जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • पुँजीकोष दबाबमा रहेका बैंकहरुलाई नाफामा वृद्धिले राहत

पुँजीकोष दबाबमा रहेका बैंकहरुलाई नाफामा वृद्धिले राहत

पुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्थामा सुधार भएको छ। नाफा बढेर प्रोभिजनिङ राइट ब्याक हुँदा सुधार भएको पुँजीकोषले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानीको ‘स्पेस’ फराकिलो बनेको छ।

अधिक तरलताका बीच पुँजीकोषको चापका कारण अधिकांश बैंकहरुको व्यवसाय संकुचित भइरहेका बेला प्रोभिजनिङ घटेर नाफा बढेपछि लगानीको ‘स्पेस’ फराकिलो बनेको हो। पुँजीकोषमा सुधार भइ बैंकहरुको व्यवसाय विस्तार क्षमता बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष बढ्नु भनेको लगानीको स्पेस थप बलियो हुनु हो। पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको पुँजीकोष अनुपात ०.५५ प्रतिशत विन्दुले वृद्धि भइ १३.०५ प्रतिशत पुगेको छ।

नियामकीय प्रावधान अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले पुँजीकोष ११ प्रतिशत कायम गर्नुपर्छ। जसमध्ये प्राथमिक पुँजीकोष साढे ८ प्रतिशत र पुरक पुँजीकोष साढे २ प्रतिशत हुनुपर्छ।

पुँजीकोषको सीमा कायम गर्न नसक्दा लगानी विस्तार गर्न पाइँदैन। पुँजीकोष जति धेरै हुन्छ, त्यति नै लगानी क्षमता हुन्छ।

नाफामा वृद्धिले पुँजीकोषमा सुधार हुँदा बैंकहरुको लगानीको स्पेस फराकिलो बनेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ बताउँछन्।

‘बैंकहरुको नाफा राम्रो बढेको छ। ऋण असुलीमा सुधार हुँदा प्रोभिजनिङ ब्याक भएसँगै पुँजीकोष सुधार भएको छ,’ उनले भने, ‘प्रोभिजनिङ घटेर नाफा बढ्दा त्यसले पुँजीकोष सुधारिएको हो।’

खराब कर्जामा वृद्धिले नोक्सानी बढ्दा खुम्चिएको लगानी क्षमता राष्ट्र बैंकको सहुलियतका कारण प्राभिजनिङ घट्दा पुन: बलियो भएको उनको भनाइ छ।

‘पुरानो ऋण असुलीमा सुधार भइ पुँजीकोष सुधार हुँदा त्यसले लगानी स्पेस बढाउँछ,’ खालिङले भने, ‘राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सुविधाले प्रोभिजनिङ घटेको हो। त्यसले तत्कालका लागि लगानी स्पेस देखिएको छ। तर दीर्घकालीन रुपमा भने लगानी क्षमता बढ्दैन्।’

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा साढे ९ खर्ब भन्दा बढी तरलता थुप्रिएको छ। ऋणको माग सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरुले २.७५ प्रतिशत ब्याजमा झन्डै ६ खर्ब राष्ट्र बैंकमा राखेका छन्।

बैंकहरुले लागत कम गर्न घटाउँदै आएको ब्याजदरले बेस रेट घट्दै कर्जाको ब्याजदर इतिहासमै सबैभन्दा सस्तो भएको छ।

वाणिज्य बैंकहरुले गत वर्ष अघिल्लो वर्षको तुलनामा ४३.३० प्रतिशत धेरै अर्थात ७१ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन खनियाँ लगानीभन्दा असुलीमा केन्द्रित हुँदा पुँजीकोष सुधार भएको बताउँछन्।

‘हामीलाई अघिल्लो वर्षदेखि पुँजीकोमा चाप थियो। आर्थिक गतिविधि प्रभावित हुँदा नोक्सानी बढिरहेको थियो,’ उनले भने, ‘नोक्सानी बढ्दै जाँदा व्यवसाय विस्तार संकुचित हुन्छ। गत वर्ष हामीले लगानीभन्दा पनि असुलीलाइ नै प्राथमिकतामा राख्यौं। जसले गर्दा पुँजीकोषमा सुधार भएर लगानी स्पेस बढेको छ।’

पछिल्लो एक वर्षमा एनआइसी एसिया बैंकको पुँजीकोष २.९७ प्रतिशत विन्दुले बढेको छ। अघिल्लो वर्ष बैंकको पुँजीकोष अनुपात ११.०३ प्रतिशत रहेकोमा गत असार मसान्तमा १४ प्रतिशत पुगेको छ।

एनआइसी एसियापछि कृषि विकास बैंकको पुँजीकोष २.१५, कुमारी बैंकको १.५६, स्टान्डर्ड चार्टर्ड बैंकको १.८२, प्रभु बैंकको १.५३ र ग्लोबल आइएमइ बैंकको १ प्रतिशत विन्दुले बढेको छ।

895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका