जोडिनुहोस
शनिबार, चैत्र ८, २०८१
शनिबार, चैत्र ८, २०८१
  • होमपेज
  • केवाइसीमा लापरवाही गर्ने बीमकलाई पाँच करोड रूपैयाँसम्म जरिवाना

केवाइसीमा लापरवाही गर्ने बीमकलाई पाँच करोड रूपैयाँसम्म जरिवाना

बीमाको माध्यमबाट हुनसक्ने सम्पत्ती शुद्धिकरणलाई नियन्त्रण र निरूत्साहित गर्नका लागि बीमा नियामक, नेपाल बीमा प्राधिकरणले मुद्रा निर्मलीकरण सम्बन्धमा विभिन्न प्रावधानहरू लागू गरेको छ। यसबाहेक नियमित स्थलगत र गैरस्थलगत निरिक्षणको माध्यमबाट समेत बीमकको कारोबारमाथि निगरानीको प्रयास गरिरहेको छ।

यसबाहेक नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले नियमितरूपमा औपचारिक बैंकिङ कारोबार र वित्तीय कारोबारमाथि निगरानी राखेर प्राधिकरणलाई निमयितरूपमा सूचना प्रवाह गरिरहेको छ। यस्तो सूचनाका आधारमा पनि बीमा प्राधिकरणले बीमकको कारोबार सम्बन्धमा विस्तृत अनुसन्धान गरेर इकाईलाई अनुसन्धान प्रतिवेदन दिने गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचार सम्बन्धमा अनुसन्धानका क्रममा आरोपितहरूको सम्पत्ती र श्रोत पहिचान गर्ने क्रममा नियमितरूपमा बीमा कम्पनी र प्राधिकरणसँग लिखितरूपमा जानकारी र विवरण संकलन गर्दै आएको छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले समेत वित्तीय अपराध सम्बन्धि अनुसन्धानको क्रममा विशेषगरी जीवन बीमालेख, बीमाङ्क रकम, बीमालेख समर्पण, बीमालेख कर्जा सुविधाको उपभोग र बीमालेखको रकम भुक्तानीको सम्बन्धमा सम्बन्धित आरोपितको जानकारी संकलन गरेर अनुसन्धान गर्छ।

बीमा कारोबारको माध्यमबाट हुनसक्ने मुद्रा निर्मलीकरण वा सम्पत्ती शुद्धिकरणलाई नियन्त्रण गर्ने उद्देश्यले प्राधिकरणले गोएमएल सफ्टवेयरमार्फत थ्रेसहोल्ड(वित्तीय सीमा) भन्दा माथिको बीमा कारोबारका बारेमा बीमकको सूचना वित्तीय सूचना इकाईलाई उपलब्ध गराउने प्रबन्ध मिलाएको छ।

प्राधिकरणले नीतिगतरूपमा नै निरूत्साहित गर्नका लागि बीमा गर्नुपूर्व र बीमा गरि सकेपछि पनि ग्राहक पहिचानको कार्यलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न बीमकलाई निर्देशन दिएको छ। यसमा कुनै पनि लापरवाहीको संभावनालाई निरूत्साहित गर्नका लागि, बीमकले आफ्ना ग्राहकसँग बीमा सम्बन्धि कुनै पनि कारोबार गर्दा ग्राहक पहिचान सम्बन्धित प्रावधानको पालना गर्न चुकेमा पाँच करोड रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान समेत प्राधिकरणले लागू गरेको छ। यति मात्र नभएर लापरवाहीको अवस्था हेरेर प्राधिकरणले कुनै निश्चित वा सबै बीमालेख बिक्री गर्न समेत रोक लगाई दिनसक्छ।

सम्पत्ती शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि(पहिलो संशोधन) निर्देशन २०८१ मा दफा २७ को उपदफा ३(५) मा ग्राहक पहिचान सम्बन्धी कार्य नगरेमा पहिलो पटक प्राधिकरणले लिखितरूपमा सचेत गराउने प्रावधान छ। यसैगरी दोश्रो पटक १० लाख रूपैयाँ देखि ५० लाख रूपैयाँसम्म नगद जरिवाना हुनसक्छ।

दोश्रो पटकको कारवाहीबाट पनि सुधार नदेखिएको अवस्थामा तेश्रो पटकमा पचास लाख रूपैयाँदेखि तीन करोड रूपैयाँसम्म जरिवाना प्राधिकरणले गर्नसक्छ। यसैगरी चाैथो र अन्तिम पटकको कारवाहीमा तीन करोड रूपैयाँदेखि पाँच करोड रूपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ।

बीमालेख बिक्री गर्दा वा बीमाशुल्क संकलन गर्दा १ लाख रूपैयाँ वा सो भन्दा बढी रकम नगदमाध्यमबाट बीमकले स्वीकार्नु हुँदैन । नगदमाध्यमबाट स्वीकारेको अवस्थामा बीमकले स्पष्टीकरण पेश गर्नुपर्ने र पटक पटक लापरवाही गरे नसिहत सहित जरिवानाको कारवाही समेत व्यहोर्नुपर्ने अवस्था हुनसक्छ।

बीमा प्राधिकरणका अधिकारीहरूका अनुसार बीमकले आवश्यक कागजी प्रकृया पुरा गरेर बीमाको प्रस्ताव स्वीकारेपनि शंकास्पद कारोबार सम्बन्धमा तत्कालै वित्तीय सूचना इकाईलाई जानकारी गराएको अवस्थामा बीमकको दायीत्व पुरा भएको मानिन्छ। अवैध श्रोतबाट आर्जित रकम वा आर्जनलाई उजागर गर्न बीमकले सघाएले यहाँ बीमकले उन्मुक्ति पाउने आधार खडा भएको हो। तर शंकास्पद श्रोतबाट प्राप्त भुक्तानी स्वीकारेर सम्बन्धित निकायमा रिपोर्टिङ नगरेको अवस्थामा बीमकले लापरवाही गरेको अवस्था मानिन्छ।

240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका