
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्व उपप्रधान एवम् गृहमन्त्री सभापति रवि लामिछानेलाई सोधपुछको लागि बोलाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत रहेका लामिछानेलाई पत्र काट्दै समितिले शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको कार्यालयमा हाजिर हुन भनेको हो।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालिन महाप्रबन्धकका रुपमा लामिछानेलाई बोलाएको समितिका एक सदस्यले जानकारी दिए। समितिले लामिछानेलाई सो मिडिया हाउसले विभिन्न सहकारीबाट लिएको ऋण र त्यसको प्रयोजनका साथै अन्य विभिन्न प्रश्नको जवाफ माग्ने छ। समितिले लामिछानेलाई सोध्ने प्रश्नहरु समेत तयार गरिसकेको छ।
सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीबाट लामिछानेले लिएको ऋणको विषयमा प्रश्न उठ्दै आएको छ। उनी नै सहकारी हिनामिनामा मुछिएको आरोप लागेपछि संसदीय छानबिन समिति बनेको थियो। त्यही समितिले अहिले सहकारी ठगीमा थुनामा रहेका देखि विभिन्न प्रकरणमा जोडिएका व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ।
शुक्रबार समितिले गोर्खा मिडियामा जोडिएका पूर्व डीआइजी छविलाल जोशीसँग पनि सोधपुछ गर्दैछ। त्यस्तै, समितिले सुप्रिम र सूर्यदर्शन सहकारीका केही पदाधिकारीसँग सोधपुछ गरिसकेको छ। अहिलेसम्म ३ दर्जनभन्दाबढी मानिससँग समितिले सोधपुछ गरिसकेको छ।
त्यस्तै, लामिछानेसँग जोडिएका जीबी राईलाई विदेशबाट झिकाउन गृह मन्त्रालयसँग समितिले अनुरोध गरेको छ। समितिले विभिन्न चरणमा २३ जना विदेशमा रहेका मानिसलाई झिकाउन अनुरोध गरेको हो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































