होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
आइतवार, पुस २१, २०८१
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • सेबोनका नयाँ अध्यक्ष उत्रिए एक्सनमा, कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबारमाथि अनुसन्धान

सेबोनका नयाँ अध्यक्ष उत्रिए एक्सनमा, कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबारमाथि अनुसन्धान

सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपाल राष्ट्र बैंकले खराब वित्तीय अवस्थाका कारण ६ महिनाका लागि कारबाही गरेको अवस्थामा सेयर मूल्यमा पोजेटेभि सर्किट लाग्नु स्वाभाविक नभएको भन्दै अनुसन्धान थाल्न लगाएका हुन्।

अध्यक्ष श्रेष्ठको निर्देशनमा सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेेप्से)सँग बैंकको सेयर कारोबारबारे विवरण मागेको छ। सेबोनले नेप्सेमा बिहिबार पत्र पठाएको हो।

नाजुक वित्तीय अवस्थाका कारण राष्ट्र बैंकले कारबाहीस्वरुप कर्णाली डेभलपमेन्ट बैंकलाई ६ महिनाका लागि निक्षेप संकलन, निक्षेप खाता खोल्न र कर्जा प्रवाहमा मंसिर ११ गते रोक लगाएको थियो।।

राष्ट्र बैंकले बैंकको सम्पूर्ण कारोबार ६ महिनाका लागि बन्द गरिदिएको भोलिप्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो। यसलाई अस्वाभाविक ठानेर सेबोनले अुसन्धान अगाडि बढाएको हो।

‘बैंकको सेयर मूल्यमा देखिएको वृद्धिका विषयमा सेबोनले प्रारम्भिकरुपमा अध्ययन थालेको छ,’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले भने, ‘आवश्यक थप विवरण माग गर्दै हामीले नेप्सेमा पत्र पठाएका छौं।’

बुधबार कारोबार सुरु भएदेखि नै उकालो लागेको बैंकको सेयर मूल्य अन्तिममा ७६.९० रुपैयाँ बढेर प्रति कित्ता ८४५.९० रुपैयाँ पुगेको थियो।

बैंकको २ लाख ५० हजार ४३९ कित्ता सेयर २० करोड १३ लाख रुपैयाँमा किनबेच भएको थियो। त्यसदिन बैंकको सेयर ४१ र ७२ नम्बर ब्रोकरबाट सबैभन्दा धेरै कारोबार भएको थियो। ४१ नम्बर ब्रोकरबाट ५६ हजार ८८९ र ७२ नम्बर ब्रोकरबाट ५६ हजार ५१२ कित्ता सेयर किनिएको थियो।

बिजमाण्डूले त्यसै दिन ‘सेयर बजारमा जानाजान फस्दै लगानीकर्ता, कारबाहीमा परेको बैंकमा आँखा चिम्लेर लगानी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

कम्पनीको सेयर मूल्यमा उसको बिजनेस, वित्तीय अवस्था, कर्पोरेट गभर्नेन्स लगायत कुराले प्रभाव पार्छ। तर, खराब अवस्थाका कारण आर्थिक कारोबार नै ठप्प भएको बैंकको सेयर मूल्य उचालिएको थियो।

पछिल्लो एक वर्षमा बैंकको सेयर मूल्य २७१ रुपैयाँबाट तीन गुणाभन्दा माथि पुगेको हो। बैंकले पेस गरेको वित्तीय विवरणभन्दा वास्तविक अवस्था झनै खराब देखेपछि राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमै समय तोकेर प्रतिबन्ध लगाएको छ।

बैंकको वित्तीय अवस्था मात्रै नभएर, वित्तीय सुशासनमा पनि गम्भीर प्रश्न छ। बैंकले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ७.७२ प्रतिशत खराब कर्जा सहितको वित्तीय विवरण पेस गरेकामा राष्ट्र बैंकले सुपरिवेक्षणका क्रममा निष्कृय कर्जा ४०.८५ प्रतिशत रहेको पाएको थियो।

यस्तै, बैंकको न्यूनतम पुँजीकोष अनुपात लगायतको वित्तीय सूचकले समेत तोकिएको सीमा ब्रेक गरिसकेको वित्तीय विवरणले नै देखाउँछ।

यस वर्ष पहिलो त्रैमासको सार्वजनिक वित्तीय विवरण अनुसार बैंक १ करोड ९८ लाख रुपैयाँ नोक्सानीमा देखिन्छ। यस्तै, प्रति सेयर आम्दानी ३.९४ रुपैयाँ ऋणात्मक र प्रति सेयर नेटवर्थ ९७.५० रुपैयाँ रहेको उल्लेख गरिएको छ।

जबकि बैंकले उल्लेख गरेका वित्तीय विवरणभन्दा अवस्था समस्याउन्मुख रहेको भन्दै राष्ट्र बैंकले नयाँ व्यवस्थापनले सुधार गर्ने सर्तसहित कारोबारमै रोक लगाइसकेको छ।

कारबाहीमा परेको बैंकको सेयर मूल्य चलखेल गरेर उचालिएको आशंकापछि बिहिबार भने भाउ घटेको थियो। नेप्से बिहीबार ८.३० अंकले घट्दा कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.८४ प्रतिशत अर्थात ५७.९० रुपैयाँ घटेर प्रति कित्ता ७८८ रुपैयाँमा झरेको छ। बैंकको चुक्ता पुँजी ५० कोड २८ लाख रुपैयाँ छ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका