठमेल : ३७ करोड ५८ लाख ७४ हजार रुपैयाँ
२. मिलन बहुउद्देश्यीय सहकारी संस्था, न्युरोड : ३५ करोड रुपैयाँ
३. सिर्जना साकोस, हरिसिद्धि ललितपुर : ३२ करोड ३२ लाख ९ हजार रुपैयाँ
४. आइडियल यमुना बहुउदेश्यीय सहकारी, सुकेधारा : २९ करोड २ लाख ४७ हजार रुपैयाँ
५. हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, कुपन्डोल ललितपुर : २८ करोड ३८ लाख ९५ हजार रुपैयाँ
६. प्राइम बहुउद्देश्यीयय सहकारी संस्था, गैरापाटन पोखरा : २५ करोड ६३ लाख२२ हजार रुपैयाँ
७. दर्शन बचत तथा ऋण सहकारी संस्था, कीर्तिपुर : २३ करोड २१ लाख ३ हजार रुपैयाँ
८. नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी : २२ करोड ९४ लाख ५३ हजार रुपैयाँ
९ पूर्व नेपाल बहुउद्देश्यीय सहकारी, झापा : २१ करोड ७१ लाख ९५ हजार रुपैयाँ
१०. जेस्ट बचत तथा ऋण सहकारी, काठमाडौं : १९ करोड २४ लाख ४१ हजार रुपैयाँ
११. नमस्ते बचत तथा ऋण सहकारी, नेपालगञ्ज : १९ करोड २४ लाख ४१ हजार रुपैयाँ
१२. सिभिल बचत तथा ऋण सहकारी, रविभवन, काठमाडौं : १८ करोड ३९ लाख ५५ हजार रुपैयाँ
१३. इमेज बचत तथा ऋण सहकारी, बनेपा : १७ करोड ५७ लाख ६९ हजार रुपैयाँ
समस्याग्रस्त घोषणा भइसकेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले बैंकबाट लिएको २१ करोड ७० लाख ६६ हजार ऋण भुक्तानी गरेको छैन । जुन सहकारी विभागको अनुगमनमा आंशिक नियमित देखाइएको छ ।
उप्रेती अध्यक्ष हुने गरी आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा मर्जर भएको नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २६ करोड ४२ लाख ६० हजार ऋण बक्यौता छ । जुन आंशिक नियमित देखाइए पनि उक्त ऋणको सावाँ र ब्याज पछिल्लो समय नियमित छैन ।
तत्कालीन समयमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर बम्जन र फरार रहेको र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तेजबहादुर तामाङ समूहले नै सञ्चालन गरिरहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाले पनि बैंकबाट लिएको २८ करोड ४ लाख ८७ हजार ऋण तिरेको छैन । यी दुवै सञ्चालक अहिले फरार छन् ।
बैंकको ऋण नतिर्ने नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष ज्ञानबहादुर तामाङ नेकपा एमालेबाट बाग्मती प्रदेशसभा सदस्य छन् । यस्तै जेस्ट बचत तथा ऋण सहकारी अध्यक्ष मधुसूदन पाठक हास्य कलाकार ‘सिते बा’ नामले परिचित छन् ।
जेस्टसहित पाँच सहकारीमा आबद्ध भन्दै सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले उनीसँग सोधपुछ समेत गरेको छ ।