जोडिनुहोस
शनिबार, पुस ६, २०८१
शनिबार, पुस ६, २०८१
  • होमपेज
  • नेपालमै अवसरको सम्भावना पहिल्याउन बैंकहरूले सहयोग गरिरहेका छन्

नेपालमै अवसरको सम्भावना पहिल्याउन बैंकहरूले सहयोग गरिरहेका छन्

समग्र अर्थतन्त्र मन्दीमा गएको छ। मन्दीको प्रभाव बैंकिङ व्यवसायमा पर्दा अर्थतन्त्रको विकासमा वित्तीय क्षेत्रले पुर्‍याउनुपर्ने योगदान अपेक्षाकृत रुपमा देखिन सकेको छैन। अर्थतन्त्र नै सुस्त अवस्थामा रहँदा बैंकिङ क्षेत्रले समेत अपेक्षाकृत व्यवसाय विस्तार गर्न सकिरहेको छैन। अन्तर्राष्ट्रिय स्तरको नियामकीय प्रावधान पालना गर्दै बैंकिङ व्यवसाय गर्नुपर्दा केही बैंकहरूलाई निकै गाह्रो भएको छ।

विविध चुनौती सामना गरिरहेको वित्तीय क्षेत्रमा केही समययता बैंकिङ ‘फ्रड’का घटना पनि उत्तिकै बढ्दै गइरहेका छन्। यसले वित्तीय क्षेत्रको सूचना प्रविधि सुरक्षामा पटक/पटक प्रश्न उठाइरहेको छ। बैंकले सर्वसाधारणको पैसा लिएर आफ्नो सहुलियतमा अनुत्पादक क्षेत्रमा व्यवसाय गर्‍यो भन्ने आरोप खेपिरहेको छ। तर, बैंकले व्यवसाय गर्दा जहिल्यै निक्षेप सुरक्षा र उद्यमी÷व्यवसायीलाई सहजीकरणका लागि प्राथमिकता दिइरहेका हुन्छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने सोचले उद्यम/व्यवसाय गर्ने नवउद्यमीलाई बैंकले विगतमा पनि प्राथमिकता दिएका थिए र वर्तमान एवं भविष्यमा पनि उत्तिकै प्राथमिकता दिन्छन् भन्ने कुनै शंका छैन।

पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा बैंक तथा वित्तीय संस्थाका (लघुवित्त बाहेक) करिब २० लाख कर्जा ग्राहक छन्। बैंकहरूले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) बराबर कर्जा प्रवाह गरेका छन्। यसले पनि देखाउँछ, नेपालको बैंकिङ क्षेत्रको योगदान। बैंकले दिएको कर्जा  सदुपयोगमा बारम्बार प्रश्न उठिरहेको छ र उठाउन सकिन्छ। तर, बैंक तथा वित्तीय संस्थाले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिएका छन् भन्नेमा दुईमत छैन।

उद्यमीहरू जन्माउन गाह्रो हुन्छ। जसरी एउटा बच्चा जन्मेपछि हुर्काउन र बचाउन गाह्रो हुन्छ, त्यस्तै हो, उद्यमी बचाउने कुरा पनि। बैंकले पहिलो चरणमा उद्यमी जन्माउने काम मात्र गर्छ। त्यसलाई हुर्काउने र बचाउने समयमा सरकारको ऐन/कानुन तथा नीति निर्देशन र वातावरणले महत्त्वपूर्ण भूमिका खेल्छ। उद्यमशीलता विकास एक सिक्काको दुई पाटाजस्तै हो। बैंकको लगानी एक पाटो हो भने अर्को पाटोमा सरकार र स्वयं उद्यमी नै पर्छन्। उद्यम गर्छु भन्नेलाई कर्जा दिएर उद्यमी बनाउने एउटा पाटोमा बैंकले काम गर्छन्। तर, अर्को पाटोमा सरकारका नीति निर्देशन र सम्बन्धित उद्यमीको आचरण र व्यवहारले काम गर्दछ। त्यति मात्र होइन, अर्थतन्त्रको विकासमा बैंकको भूमिकाबारे र बैंकलाई कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारले पनि सोच्न जरुरी हुन्छ। नेपालको संघीय संरचनाअनुसार सबै क्षेत्रमा बैंकहरू पुगिसकेका छन्।  ती बैंकलाई सरकारले प्रयोग गर्न जान्नुपर्छ। सरकारी नीति, निर्देशन तथा मार्गनिर्देशन बनाएर लगानीमैत्री वातावरण निर्माण गरी वित्तीय क्षेत्रलाई प्रयोग गराउनु सरकारकै दायित्वभित्रै पर्छ।

पछिल्लो केही समययता नेपालमा उद्यमशीलतामैत्री वातावरण महसुुस गर्न सकिएको छैन। लगानी वातावरण बिग्रिनुमा वा नवउद्यमीहरू नजन्मिनुमा बैंकको मात्रै भूमिका छैन। बैंक आफैंमा व्यापारी हुन्। व्यापारीले जोखिमसँग सम्भावना पनि हेर्छन्। त्यसकारण बैंकहरूलाई राज्यले कुन रुपमा प्रयोग गर्ने भन्नेबारे नेपालमा ‘असल’ नीति बनाइएको छैन। कार्यान्वयनमा रहेका कानुन तथा नीति–नियममा पनि कमी–कमजोरी देखिन्छ। उद्यमी बन्न चाहनेले पनि कस्तो प्रकारको सीप आफूमा विकास गर्नुपर्छ, कस्तो प्रकारको व्यावसायिक एकाग्रता चाहिन्छ, सम्भावित क्षेत्र कुन हुन्, बजार सम्भावना के छ, भविष्यमा आउने सम्भावित जोखिमलाई कसरी सामना गर्ने भन्नेजस्ता विषयमा गम्भीर अध्ययन हुनुपर्छ।

विदेशमा यस्ता विषयमा सुझाव दिन परामर्शदाता (कन्सल्ट्यान्ट) कम्पनी) हुन्छन्। नेपालमा यस्तो सेवाका लागि परामर्शदातको सेवा उपलब्ध भइसकेको छैन। भएका परामर्शदाताबाट नवउद्यमीले लाभ लिन सकेको देखिँदैन। प्रतिस्पर्धा हरेक क्षेत्रमा हुन्छ। तर, प्रतिस्पर्धाबाट स्रोतको पहिचान गरी त्यसको उपयोग तथा प्राथमिकता निर्धारण गर्ने र बैंकिङ क्षेत्रमार्फत लगानी बढाउने वातावरण निर्माण गर्नुपर्छ।

पछिल्लो तथ्यांक हेर्दा जीडीपीमा बढी योगदान सेवा क्षेत्रको छ। तर, बढी योगदान उद्योग क्षेत्रको हुनुपर्ने थियो होला। उद्योगको योगदान ५० वर्षअघि जुन अवस्थामा थियो, आज पनि त्यस्तै छ। विगतमा जीडीपीमा बढी योगदान दिएको कृषि क्षेत्रको भार घट्दै गएको छ। जीडीपीमा सेवा क्षेत्रको योगदान बढ्नु र अन्य क्षेत्रको घट्नु मुलुकका लागि राम्रो हो÷होइन हेर्नुपर्छ। देशमा उद्यमशीलता विकासमा बैंकले माध्यमका रूपमा मात्रै काम गर्ने हो। साध्य त व्यवसायी र सरकार हुन्। बैंकहरूले उद्यमशीलताको क्षेत्रमा गरेको योगदानलाई बढाउने काम सरकार र स्वयं उद्यमीहरूले गर्ने हो। सरकार र उद्यमीले उद्यमशीलता विकासमा के/कति प्रयास गरे/गरेनन् भन्ने विषयमा विचार गर्नुपर्ने समय आएको छ।

fee4491f-60df-4ff7-af77-bf912287ca11-1721723951.jpeg
अहिले बैंकहरू आफैं अप्ठेरो परिस्थितिमा छन्। तर, बैंकहरू उद्यमशीलता विकासमा हरतरहले आफ्नो भूमिका वहन गर्न सक्षम छन्। नेपालका बैंक तथा वित्तीय संस्थाको सूचकांक मापन गर्ने केही सूचक (इन्डिकेटर्स) अन्तर्राष्ट्रिय मापदण्डका छन्। तिनै सूचक मापनमा कतिपय बैंकहरू केही कमजोर देखिएका छन्। तर, सूचक मापनमा वातावरणीय प्रभाव पनि पर्दछ। कोभिड–१९ अघिसम्म बैंकिङ क्षेत्र मजबुत अवस्थामा थियो। तर, कोभिडपछि विश्वभर देखिएको आर्थिक मन्दीका कारण अन्तर्राष्ट्रिय स्तरमै बैंकिङ क्षेत्र समस्यामा छ। नेपालको सन्दर्भमा सहकारीमा समस्या आउँदाको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ।

अहिले बैंकमा देखिएका अधिकांश समस्या देशव्यापी रूपमा सहकारी बिग्रिँदाको प्रभाव हो। सबै सहकारी समान तबरमा एकै समय बिग्रिँदा बैंकिङ क्षेत्र पनि अप्ठेरोमा परेको हो। यो अवस्थामा सुधार हुन केही वर्ष लाग्न सक्छ। नेपालको कुल जनसंख्याको करिब ९० प्रतिशत कुनै न कुनै रूपमा सहकारीमा आबद्ध छन्। बैंकका ग्राहक पनि सर्वसाधारण नै हुन्। स–साना निक्षेपकर्ताले वर्षौंदेखिको बचत गुमाएका छन्। दुःखजिलो गरी सञ्चालित व्यवसायबाट कमाएर बचत गर्न निक्षेपकर्तालाई समय लाग्छ। आमउपभोक्ता सहकारीका बचतकर्ता हुन् भने तिनै अहिले सहकारी पीडित भएका छन्। उपभोक्ताको पैसा सहकारीमार्फत ठूला घरानाका २०÷२५ जनाले सुन, घरजग्गा, सेयर खरिद गरेर अर्थतन्त्र चलायमान हुँदैन।

सहकारीमा आबद्ध ठूलो जनसंख्या समस्यामा छ। खर्च गर्न सक्ने अवस्थामा छैन। पीडितले जोगाएर सहकारीमा बचत गरेको पैसा फिर्ता पाउन सकेका छैनन्। पीडितहरूको खर्च–चक्र बिग्रिएको छ। सहकारीका बचतकर्ता सक्रिय भए मात्रै अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने हो। सहकारीमार्फत अघि बढाइएका स–साना उद्यम व्यवसाय समस्यामा फस्दाको असर ठूला उद्योग/व्यवसायमा पनि परेको छ। त्यसैले बैंकको सानो प्रयासबाट मात्रै अहिलेको समस्यामा पुनर्सुधार गराउन धेरै गाह्रो छ। अर्थतन्त्रमा सुधार ल्याउन सबै क्षेत्र एकआपसमा मिल्ने, सरकार र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई केही सहुलियत दिने र बैंकहरूले पनि आफ्ना ग्राहकलाई सहुलियत दिएर परिवेशलाई सकारात्मक बनाउन सकिन्छ। ग्राहकले पनि विगतका तीतामिठा पललाई बिर्सेर नयाँ सम्बन्ध दरिलो बनाउन सके मात्रै अर्थतन्त्रमा केही सुधार आउन सक्छ।

पछिल्लो समय बैंकहरूको सूचकांकमा देखिएको समस्याले अर्थतन्त्र सुधारमा केही अड्चन आउने हो कि भन्ने आशंकाहरू छन्। तर, अहिले बैंकमा देखिएको समस्या लामो समयसम्म रहँदैन। अर्थतन्त्रका विविध क्षेत्रमा आउने समस्याको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा पर्ने गर्दछ। घरजग्गा र सेयर मूल्यमा आउने गिरावटले बैंकिङलाई प्रभावित गरिरहेको हुन्छ। त्यस्तै, स्वदेश वा विदेशमा उत्पादन तथा प्रशोधन उद्योगमा आउने समस्याले पनि बैंकलाई गाह्रो बनाइरहेको हुन्छ। आयातमा हुने गिरावटदेखि देशबाट विद्यार्थी बाहिर जाँदाको प्रभावसम्म बैंकिङमा पर्छ। बैंकिङको अन्य क्षेत्रसँग पारस्पारिक सम्बन्ध हुने हुँदा अहिले देशकै आर्थिक सूचक नकारात्मक दिशातर्फ गएकाले त्यसको प्रभाव बैंकहरूको सूचकांकमा पनि परेको हो। यस्तो अवस्थामा देशकै वित्तीय सूचकांकलाई राम्रो बनाउँदा बैंक तथा वित्तीय संस्थासँगै उद्योग÷व्यवसायलगायत सबै क्षेत्र स्वतः राम्रो हुन्छ।

बैंकिङ क्षेत्रले जतिसकै अप्ठेरा भोगे पनि आजका दिनमा कोही उद्यमी बन्छु भनेर बैंकसम्म आइपुग्छ भने उसलाई नेपालमै केही गर्न उत्प्रेरित गर्ने क्षमता बैंकहरूसँग छ। नेपालका बैंक तथा वित्तीय संस्था उद्यमी बन्छु भन्नेलाई वित्तीय स्रोत व्यवस्थापनमा सहयोग गर्न सक्षम छन्। अहिलेको कठिन परिवेशमा पनि प्रभु बैंकका सबै शाखा कार्यालयबाट नवउद्यमीका ५/६ दर्जन कर्जा फाइल आइरहेका छन्। आएका फाइलको परियोजना अध्ययन गरेर सम्भावना देखिएका क्षेत्रमा ऋण लगानी गर्न रोकिएको छैन। पछिल्लो समय अधिकांश बैंकहरूले जलविद्युत्, होटल, शैक्षिक संस्थालगायतमा लगानी गरिरहेका छन्। तर, बैंकहरूले यो वा त्यो गरेका छौं भनेर प्रवद्र्धन (प्रमोट) नगर्ने भएकाले केही भएको छैन कि भन्ने अवस्था सिर्जना भएको हुन सक्छ। यद्यपि बैंकहरूले नवोदित र राज्यका लागि उपयुक्त लाग्ने ‘आइडिया’ लिएर आएको स्थितिमा ‘प्रोजेक्ट फाइनान्स’ गरिरहेका छन्। सबै आइडिया मूर्त बन्छन् भन्ने हुँदैन। सुरुआत आइडियाबाटै हुने र अन्तिम परिणाम विस्तारै देखिने भएकाले बैंकहरूले  कन्जुस्याइँबिनै काम गरिरहेका छन्।

बैंकलाई बजार माग तथा आपूर्तिअनुसार ब्याजदर परिवर्तन गर्नुपर्ने बाध्यता हुन्छ। उद्यम व्यवसाय गर्न वित्तीय क्षेत्रबाट ऋण प्रयोग गर्न तयार भएकाले बैंक ब्याजमा हुने परिवर्तनका लागि तयार भएमा खासै समस्या आउँदैन। तर, सुरुमा ऋण लिन सबै सर्त माने पनि पछि अनदेखा गर्ने प्रवृत्तिले समस्या ल्याएको छ। बैंक ब्याजदरको पछिल्लो १० वर्षको तथ्यांक तुलना गर्दा ‘मुटुको धड्कन’ जाँच गराउँदा आएजस्तो रेखाचित्र देखिन्छ। बैंक ब्याजदरको उतारउढावलाई उद्यमी/व्यवसायीले पनि समयसापेक्ष अंगीकार गर्दै जानुपर्छ।

अहिले संकटको समय छ। अधिकांश उद्यमी÷लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन्। तर, केही उद्यमीले अहिलेको अवस्थालाई लगानी अवसरको रूपमा प्रयोग गरेको भेटिन्छ। संकटको समय लगानी अवसर देख्ने उद्यमीको संख्या सानो होला तर संकटमा अवसर खोज्ने ‘भिजन’ केही उद्यमीको मात्रै नभएर सम्पूर्ण उद्यमी÷व्यवसायी, बैंक र सरकारको पनि हुनुपर्छ।

अहिले मुलुकको अर्थतन्त्रको जुन अवस्था छ, व्यवस्थापन तहमै छ। अर्थतन्त्र बचाउने गरी सबै मिलेर काम गर्नुपर्छ। सबै एकआपसमा जोडिएको हुनाले समस्या एउटालाई हुँदा सबैलाई अप्ठेरो पर्छ। बिग्रिँदा सबै बिग्रिन्छन्।  त्यसैले एकअर्कालाई बचाउने गरी मिलेर काम गर्नुपर्छ। आवश्यक पर्छ भने बाहिरबाट विज्ञ/परामर्श मगाएर काम गर्न सकिन्छ। नेपालजस्तो अवस्थाबाट गुज्रिएका विभिन्न देशहरूले पनि विभिन्न खाले मस्याबाट पार पाएका छन्। यस्तो अवस्थाबाट पार पाउन विदेशीले के गरे, विज्ञहरूले के सुझाए, अर्थशास्त्रीहरूले के पठाए भन्ने विषयमा विगतका नजिरलाई स्रोत (रिफरेन्स) लिएर अघि बढेमा मुलुकमै अवसर सिर्जना गरी अघि बढ्ने वातावरण बन्छ। यसले मुलुकमै केही गर्नुपर्छ भन्ने भावना विकास गराउँछ। 

575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका