जोडिनुहोस
बिहिबार, पुस २४, २०८२
बिहिबार, पुस २४, २०८२
  • होमपेज
  • पाथीभरा घोटालाविरुद्ध १४ जिल्लाका जेनजी जुरुक्कै

पाथीभरा घोटालाविरुद्ध १४ जिल्लाका जेनजी जुरुक्कै

प्रख्यात तीर्थस्थल पाथीभरामा केबुलकार निर्माण गर्न भएको घोटालाको सत्य तथ्य छानविन गर्न माग गर्दै कोशी प्रदेशका जेनजीहरु एकजुट भएका छन् । द काउन्सिल अफ जेनजीमा आवद्ध १४ जिल्लाका अभियन्ताहरु पाथीभरामा निर्माण गर्न लागिएको केबुलकार निर्माणको विपक्षमा उभिएका हुन् ।

उनीहरुले संयुक्त रुपमा लिखित वक्तव्य नै जारी गरेर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पवित्र तीर्थस्थल मुक्कुम्लुङ (पाथीभरा)मा भइरहेको केबुलकार निर्माणप्रति पूर्णरुपमा असहमत रहेको जाहेर गरेका छन् । मुक्कुम्लुङ अर्थात् पाथीभरालाई उनीहरुले आदिवासी समुदायसहित किराँत र हिन्दु सभ्यताका अनुयायीको सांस्कृतिक तथा ऐतिहासिक पहिचानको केन्द्र भएको र राज्यले स्वीकारेका अन्तर्राष्ट्रिय सन्धि तथा संविधानको मौलिक हक समेत छिन्न खोजिएको आरोप उनीहरुले लगाएका छन् । जेनजी अभियन्ताहरुले केबुलकार निर्माणको अनुमति, जग्गा प्राप्ति तथा खरिदविक्रि र वन, वातावरण, धर्म, सभ्यतामाथि गरिएको छेड्खानीको सत्यतथ्य छानविनको माग गरेका छन् । आफुहरुले माग गरे अनुसार तत्काल छानविनको प्रक्रियाअघि नबढाइए आफुहरुले थप कडा कदम चाल्ने चेतावनी जेनजी अभियन्ताहरुले दिएका छन् ।

आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्र-२००७ तथा अन्तर्राष्ट्रिय वित्तीय नियम (आईएफसी)को नीति र संविधानको मौलिक हकसहित सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनहरुको उल्लंघन गरेर केबुलकार निर्माण अघि बढाइएकाले यस सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्न माग उनीहरुले गरेका छन् ।

यो प्रकरणमा नेपालको सर्वोच्च अदालत तथा अन्तर्राष्ट्रिय निकायहरुमा उजुरी परेको समेत उनीहरुले विज्ञपप्तिमार्फत सम्झाएका छन् । पाथीभराको पुरातात्विक महत्व तथा प्राकृतिक स्रोत, जल, जंगल र जमिन नष्ट गरी व्यक्ति र निजी कम्पनीलाई लाभ पुग्ने गरी मुक्कुम्लुङ (पाथीभरा)माथिको अतिक्रमण सह्य नहुने चेतावनी दिँदै उनीहरुले कोशी प्रदेश अन्तर्गतका १४ जिल्लाबाट एकसाथ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । आठ सुत्रीय माग राख्दै उनीहरुले सबैभन्दा पहिले केबुलकार निर्माणको अनुमति दिने सरकारको निर्णय फिर्ता हुनुुपर्ने त्यसपछि यसमा संलग्नहरुमाथि छानविन हुनुपर्नेमा जोड दिएका छन् ।

स्थानीयको असहमति हुँदा हुँदै राज्य शक्ति र प्रहरी प्रशासनको दुरुपयोग गरेर बल प्रयोग गरी जबरजस्ती निर्माणको काम थालिएको तथा विरोध प्रदर्शनका क्रममा सशस्त्र र प्रहरीको बल प्रयोगले कयौं स्थानीय घाइते भएको स्मरण गराउँदै जेनजी अभियन्ताहरुले स्थानीय समुदायको सहमतिबिना गरिएको कुनै पनि विकास स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनीहरुले पाथीभरामा निर्माणाधीन केबुलकार योजना तत्काल रद्द गरी पवित्र तीर्थस्थलको संरक्षण गर्न नेपाल सरकारसँग माग गरेका छन् । उनीहरुलाई प्रदेशको नाम कोशी राखेको समेत मन परेको छैन भने आफ्नो लेटरहेड र विज्ञप्तिको भाषामा पनि प्रदेश नम्बर १ भनी उल्लेख गरेका छन् ।

यस्तै, केबुलकार निर्माण गर्ने कार्यविरुद्ध पहिचानवादी संघ संस्था तथा राजनीतिक दल आवद्ध संघ संगठनहरुले मंगलबारदेखि विरोधका कार्यक्रम सुरु गरिसकेका छन् । मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मंगलबार ताप्लेजुङका विभिन्न स्थानमा गाउँभेला तथा छलफल गरेको छ ।

समितिले माघ १२ गते कोशीका सबै जिल्लामा कोणसभा र माघ १४ गते राजमार्ग केन्द्रित विरोध कार्यक्रम गर्ने घोषणा गरेको संघर्ष समितिले माग १६ गते शहीद दिवसका दिन केबुलकार निर्माण भइरहेको फुङलिङमा जनप्रदर्शन गर्ने कार्यक्रम राखेको छ । माघ महिनाभरी नै निरन्तर आन्दोलनका कार्यक्रम गर्नेहरुमा १४ वटा पहिचानवादी संघ संगठनहरु, विभिन्न पार्टीआवद्ध ११ संगठनहरु छन् ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका