जोडिनुहोस
शनिबार, बैशाख १३, २०८२
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल र सुलभ कर्जा पाउने

प्रहरी कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल र सुलभ कर्जा पाउने

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच प्रहरीको तलबी बचत खाता संचालन तथा कर्जासम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा सेवा सुविधा थप गर्न सम्झौता भएको छ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभूत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जामा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ।

त्यस्तै, बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहीद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) बैंकको नियम अनुसार २० वर्षसम्मको ५० लाख रुपैयाँसम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षका लागि गाडी कर्जा उपलब्ध हुनेछ। प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा ५ लाख रुपैयाँको बीमा हुने सम्झौतामा उल्लेख छ।

नियमअनुसार बिदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बीमा दाबी नहुने गरी बीमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बीमा बापत उपलब्ध गराउने गरी बीमा गराउनु पर्नेछ। उक्त बीमाका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क लिई बीमा गर्न सकिने बताइएको छ।

यसैगरी, सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई ३ पाङ्ग्रे अटो रिक्सा खरिद तथा संचालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्वःपूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयंले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने छ। सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने सम्झौता भएको छ।

साथै, कर्जा ५ वर्षको वा बढीमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ। नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहीद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा संचालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ।

साथै, घर कर्जा, एसएमई तथा कृषि कर्जाका लागि कर्जा सुरक्षा बापत घररजग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ। उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागू हुनेछ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताए।

150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका