

नेपाल एसबिआई बैंक “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स” बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको यो प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा दिएको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्राप्त गरेको हो।
उक्त अवार्ड नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमुख संचालन अधिकृत विकास आनन्द ले ग्रहण गरेका थिए। कार्यक्रममा मुख्य निर्णायक प्रा. डा. फत्त बहादुर केसीले अवार्ड प्रदान गरेका थिए भने शेयरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्सका अध्यक्ष मोहनराज ओझा को उपस्थिति रहेको थियो।
सो कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक को पनि उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकसँग १०७ शाखा, २६ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ४ प्रादेशिक कार्यालय, १९८ एटीएम, र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
नेपालको बैंकिङ क्षेत्रमा लामो अनुभव र सेवा दिंदै आएको नेपाल एसबिआई बैंकलाई कर्पोरेट उत्कृष्टताको सम्मान प्राप्त हुनु बैंकको स्थायित्व, सेवाको स्तरीयता र कर्पोरेट व्यवस्थापनमा प्रभावशाली भूमिकाको प्रमाण भएको बैंकले जनाएको छ।