आर्थिक विशेष
बैंकिङ क्षेत्रको सुरक्षा संकट: गभर्नरले गरे आईजीपी र बैंकर्स एसोसिएसनसँग छलफल

बैंकिङ क्षेत्रका कर्मचारीमाथि पछिल्ला केही महिनादेखि निरन्तर आक्रमण र हिंसात्मक घटनाहरू बढ्दो अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले सक्रिय बन्न थालेको छ । राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सुरक्षा सुनिश्चितको विषयमा छलफल गरेका हुन् ।
गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भइरहेको सुरक्षा चुनौतीलाई गम्भीर रुपमा लिएर छलफल सुरु गरेका हुन्। छलफलमा बैंकर्स एसोसिएसनका पदाधिकारीहरू पनि सहभागी भएका थिए। छलफलको मुख्य केन्द्रबिन्दु बैंकिङ क्षेत्रका कर्मचारीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था तयार गर्नु र बैंकिङ प्रणालीमा विश्वास कायम राख्नु रहेको सहभागी एक बैंकका सीईओले बताए ।
पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि निरन्तर आक्रमण भइरहेका छन्। विशेषगरी कर्जा उठाउन फिल्डमा जाने कर्मचारीमाथि ऋणीहरूले भौतिक हमला गर्ने, धम्की दिने र लुटपाटसमेत गर्ने घटनाहरू बढेका छन्। यसले बैंकिङ क्षेत्रका कर्मचारीहरूको मनोबलमा प्रतिकूल प्रभाव पारेको छ।
पछिल्लो एक महिनामा मात्रै विभिन्न बैंकहरूमा यी प्रकारका घटनाहरू भएका छन्। मंसिर २५ गते सप्तकोशीमा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि कालोमोसो लगाएर दुरव्यवहार गरिएको थियो। त्यसैगरी, पुष २२ गते घोराहीमा इन्भेष्टमेन्ट मेगा बैंकका ब्रान्च म्यानेजरसहित दुई कर्मचारीमाथि हमला भएको थियो। पुष २१ गते एनआईसी एशिया बैंकका कर्मचारीमाथि ऋणीले दुरव्यवहार गर्दै आत्मदहाको प्रयास गरेका थिए। यसैगरी, पुष २८ गते फरवार्ड माइक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट भएको थियो भने पुष २९ गते नेपाल एसबिआई बैंकमा पनि लुटपाटको घटना घटेको थियो।
यी घटनाले बैंकिङ क्षेत्रका कर्मचारीहरूलाई मानसिक रूपमा कमजोर बनाइरहेको हो । कर्मचारीहरूलाई सुरक्षित महसुस नहुनु र कर्जा उठाउने प्रक्रियामा डरको वातावरण सिर्जना हुनुले बैंकिङ सेवामा पनि असर परेको छ।
बैंकिङ क्षेत्रमा निरन्तर आक्रमण बढेसँगै राष्ट्र बैंकको अभिभावकीय भूमिका माथि नै प्रश्न उठ्न थालेको थियो । बैंकिङ क्षेत्रको नियामक र अभिभावकको रूपमा राष्ट्र बैंकले समयमै सुरक्षा सुनिश्चित गर्न नसकेकोमा आलोचना भइरहेको थियो। कर्मचारीहरू र बैंकर्स एसोसिएसनले पनि यस्तो अवस्था रोक्न राष्ट्र बैंकले ठोस कदम चाल्नुपर्ने आवाज उठाउँदै आएका थिए।
यी दबाबका कारण गभर्नर पौडेलले प्रहरीसँग छलफल सुरु गरेका हुन्। छलफलमा प्रमुख विषय बैंकिङ क्षेत्रका कर्मचारीलाई सुरक्षित तरिकाले काम गर्न सकिने वातावरण तयार गर्नु रहेको थियो। छलफलमा प्रहरी महानिरीक्षक कार्कीले पनि सुरक्षा सुनिश्चित गर्ने दिशामा आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। बैंकर्स एसोसिएसनका पदाधिकारीहरूले बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएमा वित्तीय प्रणालीमाथि नकारात्मक प्रभाव पर्ने चेतावनी दिएका छन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































