जोडिनुहोस
शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • भारतीयलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

भारतीयलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

भारतीय नागरिकलाई झुटा विवरणका आधारमा नेपाली नागरिकता बनाइदिएको गम्भीर आरोपमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गढवाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने जनप्रतिनिधिमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर रहेका छन्। वडाध्यक्ष अहिरले भारतीय नागरिक आलम जोल्हा आफ्नो वडाकै स्थायी बासिन्दा भएको भन्दै नागरिकता प्राप्तिका लागि नक्कली सिफारिस गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोही प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले वडा कार्यालयका कर्मचारी र नागरिकता लिने भारतीय नागरिकलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्ने अन्यमा नागरिकता लिने भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, राजपुर गाउँपालिका वडा नम्बर ४ का वडासचिव राजकुमार कहार र कार्यालय सहयोगी मिना चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार सरकारी छाप र ओहोदाको दुरुपयोग गरी गैरकानुनी रूपमा विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन गिरोह नै सक्रिय रहेको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।

पक्राउ परेका वडाध्यक्ष, कर्मचारी तथा भारतीय नागरिकसहित चारै जना विरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए।

साप्ताहिक रूपमा बाहिरिने यस्ता घटनाले स्थानीय तहमा हुने सिफारिस प्रणालीको विश्वसनीयता र सुरक्षा संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। सीमावर्ती क्षेत्रमा यस्ता थप गैरकानुनी कार्यहरू भएका छन् या छैनन् भन्नेबारे पनि प्रहरीले सुक्ष्म निगरानी बढाएको जनाएको छ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका