आर्थिक विशेष
जनकपुर शाखाको कर्जा असुली प्रक्रियाको समाचारप्रति सिद्दार्थ बैंकको स्पष्टीकरण
सिद्धार्थ बैंकले आफ्नो जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ र कर्जा असुली प्रक्रियामा अनियमितताको आरोपसम्बन्धी सञ्चार माध्यममा आएका समाचारलाई असत्य ठहर गर्दै स्पष्टीकरण दिएको छ। बैंकले ऋणीहरूसँगको कर्जा असुली प्रक्रिया प्रचलित कानूनी पद्धति र बैकिङ्ग अभ्यास अनुसार नै सम्पन्न गरेको बताएको छ।
बैंककाअनुसार, जनकपुर र क्षीरेश्वर शाखाबाट कर्जा लिएका ऋणीहरूले लामो समयसम्म भुक्तानी नगरेपछि मौखिक र लिखित पत्राचार गर्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। ऋण चुक्ता नगरेपछि कानूनी प्रक्रिया अनुसार धितो लिलामी गरी स्वीकृत बोलपत्रदाताको नाममा नामसारी गरिएको हो।
यस प्रक्रियामा असहमति जनाउँदै केही व्यक्तिहरूले जनकपुर शाखा कार्यालयमा धर्ना र नाराबाजी गरे, जसले बैंकको सेवा अवरुद्ध भएको थियो। सुरक्षाका लागि बैंकले स्थानीय निकायसँग समन्वय गर्दै शाखा प्रबन्धक र अन्य कर्मचारीलाई छलफलका लागि प्रहरी कार्यालयमा पठाएको थियो। यही अवस्थालाई केही व्यक्तिहरूले तोडमोड गरी शाखा प्रबन्धक पक्राउ भनी भ्रामक समाचार प्रचार गरेको बैंकको दाबी छ।
बैंकले कर्जा असुली प्रक्रिया प्रचलित कानूनी पद्धति अनुसार नै सम्पन्न गरेको भन्दै असन्तुष्ट पक्षलाई न्यायिक उपचारका लागि सक्षम निकायमा जान आग्रह गरेको छ। बैंकले कर्जा असुली प्रक्रिया र सेवा सञ्चालनमा अवरोध सिर्जना नगर्न सबै पक्षलाई अनुरोध गर्दै यसप्रकारका भ्रान्तिपूर्ण समाचारले भ्रम नफैलाउन चेतावनी दिएको छ।
बैंकले कानूनी प्रक्रिया अनुसार कार्य सम्पादन गरेको र प्रकाशित समाचार असत्य रहेको बताउँदै सेवा निर्वाध सञ्चालनका लागि अपिल गरेको छ।