जोडिनुहोस
शनिबार, माघ ११, २०८२
शनिबार, माघ ११, २०८२
  • होमपेज
  • हिमपातसँगै वर्षा : पूर्वी रुकुममा मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमपातसँगै वर्षा : पूर्वी रुकुममा मध्यपहाडी लोकमार्ग अवरुद्ध

हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वमा शनिबार सवारी आवागमन अवरुद्ध भएको छ। हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

लोकमार्ग अवरुद्ध छ। गाडी चल्न सकिरहेका छैनन्। काठमाडौंबाट छुटेका बसहरू बाटोमा फसेको खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट इन्स्पेक्टर हिमराज विकको नेतृत्वमा टोली खटाइएको रुकुम पूर्वका डीएसपी उमाशंकरप्रसाद यादवले बताए।

उनला अनुसार हिमपात भइरहेको छ। फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन। एस्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको छ।

रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ। हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ।

लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू भने खुसी छन्। आकाशेपानीको भरमा खेती गरिरहेका किसानलाई सुकिसकेको गहुँ बालीलाई हिउँ र वर्षाले सिँचाइ पुग्छ भन्ने लागेको छ। लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने-५ का विमल बीसीले बताए।

उता हुम्ला र जुम्लामा हिमपात भएको छ। गत भदौदेखि वर्षा नभएको हुम्लामा हिउँ पर्दा किसान खुसी छन्। हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा धैरै पानी परे पश्चात् हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट नाम्खालगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ।

हिमपातले जनजीवन कष्टकर भएको छ। नाम्खा र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ। जुम्लाको खलङगामा बिहानैदेखि हिमापात भइरहेको छ। दूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको हो।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौं लगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको उनले बताए।

दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ। यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी छन्।

चार महिनायता वर्षा नहुँदा गहुँ लगायतका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी छन्। हिमपातका कारण चिसो भने अत्यधिक बढेको छ। रासस

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?