जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • नक्कली ऋणी र फर्जी कागजातका आधारमा रकम ‘झ्वाम्म’

नक्कली ऋणी र फर्जी कागजातका आधारमा रकम ‘झ्वाम्म’

उदाहरण १ : २०७८ कार्तिक र २०७९ वैशाखमा गरेर काठमाडौँस्थित श्री मनमुरी एग्रिकल्चर को–अपरेटिभलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट दुई किस्तामा एक करोड रुपैयाँ कर्जा दिइयो । पहिलो किस्ता रकम कार्यान्वयनको अनुगमन नगरी संस्थाले दोस्रो किस्ता पायो । संस्थाबाट ५२ लाख ९६ हजार ८३७ रुपैयाँ उठाउन बाँकी छ ।

सो संस्थाकी अध्यक्ष जयकला बस्नेतको श्रीमानकै नातेदार कोषको उपाध्यक्ष रहेका कारण ६ महिनाको अवधिमा उनले एक करोड रकम पाएकी हुन् । अढाइ वर्षको अवधिमा उनले ५२ लाख ९६ हजार ८३२ रूपैयाँ कोषमा तिर्न बाँकी छ ।

‘संस्थाका अध्यक्ष जयकला बस्नेतसँग कुराकानीको दौरान कोषको उपाध्यक्षसँग उहाँको श्रीमानको नाता भएको कारणले दोस्रो किस्ता पनि प्रथम किस्ता आएको ६ महिनामै सजिलै आएको कुरा अवगत गराउनुभयो,’ अध्ययन प्रतिवेदनमा लेखिएको छ ।

उदाहरण २ : २०७९ असार र सोही वर्षको फागुनमा श्री विस्तार बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँलाई दुई किस्तामा ५० लाख रुपैयाँ कर्जा उपलब्ध भयो । उक्त सहकारीले पहिलो किस्ताको कर्जाको लागि आवेदन दिएको तर पछि कोषको मापदण्डअनुसार लगानी गर्न नसक्ने जानकारी गरायो । त्यसको ६–७ महिनापछि कोषबाटै दबाब दिएर ऋण लिन बाध्य पारियो ।

उदाहरण ३ : कोषले श्री निलरत्न सेभिङ्ग एण्ड को–अपरेटिभ लिमिटेड (काठमाडौँ)लाई २०७९ र २०८० साल गरी दुई किस्तामा ९० लाख रुपैयाँ कर्जा प्रदान ग¥यो । प्रथम किस्ता प्राप्त भएपछि संस्थाले ऋण लगानी ३० दिनभित्र गर्नुपर्ने भनिए पनि तीन महिना बित्दासमेत गरेको थिएन । तर पनि संस्थालाई दोस्रो किस्ता उपलब्ध गराइएको छ ।

माथिका तीन प्रतिनिधिमूलक उदाहरणले देखाउँछ– युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम पहुँच र प्रभावका आधारमा मनलाग्दी ढङ्गबाट बाँडिने गरिएको छ ।

कोषको रकम लगानी हुँदा युवा तथा साना व्यवसायी वर्गमा पुग्नै सकेको छैन । युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवा तथा खेलकुद मन्त्रालय मातहत छ । मन्त्रालयले कोषको व्यवस्थापन, सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न कार्यदल गठन गरी अध्ययन गरेको थियो ।

उक्त अध्ययन प्रतिवेदन अनुसार श्री निलरत्न सेभिङ्ग एण्ड को–अपरेटिभ लिमिटेडले कोषबाट पैसा लिएर नक्कली ऋणी खडा गरी पैसा अपचलन भएको छ ।

संस्थाबाट २ लाख ऋण लिएको भनिएका गोविन्द श्रेष्ठलाई उक्त कर्जाबारे थाहा छैन । सहकारीले बीमा गर्दा इच्छाएको व्यक्ति दलबहादुर लामिछाने नाम राखेको तर गोविन्द श्रेष्ठले दलबहादुर लामिछाने भन्ने व्यक्ति नचिनेको जानकारी दिएका छन् ।

उस्तै घटना दलबहादुर लामिछानेसँग पनि भएको छ । लामिछानेले सहकारीबाट कोषको नाममा २ लाख कर्जा लिएको उल्लेख छ । तर, लामिछानेले यस्तो कुनै किसिमको कर्जा नलिएको जानकारी गराएका छन् । यसबारे लेखापढी नभएको बयान उनले कार्यदलसँग दिएका छन् ।

‘यसरी बुझ्दै जाँदा संस्थाले फर्जी कागजात बनाएर ऋण लगानी गरेको भन्दै युवा स्वरोजगार कोषको पैसा अपचलन गरेको पाइयो,’ प्रतिवेदनमा लेखिएको छ ।

कार्यदलको अध्ययनले कोषद्वारा सञ्चालित युवा स्वरोजगार कार्यक्रममा ठुलो रकम अपलचन भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । तर, मन्त्रालयले यो प्रतिवेदन सार्वजनिक भने गरेको छैन ।

प्रतिवेदन अनुसार कार्यदलले नमूनाको रुपमा लिएका संस्थाहरूको अनुगमन गर्दा लक्षित वर्गमा रकम नपुगेको र उक्त रकम सम्बन्धित संस्थाले आफूखुसी परिचालन गरेको पाइएको छ । संस्थाहरूले कुन–कुन व्यवसायीलाई कर्जा तथा ऋण प्रवाह भएको हो भन्ने विवरणसमेत संस्थामा छैन । यस्तो संस्थाका अध्यक्षले एकमुष्ट रकम लिएको प्रतिवेदनमा उल्लेख छ ।

कोषबाट पहिलो किस्ता नियमित रूपमा नतिर्ने संस्था समेतलाई दोस्रो किस्ताको पैसा उपलब्ध गराइएको छ ।

‘त्यस संस्थाले दोस्रो किस्ता क–कसलाई दिइयो भनी विवरण माग गर्दा कोहीलाई पनि नदिइ बचत गर्नेहरूलाई उक्त किस्ता बापत प्राप्त रकम भुक्तानी गरिएको भनी गैरजिम्मेवारपूर्ण जवाफ दिएकोसमेत अनुगमनको सिलसिलामा पाइयो,’ प्रतिवेदनमा लेखिएको छ ।

साथै नियमावली कार्यविधिको प्रक्रिया पु¥याएर ऋण प्रवाह नभएको प्रतिवेदनमा उल्लेख छ ।

यसरी भएको छ कोषद्वारा वितरित पैसामा मनलाग्दी

कोष स्थापनाको उद्देश्य नै समुदायका परम्परागत पेसा र सिप विकास तथा व्यवसाय प्रवर्द्धन गर्नु हो । त्यसैले कोषबाट प्रवाह हुने रकम समुदायको सिप र समुदायमा उपलब्ध कच्चा पदार्थमा आधारित उत्पादन र उक्त उत्पादनको व्यावसायीकरणमा योगदान पु¥याउनु हो ।

खासगरी नेपाल सरकारले पहिचान गरेको गरिब परिवारलाई केन्द्रमा राखेर उनीहरूको रोजगार प्रवर्द्धनका निमित्त कोषको स्थापना गरिएको हो । तर, कोषको पैसा लगानी भने चिनेजानेका, नातागोता र स्वार्थ केन्द्रित भएर गरिएको छ ।

श्री मनमुरी एग्रिकल्चर को–अपरेटिभले पनि एक करोड रुपैयाँ कोषबाट लिएर मनलाग्दी वितरण गरेको छ । प्रतिवेदन अनुसार समिर दाहाल जो मनमुरीकै एक कर्मचारी सदिक्षा दहालको श्रीमान भएकाले तमसुकमा व्याजदर र कर्जाको अवधि तथा मिति उल्लेख नगरी रकम दिइएको छ ।

यस्तै को–अपरेटिभले कुमार बस्नेत र दिपक बस्नेतलाई समान दुई लाख रुपैयाँ दिएको छ । उनीहरू एकाघरको दाजुभाइ भएकाले कर्जा लगानी कार्यविधि २०७७ विपरीत लगानी भएको प्रतिवेदनमा लेखिएको छ । साथै उनीहरूको ऋणको सदुपयोगिताका लागि कर्जाको प्रयोजन नखुलाइएको तथा अध्ययनका लागि व्यवसाय हेर्न जान खोज्दा संस्थाले असहयोग गरेको उल्लेख छ ।

को–अपरेटिभले एकै घरका दाजुबहिनी कल्पना राई र जागिरमान राईलाई ऋण दिनुको कारण नखुलाइ समान दुई लाख रुपैयाँ दिएको उल्लेख छ ।

श्री विस्तार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २ लाख ऋण गौरीदेवी नायकले पहिलो किस्ता स्वरूप लिएकी छन् । प्रतिवेदन अनुसार उनले लिएको ऋणबारे उनी आफैँ बेखबर छिन् । कर्जा माग फारममा उनको फोटो छैन भने सम्पर्क नम्बरमा श्रीमानको नम्बर राखिएको छ ।

‘कर्जाग्राहीलाई आफ्नो नाममा युवा स्वरोजगार कोषको कर्जा लिएको भन्ने थाहा नभएकाले न ब्याजदर, न किस्ता– केही पनि थाहा नभएको,’ प्रतिवदेनमा लेखिएको छ ।

सोही सहकारीबाट पार्वती पाण्डेले पनि पनि २ लाख रूपैयाँ लगेकी छन् । उनलाई युवा स्वरोजगार कोषको पदाधिकारीको दबाबमा कर्जा लगानी गरिएको हो । सुरुवातमा कर्जा दिँदा व्यवस्थापकले कर्जा उठ्ने नउठ्ने डरले एक वर्षका लागिमात्र लगानी गरे पनि पदाधिकारीको दबाबमा समय थप गरिएको प्रतिवेदनमा उल्लेख छ । उनले सीएनएन न्यूज नेपाल नामक संस्थामा उक्त कर्जा लगानी गरेको विवरणमा खुलाएको प्रतिवेदनमा लेखिएको छ ।

सहकारीबाट पैसा खाएर रज्जव अली नाउ, सुनिल रेग्मी, प्रमेश्वर साहु फरार रहेको र भारततिर लुकेको प्रतिवेदनमा उल्लेख छ ।

काभ्रेको श्री याङ्वेल खोला सहकारी लिमिटेडबाट उपाध्यक्ष कर्मीसङ तामाङका भाइ रोमान्स तामाङ, श्रीमती कल्यानी तामाङको नाममा समान २ लाख ऋण लगानी भएको छ । यस्तै सहकारी कोषाध्यक्ष कृष्ण बहादुर तामाङका भाइ शुकराज तामाङ र कोषाध्यक्ष कृष्ण बहादुर तामाङका श्रीमती शान्ति घलानलाई पनि २ लाख ऋण प्रदान भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार कोषका पदाधिकारीको बदमासीका कारण देशभर लगानी भएको १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रूपैयाँ ३९ पैसा उठ्न नसक्ने अवस्थामा पुगेको हो । यो तथ्याङ्क २०८१ जेठ मसान्तसम्मको हो ।

२०७४ मा लगानी भएको २८ करोड ८५ लाख ३७ हजार २७९ रूपैयाँ ६६ पैसा रकम उठ्न बाँकी थियो । तर त्यो रकम बढेर २०८१ जेठ मसान्तसम्ममा १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रूपैयाँ ३९ पैसा पुगेको छ ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका