जोडिनुहोस
शुक्रबार, पुस २५, २०८२
शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • बाह्य लेखापरीक्षण र राष्ट्र बैंकले प्रोभिजन थप्दा हिमालयनको नाफा १३ करोड मात्र

बाह्य लेखापरीक्षण र राष्ट्र बैंकले प्रोभिजन थप्दा हिमालयनको नाफा १३ करोड मात्र

हिमालयन बैंकको सञ्चित नोक्सानी करिब ९ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको आन्तरिक लेखापरीक्षणपछि सार्वजनिक भएको वित्तीय विवरणमा बाह्य लेखापरीक्षण र राष्ट्र बैंकको स्वीकृतिपछि सार्वजनिक भएको वार्षिक प्रतिवेदनमा कम्पनीको नाफा र कर्जा नोक्सानी व्यवस्थामा ठूलो अन्तर देखिएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा बाह्य लेखापरीक्षण र नेपाल राष्ट्र बैंकबाट वार्षिक वित्तीय विवरण स्वीकृत गराउँदा हिमालयन बैंकको कर्जा नोक्सानी व्यवस्था २ अर्ब २२ करोड रुपैयाँ थपिएको छ । बैंकले साउनमा प्रकाशन गरेको वित्तीय विवरणमा १ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको थियो ।

तर, बाह्य लेखापरिक्षण र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभा प्रयोजनका लागि बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा भने बैंकको कर्जा नोक्सानी व्यवस्था ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्दा कर्जा नोक्सानी व्यवस्था बढाउन लगाएको छ । बैंकको नाफा आन्तरिक लेखापरिक्षकबाट स्वीकृत भएको वित्तीय विवरणको तुलनामा अन्तिम लेखापरीक्षण गरेको प्रोभिजनमा भारी गिरावट आएको छ । बैंकले गत साउनमा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ नाफा रहेको वित्तीय विवरण प्रकाशित गरेकोमा बाह्य लेखापरीक्षणपछि बैंकको नाफा १२ करोड ९७ लाख रुपैयाँ मात्रै रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्दा कर्जा नोक्सानी व्यवस्था २ अर्ब २२ करोड रुपैयाँ थप गरिदिएको हो । जसले गर्दा बैंकको नाफा मात्रै घटेन सञ्चित नोक्सानी पनि बढेर करिब ९ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकको सञ्चित नोक्सानी ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा थप बढेर ८ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा मात्रै बैंकले असुल हुन नसकेको कर्जाका लागि ३ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ ‘राइट अफ’ (अपलेखन) गरेको छ । जसले गर्दा बैंकको नाफा प्रभावित भयो भने सञ्चित नोक्सानी पनि बढेको छ । गत आर्थिक वर्षमा मात्रै नभएर पछिल्लो ३ आर्थिक वर्षमा नै बैंकको आन्तरिक लेखापरीक्षण र बाह्य लेखापरीक्षण पछिको वित्तीय विवरणमा भारी अन्तर देखिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा बैंकले आन्तरिक लेखापरीक्षकबाट स्वीकृत गरी प्रकाशित गरेको वित्तीय विवरणमा नाफा ३ अर्ब २६ करोड रुपैयाँ थियो । तर, बाह्य लेखापरीक्षण र नेपाल राष्ट्र बैंकले स्वीकृत गर्दा उक्त नाफा १ अर्ब ५६ करोड २८ लाख रुपैयाँ मात्रै देखियो । बैंकको नाफा १ अर्ब ७० करोड ३४ लाख रुपैयाँ अर्थात् ५२.१५ प्रतिशतले घटेको थियो । यसरी नाफा घट्नुको प्रमुख कारण थियो, निष्क्रिय कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगर्नु । अपरिस्कृत वित्तीय विवरणमा बैंकले २ अर्ब १५ करोड ६२ लाख मात्रै कर्जा नोक्सानी व्यवस्था गरेको थियो । तर, बाह्य लेखापरीक्षण र राष्ट्र बैंकबाट स्वीकृत हुँदा सम्म उक्त प्रोभिजन बढेर ४ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ पुगेको थियो । यसरी सो आर्थिक वर्ष हिमालयनले थप २ अर्ब ७१ करोड २७ लाख रुपैयाँ प्रोभिजन गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा पनि आन्तरिक र बाह्य लेखापरीक्षणमा बैंकको कर्जा नोक्सानी व्यवस्था र नाफामा भारी अन्तर देखिएको थियो । बैंकले आन्तरिक लेखापरीक्षकबाट स्वीकृत गराएर वित्तीय विवरण प्रकाशित गर्दा २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरी २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ नाफा देखिएको थियो ।

तर, बाह्य लेखापरीक्षण र राष्ट्र बैंकबाट स्वीकृत हुँदा बैंकको कर्जा नोक्सानी व्यवस्था २ अर्ब ४८ करोड रुपैयाँले बढेर ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ पुग्यो भने नाफा १ अर्ब ६ करोड ९९ लाख रुपैयाँले घटेर १ अर्ब २८ करोड ८३ लाख रुपैयाँ कायम भयो ।

यो तथ्यले बैंकले आन्तरिक लेखापरीक्षकबाट स्वीकृत गराएर प्रकशित गर्ने वित्तीय विवरणको विश्वसनियतामाथि नै प्रश्न उठाएको छ । आर्थिक वर्ष २०७९/८० मा बाह्य लेखापरिक्षणपछि बैंकको सञ्चित नोक्सानी ३ अर्ब २४ करोड २६ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८०/८१ मा आउँदा बैंकको सञ्चित नोक्सानी थप बढेर ७ अर्ब ४४ करोड १५ लाख पुग्यो । गत आर्थिक वर्षमा आउँदा उक्त सञ्चित नोक्सानी अझै बढेर ८ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?