
हिमालयन बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर पाकिस्तानी हबिब बैंकले दुई कारोबार दिनमा हस्तान्तरण गरेको छ। हबिबले हिमालयन बैंकमा आफ्नो नाममा रहेको संस्थापक सेयर बिहीबार र आइतबार दुई कारोबार दिनमा नेसनल लाइफ इन्स्योरेन्सलाई हस्तान्तरण गरेको हो। नेसनल लाइफ इन्स्योरेन्सले हबिबको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर खरिद गरेको छ।
हबिबको सेयर किन्न नेसनल लाइफले भदौ पहिलो साता सेयर खरिद-बिक्री सम्झौता (एसपीए) गरेकामा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कारोबारमा आएको हो। हिमालयन बैंकमा रहेको आफ्नो १२.९३ प्रतिशत सेयर स्वामित्व नेसनल लाइफलाई बेचेर हबिब बाहिरिएको छ। हबिबका प्रतिनिधले आइतबार नै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर बिदाबारी माग्ने तयारी छ।
हबिबको सेयर विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालले हिमालयन रि इन्स्योरेन्समार्फत खरिद गर्न चाहेकामा उनीहरुको चलाखीलाई माथ खुवाउँदै नेसनल लाइफ इन्स्योरेन्सले किन्ने प्रस्ताव गरेको थियो। त्यसपछि नेसनल लाइफका सञ्चालक तथा प्रवर्धकसँग दीपक-सुलभ रिसाएका थिए। हिमालयन बैंकका प्रवर्धक मनोजबहादुर श्रेष्ठ पनि यो डिलको विपक्षमा थिए।
यसविरुद्ध अदालत जाने श्रेष्ठ पक्षको योजना छ। श्रेष्ठले आफ्ना ज्वाइँ पर्ने एक जनालाई सञ्चालक समितिमा ल्याउन चाहेका छन्। यो चाहना पूरा नहुने भएपछि उनले मुद्दामा जाने जनाउ बाँकी सञ्चालक र हबिब-नेसनल लाइफका प्रतिनिधिलाई दिइसकेका छन्। यसअघिका दुई वटा डिल मनोजबहादुर पक्षले भाँडेका कारण हबिब र नेसनल लाइफका अधिकारी सशंकित भएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुने भनिएको मर्जर पनि मनोजसहित प्रचण्डबहादुर श्रेष्ठ समूहले भाँडेको थियो।
त्यसअघि हबिबको सेयर बेलायती संस्थाले किन्ने डिल पनि भाँडिएको थियो। त्यसैले अहिले अन्तिम कारोबार भइसक्दा पनि मुद्दा मामिला गरेर भाँडिने डर पाकिस्तानी र नेसनल लाइफ पक्षलाई भएको हो। तर दीपक-सुलभले भने भाँजो नहाल्ने जनाउ दिइसकेका छन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































