नेपालकी पहिलो महिल राजदुत विन्दाश्वरी शाहको निधन भएको छ । उनको ९२ वर्ष उमेरमा बिहीबार बिहान निधन भएको हो ।सन् १९५९ मा लोकसेवा आयोगको परीक्षा पास गरी परराष्ट्र मन्त्रालयमा जागरि सुरु गरेकी शाहले सन् १९८८ देखि १९९१ सम्म भारतको लागि नेपाली राजदुतको रुपमा काम गरेकी थिइन् । परराष्ट्रमा जागिर सुरु गरेको दुई वर्षमै उनलाई वाशिङ्टन डीसीस्थित नेपाली दूतावासमा पहिलो पोस्टिङ दिइएको थियो । त्यतिबेला अमेरिकाका लागि नेपाली राजदुत मातृका प्रसाद कोइराला थिए । सन् १९६५ सम्म अमेरिकामा रहेकी उनी त्यसपछि नेपाल फकिइन् । सन् १९७२ देखि पुनः ढाकास्थित नेपाली राजदुतावासमा काम गरिन् । १९७६ सम्म बंगलादेश बसेकी शाहलाई तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहले भारतको राजदुत नियुक्त गरेका हुन् ।
ढाकामा उनले बंगलादेशसँगको कूटनीतिक सम्बन्ध स्थापना गर्दै नेपाली दूतावास स्थापना गरेकी हुन् । नयाँ दिल्लीमा राजदूतको रूपमा उनले नेपालको पञ्चायती प्रणालीबाट बहुदलीय प्रजातन्त्रमा रूपान्तरणको संवेदनशील समयमा काम गरेकी हुन् ।वि.सं. १९८९ फागुन १ गते तदनुसार सन् १९३३ फेब्रुअरी १३ तारिखमा भारतको दार्जिलिङस्थित कुर्सेङमा जन्मिएकी विन्दाश्वरी शाह पद्मसुन्दर मल्ल र जगतलक्ष्मी मल्लकी छोरी हुन् । उनका पिता जापान र अमेरिका अध्ययन गर्न गएको कारण राणा प्रधानमन्त्रीले उनका पितासहित परिवारलाई देश निकाला गरेका थिए । शाहले प्रारम्भिक शिक्षा कुर्सेङको सेन्ट हेलेन कन्भेन्ट स्कुलबाट प्राप्त गरिन् । सन् १९५६ मा कोलम्बिया विश्वविद्यालय अन्तर्गतको बार्नार्ड कलेजबाट लिबरल आर्टस् विषयमा स्नातक गर्ने पहिलो नेपाली महिला बनेकी उनले १९५८ मा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको स्कुल अफ एडभान्स्ड इन्टरनेसनल स्टडिजबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर उपाधि हासिल गरिन् ।शाह अमेरिकी कलेजबाट ग्र्याजुयट गर्ने पहिलो नेपाली महिला हुन् ।सन् १९६६ मा शाहले जोन हप्किन्स विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनरत डा. नारायण केशरी शाहसँग विवाह गरिन् । उनीहरूले दुई छोराहरू अनिल केशरी शाह र स्व. उज्जल केशरी शाहलाई जन्म दिइन् ।शाहका जेठा सुपुत्र अनिल पूर्व बैंकर तथा हाल राष्ट्रि स्वतन्त्र पार्टीका नेता हुन् । अनिलले नबिल, मेगालगायत बैंकमा काम गरिसकेका छन् ।विन्दाश्वरी शाहले परराष्ट्र मन्त्रालयमा तीन दशकभन्दा बढी समय बिताउँदै उनले नेपालको परराष्ट्र नीतिलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।