
ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी, विशेष गरी महिला उद्यमीलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ योजना सार्वजनिक गरेको छ। रोजगार प्रवर्द्धन, सामाजिक विकास तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणलाई समर्थन गर्ने उद्देश्यसहित बैंकले आकर्षक सुविधासहित यो कर्जा योजना ल्याएको हो।
महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरणमा संलग्न घरेलु, साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिइनेछ। बैंकले न्यूनतम ब्याजदरमा अधिकतम १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्नेछ। महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्वमा रहेका व्यवसायहरूले मात्र यो कर्जा सुविधा लिन सक्नेछन्। कर्जा लिने उद्यमीहरूलाई बैंकले डिजिटल उपहार समेत प्रदान गर्ने जनाएको छ।
ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा मान्यता पाएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट समेत सम्मानित बैंकका रूपमा स्थापित यस वित्तीय संस्थाले देशभर ७७ वटै जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरिसकेको छ। बैंकका ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ विदेशस्थित प्रतिनिधि कार्यालयहरूमार्फत सेवा प्रदान गरिरहेको छ।
बैंकले देशभरका ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउनुका साथै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































