
अब मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग धाउन नपर्ने भएको छ । तर त्यसका लागि राष्ट्रिय परिचयत्र भने आवश्यक पर्छ । राष्ट्रिय परिचयपत्र भएकाले घरैबाट मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट फारम मात्रै भर्न मिल्ने व्यवस्था गरेको हो । राष्ट्रिय परिचयपत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएसँगै सहज भएको हो ।
राष्ट्रिय परिचयपत्र भएका व्यक्तिहरूले अब नाम, ठेगाना, जन्म मिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर समय लिएर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने भएको हो । त्यसोभए घरमै बसेर कसरी मतदाता नामावलीमा नाम दर्ता गराउने ? घरमै बसेर मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रियाबारे यहाँ जानकारी दिइएको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्न सुरुमा तपाईं निर्वाचन आयोगको अफिसियल वेबसाइट (election.gov.np) मा जानुहोस् । वेबसाइट खोल्नेबित्तिकै होमपेजमा पुगिन्छ ।
होमपेजमा ‘मतदाता नामावली प्रि–रजिष्ट्रेसन र अद्यावधिक’, ‘मतदाता नामावली’, ‘निर्वाचन परिणाम’ र ‘इ–बुलेटिन’ शीर्षकहरू राखिएका हुन्छन् । अब तपाईंले नाम दर्ता गर्नका लागि ‘मतदाता नामावली प्रि–रजिष्ट्रेसन र अद्यावधिक’ शीर्षकमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि निर्वाचन आयोगको ठूलो लोगोको दायाँपट्टि ‘नयाँ दर्ता’ र ‘नामावली अद्यावधिक’ दुई शीर्षक राखिएका हुन्छन्। त्यसमध्ये नाम दर्ता गराउनका लागि ‘नयाँ दर्ता’मा क्लिक गर्नुपर्छ।
‘नामावली अद्यावधिक’ लेखिएको शीर्षक भने नामावलीमा रहेका त्रुटि सच्चाउन र नामावली सार्नका लागि प्रयोग गरिन्छ ।
तर हामीलाई नाम दर्ता गर्नुपर्ने भएकाले हाल ‘नयाँ दर्ता’मा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि एकातर्फ राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेका व्यक्तिले मतदाता परिचयपत्रमा दर्ता गर्नका लागि एउटा सानो फारम राखिएको हुन्छ भने अर्को तर्फ राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता नभएकाहरूका लागि मोबाइल नम्बर राख्ने विकल्प राखिएको हुन्छ।
हामी जाऔं राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेका व्यक्तिले भर्ने मतदाता परिचयपत्रको फारमतर्फ। जहाँ एनआइडी नम्बर, जन्ममिति, नाम र एउटा प्रश्न सोधिन्छ । सो विवरण मिलाएपछि मतदाता परिचयपत्रका लागि आफ्नो विवरण राख्ने प्रक्रिया सुरु हुन्छ। त्यहाँ आफ्नो नाम, ठेगाना, जन्म मिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण हुन्छन्। ती विवरण भरेर सबमिट गर्नुपर्छ। यो प्रक्रिया राष्ट्रिय परिचयपत्र भएका नागरिकका लागि हो।
राष्ट्रिय परिचयपत्र नभएका नागरिकले यसअघि राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता नभएकाहरूका लागि दिइएको मोबाइल नम्बरको विकल्पमा गएर दर्ता गर्न सकिन्छ। राष्ट्रिय परिचयपत्र नभएकाहरूले मोबाइल नम्बर राखेपछि निर्वाचन आयोगले तपाईंको मोबाइल नम्बरमा चार अंकको ओटीपी कोड पठाउँछ ।
ओटीपी कोड राखेपछि त्यसपछि उक्त फारममा ‘हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैन’ भन्नेमा ठीक चिन्ह लगाएर ‘सुरु गर्नुहोस्’मा क्लिक गरी आफ्नो विवरण भर्नुपर्छ । त्यहाँ तपाईंले क्रमसँग आफ्नो स्थायी ठेगाना, व्यक्तिगत विवरण, नागरिकताको विवरण, अपाङ्गता भए/नभएको, सम्पर्क स्थानलगायत खुलाएर विवरण राखेर अन्त्यमा सबमिट गर्नुपर्छ ।
त्यसपछि तपाईंले भरेको विवरण तपाईंको मतदाता केन्द्रका लागि पुग्छ। यसरी राष्ट्रिय परिचयपत्र नभएकाहरूले भने अनलाइन फारम भरिसकेपछि प्राप्त हुने संकेत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर बायोमेट्रिक दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने हुन्छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































