जोडिनुहोस
मङ्लबार, मंसिर ११, २०८१
मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • ग्राहक आकर्षित गर्दै ‘एनआईएमबी पेवियर’

ग्राहक आकर्षित गर्दै ‘एनआईएमबी पेवियर’

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कार्डविना नै स्टिकर ट्याप गरेर भुक्तानी गर्न सक्ने भिसा वेयरेबल स्टिकर ‘एनआईएमबी पेवियर’ स्टिकर सञ्चालनमा ल्याएको छ ।बैंकले एक महिनादेखि सेवाग्राहीलाई उक्त प्रडक्ट सञ्चालनमा ल्याएको हो । एनआईएमबी पेवियर स्टिकर भुक्तानी गर्न प्रयोगकर्ताले बोकेको कुनै पनि डिभाइसबाट पीओएस मेसिनमा ट्याप गरी भुक्तानी गर्न मिल्ने टुल हो ।

हाल बैंकले प्रयोगमा ल्याएको कार्डबाट पनि ट्याप एन्ड पे गर्न सकिने भए पनि भुक्तानी अझै सरल बनाउन ग्राहकले बोक्ने कुनै पनि डिभाइसमा चिप भएको स्टिकर टाँस्ने सक्ने र त्यसलाई नै ट्याप गरी भुक्तानी गर्न सक्ने स्टिकर प्रयोगमा ल्याएको छ ।

अब ग्राहकले पीओएस मेसिनमा भुक्तानी गर्न कुनै पनि कार्ड बोक्नु पर्दैन । बैंकले ग्राहकलाई एउटा चिप भएको स्टिकर दिन्छ र ग्राहकले उक्त स्टिकरलाई आफ्नो नियमित प्रयोग गर्ने मोबाइल जस्ता डिभाइसमा उक्त स्टिकर टाँस्न सक्छन् । सोही स्टिकर पीओएस मेसिनमा ट्याप गरेर सहजै भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो ।

अहिले बैंकले प्रयोगमा ल्याएको कार्डबाट ट्याप गरेर भुक्तानी गर्न सकिने व्यवस्था छ । अब भुक्तानी गर्न कार्ड बोक्नु पर्दैन,’ बैंकका कार्ड विभाग प्रमुख बासु उपाध्यायले भने, ‘एउटा स्टिकर मोबाइलमा राखेर त्यसलाई पीओएस मेसिनमा ट्याब गरेर भुक्तानी गर्न सक्छौं ।’

ग्राहकले कुनै पनि पीओएस टर्मिनलमा बैंकको वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित कारोबार गर्न सक्ने नयाँ प्रविधि हो । उक्त प्रविधि नेपालमा डिजिटल भुक्तानीको नयाँ युग सुरुवात भएको बैंकको भनाइ छ ।

‘एनआईएमबी पेवियर कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने भन्ने उद्देश्यले डिजाइन गरिएको छ । यसले ग्राहकलाई भौतिक कार्ड वा मोबाइल वालेट बोक्नु नपर्ने अर्को विकल्प प्रदान गर्छ,’ उपाध्याय भन्छन्, ‘ग्राहकले आफ्नो घडी, की–चेन, मोबाइल फोनजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न सक्छन् । जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ ।’

नेपाल राष्ट्र बैंकले ट्याप एन्ड पेका लागि तोकेको ५ हजारसम्मको भुक्तानी गर्न पिन कोड राख्नु नपर्ने उनले बताए । ५ हजारभन्दा बढीको भुक्तानीमा भने पिनकोड चाहिन्छ । कार्डबाट ५ हजारसम्मको भुक्तानी पिन नभए पनि गर्न सकिन्छ । भिसा वेयरेबल स्टिकर भिसा कार्डजस्तै काम गर्ने स्टिकर वा चिपमा आधारित नयाँ डिजिटल प्रविधि हो ।

कार्डभन्दा सुरक्षित, मोबाइल एपबाट नियन्त्रण

एनआईएमबी पेवियरमा कार्डमा जस्तो नम्बर नदेखिने र एउटा स्टिकरमा प्रयोग भएको चिप आफ्नो डिभाइसमा टाँसिने भएकाले त्यसबाट आफ्नो कार्ड नम्बर गलत प्रयोग हुने सम्भावना नरहने बैंकका कार्ड विभाग प्रमुख उपाध्याय बताउँछन् ।

कार्ड हटाएको अवस्थामा त्यसको नम्बर केही वेबसाइटमा विनापासवर्ड पनि प्रयोग हुन सक्ने भएकाले जोखिमपूर्ण हुने उनले बताए ।

तर, एनआईएमबी पेवियरमा कार्ड नम्बर नै नदेखिने भएकाले त्यो जोखिम रहँदैन, जसले कार्डभन्दा थप सुरक्षित हुने उनको दाबी छ । यतिमात्र नभई एनआईएमबी पेवियर मार्फत भुक्तानी गर्ने वा नगर्ने एपबाट नियन्त्रण गर्न सकिने भएकाले थप सुरक्षित र सहज हुने उनको भनाइ छ ।

‘एनआईएमबी पेवियर नियन्त्रण एपका माध्यमबाट गर्न सकिन्छ । कुनै कारोबार गर्न दिने वा नदिने एपबाट नै सेट गर्न सकिन्छ,’ उनले भने, ‘कारोबार गर्दा एपबाट इनेबल र कारोबार गर्न आवश्यक नभए त्यसलाई डिसेबल गरेर राख्न सकिन्छ । कारोबारको पिन कोड पनि एपबाट नै परिवर्तन गर्न सकिन्छ ।’

एनआईएमबी पेवियर सुरक्षामा सम्झौता नगरी भुक्तानीमा थप सहज भएको उनको दाबी छ । यसमा एउटा कार्ड मात्रै आबद्ध गर्न सकिने र डेबिट तथा क्रेडिट दुवै कार्ड प्रयोग गर्नेले दुइटा स्टिकर चाहिने उनले बताए ।

बैंकको लगानी रहेको थैली डिजिटल वालेटमा समेत बैंक खाता र कार्डलाई लिंक गरेर त्यसमार्फत कारोबार गर्न सकिने उनले बताए । थैली वालेटमा बचत खाता नभए पनि बैंकको क्रेडिट कार्ड लिंक गरेर त्यसबाट समेत क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने उनको भनाइ छ । कनेक्ट आईपीएसमा समेत कार्ड लिंक गर्न सकिने छ ।

युवा र विद्यार्थीमा आकर्षण

एनआईएमबी पेवियर युनिक प्रडक्ट भएकाले युवा र विद्यार्थीमा बढी आकर्षण देखिएको कार्ड विभाग प्रमुख उपाध्यायले बताए । बैंकले उक्त प्रडक्ट ल्याएको एक महिना अवधिमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको उनले बताए ।

ग्राहक माग अनुसार बैंकले उक्त स्टिकर प्रदान गरिरहेको छ । इन्टरनेट कनेक्सन नभए कुनै पनि पीओएस मेसिनमा ट्याप एन्ड पे गरेर सहजै भुक्तानी गर्न सकिन्छ ।

‘कलेज पढ्ने विद्यार्थीलाई उक्त प्रडक्टले बढी आकर्षण गरेको पाइएको छ । एटीएमबाट नगद झिक्ने ग्राहकका लागि भने त्यति उपयोगी नहुन सक्छ । सबै एटीएम एनआईएमबी पेवियर उपयुक्त नहुन सक्छ । तर, पसलमा गएर कार्डमार्फत भुक्तानी गरी सामान खरिद गर्ने ग्राहकका लागि यो धेरै सहज हुन्छ,’ उनले भने, ‘हाम्रा पनि ६० एटीएममा मात्रै उक्त स्टिकर ट्याप गरेर नगद झिक्न सकिन्छ ।’

३ महिना विशेष अफर

बैंकले एनआईएमबी पेवियर स्टिकर सुरु गरेको अवसरमा तीन महिनासम्म विशेष अफर समेत ल्याएको छ । उक्त स्टिकर प्रयोग गर्ने प्रयोगकर्तालाई तीन महिनाको शुल्क १ हजार रुपैयाँ छ । तर, सेवा सुरु भएको तीन महिनाभित्र स्टिकर लिने र लिएको तीन महिनाभित्र पीओएस मेसिनमा ट्याप गरी १२ वटा कारोबार गरे १ हजार रुपैयाँ फिर्ता हुने बैंकले जनाएको छ ।

उक्त स्टिकर प्रयोग गर्न ग्राहकलाई प्रोत्साहन गर्न उक्त अफर ल्याएको बैंकका कार्ड विभाग प्रमुख उपाध्यायले बताए ।

‘डेबिट कार्डको तीन वर्षको शुल्क १५ सय रहेकोमा बैंकले यसमा भने १ हजार मात्रै शुल्क लिनेछ । उक्त सेवा सुरु गरेको ३ महिनाभित्र उक्त स्टिकर लिने ग्राहकले १२ वटा कारोबार स्टिकर लिएको मितिले ३ महिनामा गरेमा उक्त १ हजार शुल्क पनि फिर्ता हुनेछ ।’

बैंकले चलाइरहेको कार्ड पनि ट्याप एन्ड पे गर्न मिल्छ । तीन वर्ष अगाडि ल्याइएको उक्त कार्ड धेरैजसो ग्राहकले पीओएसमा चिप घोटेर मात्रै भुक्तानी गर्दै आएको उनले बताए ।

ग्राहकलाई ट्याप एन्ड पेमा प्रोत्साहन गर्न एनआईएमबी पेवियर स्टिकरसँगै अफर पनि ल्याएको उनले बताए । कार्डमा ट्याप एन्ड पेमार्फत भुक्तानी गर्ने सुविधा हुँदा सीमित ग्राहकले मात्रै यस्तो गर्ने गरेको उनले बताए । कार्डमार्फत हुने कुल कारोबारमा साढे ३ प्रतिशत मात्रै ट्याप एन्ड पेमार्फत हुने गरेको छ ।

बैंकको कुन–कुन कार्ड प्रयोगमा छ ?

हाल बैंकले डेबिट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड र भर्चुअल प्रिपेड कार्ड उपलब्ध गराउँदै आएको छ । डलर नभएका ग्राहकलाई बैंकले डलर कार्ड जारी गर्न पाउँदैन । तर, राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि ग्राहकले डलर खाता नभए पनि वर्षमा ५ सय अमेरिकी डलरसम्म खर्च गर्न सक्ने गरी डलर कार्ड लिन सक्ने व्यवस्था छ ।

डिजिटल माध्यमबाट मात्रै खर्च गर्न सक्ने गरी उपलब्ध गराउने कार्डलाई बैंकले भर्चुअल प्रिपेड कार्ड भन्दै आएको छ । यो कार्डबाट राष्ट्र बैंकले तोकेको क्षेत्रमा मात्रै खर्च गर्न सक्छन् ।

ग्याम्लिङ, साइट, विटक्वाइन जस्ता कारोबार गर्न नसकिने भए पनि अनलाइन सपिङ, फेसबुक विज्ञापन जस्तो क्षेत्रमा खर्च गर्न सकिने बैंकका कार्ड विभाग प्रमुख उपाध्यायले बताए ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?