जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पीएचडी होल्डर हुँ भन्नेले राष्ट्र बैङ्कको नक्कली स्विफ्टकोड बनाएर ठगे १७ लाख ३१ हजार

पीएचडी होल्डर हुँ भन्नेले राष्ट्र बैङ्कको नक्कली स्विफ्टकोड बनाएर ठगे १७ लाख ३१ हजार

काठमाडौँको बुढानीलकण्ठ बस्ने ४८ वर्षीय विष्णुबहादुर कार्की आफूलाई ‘पीएचडी होल्डर हुँ’ भन्छन् । ३ वटा विषयमा मास्टर्स डिग्री र पीएचडी हासिल गरेको बताउने विष्णु अमेरिकन कम्पनीबाट करोडौँ कृषि ऋण मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा अहिले प्रहरीको हिरासतमा छन् । ऋण मिलाइदिन्छु भनेर राष्ट्र बैङ्कको नक्कली स्विफकोड देखाएर कार्कीसहित दुईजना मिलेर १७ लाख ३१ हजार ठगेको उजुरी प्रहरीमा छ ।

बाजुराको बुढीनन्दा–१ घर भएका कार्कीसँग मिलेर ठग्ने अर्का आरोपी हुन्, काठमाडौँको नागार्जुन नगरपालिका–९ दुर्गानगर घर भएका ५५ वर्षीय नारायणप्रसाद खतिवडा । आरोपीहरूले सिन्धुलीको कमलामाई नगरपालिकामा सञ्चालित ‘सिन्धुली बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ सञ्चालन गर्न अमेरिकन कम्पनीबाट १० लाख ९९ हजार अमेरिकी डलर मिलाउँछु भनेर ठगेका हुन् ।

‘सिन्धुली बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ सञ्चालकको चिनजान नारायणप्रसाद खतिवडासँग हुन्छ । फर्म सञ्चालकले लगानी थप गर्ने योजना खतिवडासँग बताउँछन् । लगानी बढाउन बैंकबाट ऋण लिने योजना सुनेपछि खतिवडाले भन्छन्, ‘मैले पिएचडी गरेको एकजना ठुलो मान्छे चिनेको छु, उहाँले अमेरिकन कम्पनीबाट ऋण दिलाइदिनुहुन्छ, त्यसबापत उहाँलाई ६ करोड दिनुपर्छ ।’

मासिक २ दशमलव ५ प्रतिशत ब्याजदरमा १४ करोड ५१ लाख ९८ हजार नेपाल रुपैयाँ बराबरको डलर ऋण पाउने भएपछि फर्म सञ्चालक ६ करोड कमिसन दिन राजी भए । त्यसपछि कार्की र खतिवडाले विभिन्न बहानामा उनीहरूसँग रकम लिएको एसपी आचार्य बताउँछन् । आचार्य भन्छन्– ‘फर्म सञ्चालकलाई राष्ट्र बैङ्कमा पैसा आएको विश्वास दिलाउन आरोपीहरूले राष्ट्र बैङ्कको फर्जी स्विफ्टकोड बनाएको भेटिएको छ ।’

अमेरिकन कम्पनी पिएटी (प्रोसेस अटोमेशन टेक्नोलोजिज) सँग समन्वय कार्कीले वैदेशिक ऋण मिलाइदिने आश्वासन दिएर ठगी गरेका हुन् । एसपी आचार्य भन्छन्– ‘विदेशबाट रकम ल्याउन राष्ट्र बैंकसहित विभिन्न ठाउँमा रकम बुझाउनुपर्छ भनेर उनीहरुले रकम लिएपछि सम्पर्कविहीन भएका हुन् ।’

जाहेरवालालाई विश्वास दिलाउन उनीहरुले राष्ट्र बैङ्कको नक्कली स्टेटमेन्ट र स्विफ्टकोड देखाएको अनुसन्धानबाट थाहा भएको छ ।

५ वटा मुद्दा लागेको रेकर्ड

विष्णुबहादुर पहिलोपटक फौजदारी अपराध गरेको आरोपमा पक्राउ परेका होइनन् । यसअघि उनीविरुद्ध प्रहरीमा ५ वटा मुद्दा दर्ता भएको भेटिएको छ । विष्णु एन्ड सन्स प्रालि नामको कम्पनी पनि सञ्चालन गर्ने कार्कीबारे प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा ५ वटा मुद्दा दर्ता भएको भेटिएको अनुसन्धानका संलग्न डीएसपी मधु थापाले बताए ।

कार्कीले एयरलाइन्स कम्पनी सञ्चालन गर्ने नाममा पनि रकम असुल गर्ने गरेको भेटिएको छ । ‘एयरलाइन्स सञ्चालन गर्ने’ भनेर कार्कीले रकम लिएको भन्दै अन्य पीडितहरू पनि प्रहरीकहाँ पुगेका छन् । आरोपीहरूले ऋण दिलाउन मिटिङ गर्ने नाममा महाराजगन्जस्थित साम्वाला होटलमा भेट्ने र खर्च गराउने गरेका थिए ।

50
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका