जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • मर्जरपछि अब्बल एनआईएमबी, इतिहास फर्काउने रणनीति

मर्जरपछि अब्बल एनआईएमबी, इतिहास फर्काउने रणनीति

नेपालको बैंकिङ क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित दोस्रो वाणिज्य बैंक हो नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) । वि.सं. २०४२ माघ (सन् १९८६) मा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र (लाइसेन्स) पाएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक फ्रान्सका लगानीकर्ताको लगानीमा स्थापना भएको हो । नेपाल इन्डोसुएज बैंकको नामबाट स्थापना भएको यस बैंकमा ५० प्रतिशत स्वामित्व फ्रान्सेली साझेदार क्रेडिट एग्रिकोल इन्डोसुएजको थियो ।

सीईओ ज्योतिप्रकाश पाण्डे ।

तर, डेढ दशक नेपालमा बैंकिङ अभ्यास गरेपछि सन् २००२ मा फ्रान्सेली साझेदारले बाहिरिने निर्णय गर्याे । बैंकमा रहेको फ्रान्सेलीको ५० प्रतिशत सेयर स्वामित्व नेपाली लगानीकर्ता पाँडे समूहले खरिद गर्याे । फ्रान्सेली साझेदार क्रेडिट एग्रिकोल इन्डोसुएज बाहिरिएपछि पृथ्वीबहादुर पाँडेले बैंकको नाम परिवर्तन गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक राखे । बैंकमा विभिन्न कम्पनीको नाममा पाँडेको बहुमत सेयर स्वामित्व रहेको छ ।

हाल बैंकको अध्यक्षको रूपमा पृथ्बीबहादुर पाँडे छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा ज्योतिप्रकाश पाण्डेले नेतृत्व गरिरहेका छन् । निजी क्षेत्रबाट स्थापना भएको यस बैंकले देशभरि बैंकिङ सेवा उपलब्ध गराउन कार्यक्षेत्रलाई विस्तार गर्दै स्वदेश तथा विदेशका बिभिन्न ठाउँमा सेवा दिँदै आएको छ ।

वि.सं. २०७४ साउनमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । नेप्सेमा बैंकको सेयर मूल्य प्रतिकित्ता २८२ रुपैयाँ रहेको छ । दोस्रो बजारमा बैंकको सेयर मूल्य पछिल्लो एक वर्षको अवधिमा अधिकतम् प्रतिकित्ता २९५ रुपैयाँ थियो भने न्यूनतम १४७ रुपैयाँ थियो ।

बैंकमा संस्थापक समूहको ६०.८१ प्रतिशत अर्थात् २० करोड ७५ लाख ३४ हजार १०७ कित्ता सेयर र सर्वसाधारण समूहको ३९.१९ प्रतिशत अर्थात् १३ करोड ३७ लाख ५१ हजार ८४२ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंककाे वित्तीय अवस्था

गत आर्थिक वर्षमा बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९.७१ प्रतिशत बढी नाफा हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेर १५ अर्ब १ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३० करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असारसम्म बैंककोखुद शुल्क तथा कमिसन आम्दानी ११.१७ प्रतिशत बढेर १ अर्ब ७८ करोड १ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत बढेर १७ अर्ब ६७ करोड ७ लाख रुपैयाँ र सञ्चालन नाफा २१.६२ प्रतिशत बढेर ८ अर्ब ७ करोड २ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ४.३३ रुपैयाँ बढेर १५.२३ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.९० रुपैयाँ थियो । बैैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र जगेडा कोष २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ । गत असारसम्म बैंकको निक्षेप संकलन १३.८३ प्रतिशत बढेर ४ खर्ब ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ र कर्जा लगानी १.५४ प्रतिशत बढेर ३ खर्ब ७ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १.६६ प्रतिशत रहेको खुद खराब कर्जा घटाएर गत असारसम्म १.२१ प्रतिशतमा झारेको छ । तर, कुल खराब कर्जा ४.५४ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।

विभिन्न उतारचढाव पार गर्दै ३८ वर्ष पार गरेको बैंक देशकै अग्रणी संस्था बन्न सफल भएको बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे बताउँछन् । व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम् स्थानमा राखी सेवा प्रवाह गरिरहेको अध्यक्ष पाँडेले बताए ।

एनआईएमबी एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको उनको भनाइ छ । बैंकको संस्थापक तथा सञ्चालकहरू बैंकिङ तथा वित्तीय क्षेत्र तथा व्यवस्थापनमा लामो समयदेखि आबद्ध रहेका व्यक्तित्वहरू छन् ।

बैंकको लाभांश इतिहास

बैंकले सेयरधनीलाई विगतमा उचित प्रतिफल दिएको देखिन्छ । तर, अघिल्लो वर्षको नाफाबाट भने बैंकले सेयरधनीहरूलाई प्रतिफल वितरण गर्न सकेन ।  गत वर्षमा भने बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणात्मक हुँदा बैंकले यस वर्ष सेयरधनीलाई लाभांश दिन सक्ने अवस्था छैन । तर, अर्काे वर्षदेखि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने गरी बैंकले काम गरिरहेको छ ।

बैंकका उपमहाप्रबन्धक तथा प्रमुख सूचना अधिकारी राजेश शर्मा अर्थतन्त्र चलायमान हुने संकेत देखिएकाले कर्जा असुली (रिकभरी) मा जोड दिने, खराब कर्जा (एनपीएल) घटाउने र अर्काे वर्षदेखि प्रतिफल दिने गरी काम गरिरहेको बताउँछन् ।

‘लाभांश इतिहास हेर्दा एनआईएमबी राम्रो प्रतिफल दिने बैंकमा पर्छ । तर, पछिल्लो समय अर्थतन्त्र सुस्ताएका कारण प्रतिफल दिन नसकेको हो । सञ्चालन नाफामा बैंक धेरै अगाडि छ,’ उनले भने, ‘एनपीए बढेका कारण सेयरधनीलाई लाभांश दिन नसकिएको हो । विस्तारै अर्थतन्त्रका सबै सूचक सकारात्मक छन्, अर्काे वर्षदेखि प्रतिफल वितरण गर्छाैं ।’

बैंकले आर्थिक वर्ष २०६३/६४ मा २५ प्रतिशत बोनस सेयर र ५ सय प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०६४/६५ मा बैंकले सेयरधनीहरुलाई ३३.३३ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कूल ४०.८३ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/६६ मा २० प्रतिशत र आर्थिक वर्ष २०६६÷२०६७ मा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६९/७० मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७१/७२ मा सेयरधनीहरुलाई ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद गरी कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७२/७३ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद गरी कूल ४१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७३/७४ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७४/७५ मा सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद गरी कूल १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ५.५५ प्रतिशत नगद गरी कूल १८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई १२.६१ प्रतिशत बोनस सेयर र ३.३८ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

विश्वासिलो र अब्बल बैंक बनाउने प्रण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहकहरूलाई अनुकरणीय बैंकिङ सेवाहरू प्रदान गरिरहेको र वित्तीय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको बैंकको भनाइ छ । सबल तथा मजबुत बनाई उत्कृष्ट सेवा प्रदान दिने उद्देश्यले साविकको नेपाल इन्भेष्टमेण्ट बैंकले वि.सं. २०७९ पुस २७ गते साविक मेगा बैंकसँग मर्ज गरेको थियो ।

पुँजी तथा व्यावसायको आकारमा वृद्धि गर्न साविकको नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंक र जेबिल्स फाईनान्सलाई प्राप्ति गरेको थियो भने साविकको मेगा बैंकले पश्चिामाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम् डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकलाई गाभेको थियो ।

मर्ज भएका बैंकमा विभिन्न समस्या देखिएपनि एनआईएमबीमा हालसम्म कुनै समस्या नआएको बैंकको दाबी छ । मर्ज भएका केही बैंकले २/३ पटक स्वेच्छिक अवकास सुविधा (भीआरएस) ल्याए । तर, एनआईएमबीले हालसम्म भीआरएस ल्याएको छैन ।

पछिल्लो तथ्याङ्कमा एनआईएमबी बैंकहरूको र्याङ्किङमा टप थ्री मा छ । केही सूचकमा बैंक पहिलो स्थानमा छ । तर, बैंकले आफूलाई नम्बर वान बनाउने भन्दा पनि गुणस्तरीय सेवालाई जोड दिने गरेको छ । बजारमा सञ्चालनमा रहेका बैंकहरूमध्ये नबिल बैंक र ग्लोबल आइएमई बैंक मुख्य प्रतिस्पर्धी हो ।

‘बैंकले सबै कर्मचारी व्यवस्थापन गरेको छ, बैंकले कुनै पनि कर्मचारी निकाल्न चाहेको छैन, मर्जरपछि समस्या आएको पनि छैन,’ उनले भने, ‘पुँजी ठूलो भएपछि नाफा पनि सोही अनुसार पुरा गर्न चुनौती छ, राज्यलाई धेरै कर तिरेका छौं ।’

डिजिटलमा जोड

सूचना अधिकारी राजेश शर्मा ।

करिब चार दशक पुरानो बैंकका ग्राहकहरू पनि पुरानो पुस्ताका छन् । तर, अधिकांश पुराना ग्राहकहरू डिजिटल कारोबारमा रूपान्तरण भइसकेको बैंकका उपमहाप्रबन्धक समेत रहेका प्रमुख सूचना अधिकारी राजेश शर्मा बताउँछन् । उनका अनुसार पछिल्लो समय बैंकले डिजिटल कारोबारलाई जोड दिएको छ ।

‘विगतमा जस्तो ग्राहकरू बैंकमा आएर चेकबुक लिएर कारोबार गर्ने जमाना छैन, युवा पुस्ताका ग्राहकहरू बैंकमा आउन पनि चाहनुहुन्न, जो परम्परागत बैंकिङ गरिरहनु भएको थियो, उहाँहरूमध्ये अधिकांश डिजिटल्ली कारोबार गर्नुहुन्छ,’ उनले भने, ‘बैंकको डिजिटल कारोबार ८०/९० प्रतिशत हुन थालेको छ, चेक काट्ने भन्दा पनि मोबाइल बैंकिङ नै गर्न रूचाउनुहुन्छ, ८/१० रुपैयाँ शुल्क लागेपनि तिर्न तयार हुनुहुन्छ, बैंकमा आएर समय खेर फालनुको सट्टा घरमै बसेर कारोबरा गर्नुहुन्छ ।’

बैंकले डिजिटल सेवामा मोबाइल बैंकिङ, क्यूआर सेवा, डिजिटल भुक्तानी सबै सेवाहरू सञ्चालनमा रहेको यनको भनाइ छ । साथै डिजिटलमा ग्राहकलाई नयाँ सेवा दिन बैंकले अध्ययन गरिरहेको र डिजिटलमा बजेट पनि धेरै छुट्याएको उनले जानकारी दिए । बैंकको आइटी टिम बलियो थियो । मर्जर पछि झनै अब्बल र बलियो बनेको उनले बताए ।

एसएमईज कर्जामा जोड

समीक्षा अवधिमा बैंकले ३ खर्ब ७ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा बैंकको कर्जा लगानी १.५४ प्रतिशत बढेको हो । अघिल्लो वर्ष बैंकले ३ खर्ब २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । साविक नेपाल इन्भेष्टमेन्ट बैंकले कर्पाेरेट क्षेत्रलाई जोड दिएको थियो ।

तर, मेगा बैंकसँगको मर्जरपछि भने बैंकले साना तथा लघु कर्जा (एसएमईज) कर्जामा जोड दिएको छ । उनका अनुसार चालु आर्थिक वर्षमा बैंकले कर्जा वृद्धिमा जोड दिएर उल्लेख्य वृद्धि गर्नेछ ।

‘पहिला कर्पाेरेट सेक्टरमा बढी कर्जा प्रवाह हुन्थ्यो, मर्जरपछि बैंकले अनुदान कर्जादेखि एसमएइज, रिटेल, लगायत सबै प्रकारका कर्जामा जोड दिएको छ, ग्राहकको माग पूर्ति गर्न बैंकले सबै क्षेत्रका कर्जा लगानी गरिरहेको छ,’ उनले भने, ‘सबै शाखाले कर्पाेरेट कर्जा दिन नसक्ने भएकाले साना तथा मझौला आकारका कर्जामा बैंकले जोड दिएको छ, बैंकको फोकस कर्पाेरेट मात्रै नभएर सबै प्रकारका कर्जामा छ ।’

शाखा सञ्जाल

बैकका देशभर २७४ वटा शाखा कार्यालय सञ्चालनमा छन् । बैंकले आफ्नो उपस्थिति बलियो बनाउन थप ३ वटा शाखा कार्यालय सञ्चालन गर्ने योजनामा बैंक रहेको छ । साथै ४ वटा एक्सटेन्सन काउन्टर छिट्टै सञ्चालनमा आउनेछन् । हाल बैंकमा ३ हजार १४० जना कर्मचारी कार्यरत छन् ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका