
नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी र निर्वाचन दुवैतिर अफ्ठ्यारो बाटो रोजेको बताए ।
उनले पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेको बताए । विशेष महाधिवेशनमा पार्टीको कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको उनको भनाई छ । उनकाअनुसार विशेष महाधिवेशनमा समर्थन नपाएको भए आज आफू निष्कासित सदस्यका रूपमा जनतामाझ उभिनुपर्ने अवस्था आउने थियो । आगामी निर्वाचनमा पनि काठमाडौंको क्षेत्र नम्बर ४ आफ्नो लागी सहज भएपनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताए ।
काठमाडौं वा सर्लाहीबाट उम्मेदवार बन्ने विषयमा चर्चा भइरहँदा अन्य दलहरूले काठमाडौंमा उम्मेदवार समेत नछानेको उल्लेख गर्दै उनले काठमाडौं आफ्नो लागि धेरै सहज निर्वाचन क्षेत्र भएको टिप्पणी गरे । काठमाडौं बाहिर जानुपर्छ भन्ने आफ्नो अठोटले यस पटक सर्लाही क्षेत्र नम्बर ४ रोजेको बताए । अघिल्लो पटक नै काठमाडौ बाहिर जाने रहर भएपनि त्यस्तो निर्णय गर्ने आँट नपुगेको स्वीकार गरे ।
यसपटक जोखिम लिन तयार भएको उनले बताए । आफ्नो पारिवारिक पृष्ठभुमि उल्लेख गर्दै सभापति थापाले आफूले पहाड र शहर दुवै बुझ्ने अवसर पाएपनि मधेस बुझ्ने अवसर नपाएको बताए । राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने उल्लेख गर्दै उनले मधेस बुझनको लागि आफू सर्लाही झरेको बताए । सर्लाहीबाट सम्पूर्ण मधेस बुझ्ने प्रयास गर्ने बताए ।
उनले भने, ‘मैले सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेको हुँ, पार्टीमा । म ५ वर्षको लागि निकालिएको हुँ, काँग्रसबाट अस्ती भर्खरै । त्यो विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनुभएको भए, आज म पार्टीबाट निष्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थेँ । म आफ्नो लडाईं लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ, बाँकी नियतिको हातमा छ, भन्ने कुराको विश्वास गर्ने मान्छे हुँ ।’ उनले काठमाडौं क्षेत्र नम्बर–४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको उल्लेख गरे । काठमाडौं क्षेत्र नम्बर ४ को सेवामा पनि आफू सधैँ समर्पित रहने उनले बताए ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































