
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त अवार्ड कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको गुणस्तरीय प्रस्तुति, वित्तीय पारदर्शिता, लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा प्रदान गरिएको हो ।
काठमाडौंमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहोराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए । अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गौरवको विषय भएको बताए । उनले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तर सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।
कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजारस्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ए माइनस (A-)’ क्रेडिट रेटिङ प्राप्त गरेको जनाएको छ । देशभर १६० शाखा तथा उपशाखा र ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत कम्पनीले जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, संस्थागत सुशासन र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै ग्राहकको विश्वास अझ मजबुत बनाउने जनाएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































