जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • जेनजीमाथि प्रहरी बर्बररुपमा प्रस्तुत भएपछि अनाहकमा १९ युवाले गुमाए ज्यान

जेनजीमाथि प्रहरी बर्बररुपमा प्रस्तुत भएपछि अनाहकमा १९ युवाले गुमाए ज्यान

सरकारले आफ्नो कुकृत्यविरुद्धको आवाज दबाउन सामाजिक सञ्जाल बन्द गराएको विरोधमा सोमबार बिहान ९ बजे स्वतस्पूर्तरुपमा माइतीघरमा जम्मा भएका जेनजीले नारा लगाए- फ्रिको पेट्रोल हाल्दैनौं, मासुभातमा बिक्दैनाैं।
माइतीघरमा जम्मा भएका युवा ११ बजे नयाँ बानेश्वरतर्फ अगाडि बढे। प्रदर्शनमा स्कुल कलेजका विद्यार्थी थपिंदै गए। उनीहरुका हात हातमा भ्रष्टाचार र कुशासनविरुद्ध प्लेकार्ड थिए।

उनीहरु कुनै राजनीतिक दलको आ‍ह्वानमा प्रदर्शनमा सहभागी भएका होइनन्। अभिव्यक्ति स्वतन्त्रता र ‘ट्याक्स पेयर’को पक्षमा नारा लगाइरहेका उनीहरुको शान्तिपूर्ण प्रदर्शनलाई प्रहरीले रोक्न सकेन। युवाहरु निषेधित क्षेत्रको घेरा तोडेर अगाडि बढे। प्रहरी पनि सहजै ब्याक भयो।

प्रहरी ब्याक हुँदै संसद गेट अगाडि रोकियो। त्यतिबेलासम्म प्रदर्शनकारीले संसद् भवनको पश्चिमतिर र मुल सडकमा प्रदर्शन गरिरहेका थिए।

प्रदर्शनकारी दक्षिण गेटबाट भित्र प्रवेश गर्न खोजे। त्यसपछि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो। तर, त्यसको बेवास्ता गर्दै कतिपय प्रदर्शनकारी प्रहरी गाडीमा चढे।

त्यतिखेर प्रहरी संसद् भवन परिसर बाहिर र भित्र उभिएका थिए। प्रदर्शनकारी संसद् भवन परिसरमा गेटमाथि चढ्न खोजेपछि प्रहरीले फेरि अश्रुग्यास प्रहार गर्‍यो। प्रहरीको व्यवहारबाट प्रदर्शनकारी थप उत्तेजित भए।

उनीहरुले प्रधानमन्त्री केपी ओली विरोधी नारा चर्काउँदै भित्र छिर्ने प्रयास जारी राखे। प्रहरीले पनि अश्रुग्यासले प्रदर्शनकारी तितरबितर नभएको भन्दै अन्धाधुन्धरुपमा गोली चलायो।

प्रहरी कतिसम्म अराजक भयो भने उसले प्रदर्शनकारीलाई अस्पताल हाताभित्र प्रवेश गरेर समेत अश्रुग्यास र गोली हान्यो। प्रहरीको बर्बर दमनमा परी डेढ दर्जन युवाले अनाहकमा ज्यान गुमाए।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल र एभरेष्ट अस्पतालमा ३/३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर साढे तीनसय भन्दा बढी घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?