
विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ. बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो. उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ. साथै, यसले जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ. हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई दिगो पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ.
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका आफ्ना २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरमार्फत ‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ. यसअन्तर्गत विपन्न तथा आवश्यकतामुखी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विद्यालय पूर्वाधार विकासमा सहयोग, सरसफाइ सामग्री वितरण, अनाथालय सहयोग तथा वित्तीय एवं डिजिटल साक्षरता अभिवृद्धिका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्. बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ.
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































