
एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई दुई महिनाको तलब बराबर ‘क्लोजिङ बोनस’ दिएको छ । बैंकले साउन १ गते नै दुई महिनाको आधारभूत तलब बराबरको रकम आफ्नो खातामा जम्मा गरिदिएको एक कर्मचारीले जानकारी दिए ।
बैंकहरुले आर्थिक वर्ष सकिएले क्लोजिङ भएसँगै कर्मचारीलाई उक्त आर्थिक वर्षको अनुमानित नाफाको आधारमा पाउने बोनसको करिब आधा हिस्सा अग्रिम बोनसको रुपमा कर्मचारीलाई दिदै आएका छन् ।
अहिले २ महिनाको बोनस पठाएको बैंकले बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा थप बोनस दिन्छ । एनएमबि बैंकको करिब चार महिनाको तलब बराबरको बोनस दिने अवस्था रहेपनि अहिलेको लागि २ महिनाको तलब बराबरको बोनस पठाएको हो ।
एनएमबि बैंकमा २०५३ जना कर्मचारी रहेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
बोनस ऐन २०३० को व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको नाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ ।
केही बैंकहरुले क्लोजिङ बोनस भन्दै आंशिकरुपमा धमाधम कर्मचारीको खातामा बोनस पठाएका छन् । केही बैंकले भने साधारणसभामा मात्रै एकमुष्ट बोनस दिने भएका छन् ।
‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ को उपदफा (१) मा भनिएको छ । सोही व्यवस्थाका आधारमा बैंकहरुले हरेक वर्ष आर्जन गरेको नाफाको आधारमा कर्मचरीलाई बोनस वितरण गर्दै आएका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































