जोडिनुहोस
सोमवार, पुस २८, २०८२
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • ओली र लेखकलाई पक्राउ गर्न दबाब

ओली र लेखकलाई पक्राउ गर्न दबाब

जेनजी अगुवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा दबाबमूलक अभियान सुरु गरेका छन्। उनीहरुले जेनजीको भदौ २३ गतेको प्रदर्शन दबाउन मुख्य भूमिका निर्वाह गरेको भन्दै ओली र लेखकलाई पक्राउ गर्न दबाबमूलक अभियान सुरु गरेका हुन्। जेनजी अगुवा रक्षा बमले जेनजीको प्रदर्शनमा भएको आमहत्याका दोषीलाई कारबाही गर्न माग गरेकि छन्।

‘अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ,’ बमले फेसबुकमा लेखेकी छन्, ‘मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन् भन्ने अभिव्यक्ति दिने, जेनजीको आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हसाउँदै चुट्किला सुनाएर बसिरहेको छ। हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्। ’जेनजी अगुवा युजन राजभण्डारीले सामाजिक सञ्जालमा ‘हरेक गोलीको हिसाब हुनेछ। एरेस्ट केपी ओली’ भनेका छन्।

सुधन गुरुङले फेसबुकमा ‘देशका लागि गर या मर’को अवस्था भन्दै यो अभियानलाई ट्रेन्डिङ बनाउन आग्रह गरेका छन्।
‘द काउन्सिल अफ जेनजी’ लोगोसहित गुरुङले ओली र लेखकको फोटो राखेर पोस्टरसमेत सार्वजनिक गरेका छन्। ‘एरेस्ट केपी शर्मा ओली, एरेस्ट रमेश लेखक, एरेस्ट मर्डरर’ ह्यासट्यागमा बनाइएको पोस्टरमा ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौं’ भनिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए। भदौ २३ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि अन्धाधुन्धरुपमा गोली चलाउँदा १९ जनाको तत्कालै मृत्यु भएको थियो। त्यो दिन गोली लागेका ३०० भन्दा बढी प्रदर्शनकारीमध्ये ३० जना अझै अस्पतालमा उपचाररत छन्। गृह मन्त्रालयका अनुसार दुई दिने प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो।

२३ गतेको प्रदर्शनमा भएको दमन र २४ गते भएको विध्वंशबारे छानबिन गर्न सरकारले असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिसकेको छ।

आयोगले ओली र लेखकका साथै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई उपत्यका नछाड्न भनिसकेको छ।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका